• बुधबार, ३१ भाद्र २०८३
  • बाल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने लक्ष्यसहित ‘मिस एण्ड मि आइडल सिजन २’ सुरु

    बाल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने लक्ष्यसहित ‘मिस एण्ड मि आइडल सिजन २’ सुरु

    सबलनेपाल संवाददाता
    चैत्र २८ २०८१, बिहिबार

    काठमाडौं – बालबालिकाको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘मिस एण्ड मि। जुनियर एण्ड सिनियर आइडल सिजन २’ को भव्य सुरुवात भएको छ। स्पार्कल इन्टरटेन्मेन्टको आयोजनामा र सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा राजधानीको सिटी सेन्टर, कमलादीस्थित फूड कोर्टमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको विस्तृत जानकारी सार्वजनिक गरिएको हो।

    स्पार्कल इन्टरटेन्मेन्टले सन् २०१९ मा अवधारणा तयार गरी २०२० मा स्थापना पछि २०२१ मा ‘मिस तथा मिसेस युनिभर्सल’ सफलता साथ सम्पन्न गरिसकेको थियो। त्यसैको निरन्तरताका रूपमा यो वर्ष ‘मिस एण्ड मि। आइडल सिजन २’ आयोजना गरिएको हो।

    प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूले भाग लिन सक्नेछन्। सहभागीहरूलाई उमेरका आधारमा तीन समूहमा विभाजन गरिएको छ – समूह ए (५–८ वर्ष), समूह बि (९–१२ वर्ष), र समूह सि (१३–१५ वर्ष) समूह ए र बि का लागि शुल्क १० हजार तथा समूह सि का लागि शुल्क १५ हजार तोकिएको भए पनि चैत २९ गतेभित्र आवेदन दिनेहरूलाई विशेष छुट दिइनेछ।

    बैशाख ६ गतेदेखि प्रत्येक शनिबार त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा प्रशिक्षण सुरु हुने कार्यक्रमको फाइनल जेठ ३ गते हुने तय गरिएको छ। प्रतियोगितामा ट्यालेन्ट शो, ब्यूटी शो, तीनवटा फोटोषुट, १५–१९ सेकेन्डको भिडियो प्रस्तुति, र आयोजकद्वारा प्रदान गरिने टि–शर्ट समावेश हुनेछन्। अन्य पोशाक भने सहभागीले आफैं व्यवस्थापन गर्नुपर्नेछ।

    कार्यक्रमको कोरियोग्राफी रोहित शाक्यले गर्नेछन् भने निर्णायक मण्डलमा वरिष्ठ कलाकार र पत्रकारहरू रहनेछन्, जसले निष्पक्ष र गुणस्तरीय मूल्याङ्कन गर्ने अपेक्षा गरिएको छ।

    हालसम्म ४० जनामध्ये २० जना सहभागीहरू छनोट भइसकेका छन् भने बाँकीका लागि आवेदन खुला छ। कार्यक्रम विभिन्न साझेदार संस्थाको सहकार्यमा सम्पन्न हुँदैछ। को-स्पोन्सर काठमाडौं वर्ल्ड स्कूल, मेकअप पार्टनर मुरार्की एकेडेमी, डिस्प्ले पार्टनर गोथे इन्क, फेसन एजुकेसन पार्टनर सेन्टर फेसन एजुकेसन, भोटिङ पार्टनर खल्ती, वेलनेस केयर पार्टनर ब्लिस्फुल वेलनेस, र ज्वेलरी पार्टनर द क्रीसङ कलेक्सन रहेका छन्।

    आयोजक संस्थाले प्रतियोगितामार्फत बाल प्रतिभालाई राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने आशा व्यक्त गरेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij