• बुधबार, ३१ भाद्र २०८३
  • शान्ति, स्थायित्व र समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्णः

    शान्ति, स्थायित्व र समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्णः

    सबलनेपाल संवाददाता
    पुष १६ २०८२, बुधबार

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री चन्द्र प्रसाद ढकालले शान्ति, स्थायित्व र समृद्धिका लागि निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्। भदौ २३–२४ को जेनेरेसन जेड आन्दोलनका क्रममा निजी क्षेत्र प्रभावित भएको भन्दै उनले सरकारले यसको सुरक्षा र संरक्षण सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
    ढकालले भने, “निजी क्षेत्रले करिब ८१ प्रतिशत अर्थतन्त्र र ८६ प्रतिशत रोजगारीमा योगदान पुर्‍याउँछ। तर अझै पनि लगानी र व्यवसाय सञ्चालनको वातावरण पर्याप्त सुरक्षित छैन। अव्यवस्थित नीति र दण्डहीनताले व्यवसायीहरूको मनोबल घटाएको छ।”
    उनले निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन रणनीति तत्काल लागू गर्न, उद्यमी व्यवसायीको सुरक्षा र द्रुत सेवा सुनिश्चित गर्न सरकारसँग आग्रह गरे। भदौ आन्दोलनमा भएको आगजनी, तोडफोड तथा लुटपाटमा संलग्न व्यक्तिहरूको दण्ड सुनिश्चित गर्न पनि उनले प्रतिवद्धता मागेका छन्।
    ढकालले आगामी निर्वाचनलाई लोकतन्त्र स्थायित्व र विकासको अवसरका रूपमा लिनुपर्ने बताए। “राजनीतिक स्थायित्व, निर्वाध व्यवसाय र निजी सम्पत्तिको संरक्षणबिना मुलुकको समृद्धि असम्भव छ। यदि आज हामी असफल भयौँ भने यसको असर मात्र हामीमा होइन, भविष्यका पुस्तामा पनि पर्ला,” उनले भने।
    उनले युवाहरूलाई पनि स्वदेशमै उद्यमशीलता विकास गर्न प्रोत्साहित गर्दै नेपाल सरकार र निजी क्षेत्रसँग सहकार्यको अपील गरे। साथै, सञ्चारकर्मीलाई जिम्मेवार समाचार सम्प्रेषण गर्न र निजी क्षेत्रको लगानी तथा व्यवसाय प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरे।
    ढकालले नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) मार्फत स्वदेशी पुँजी लगानी गरी ठूला पूर्वाधार र स्टार्टअपमा रोजगारी सिर्जना गर्ने पहलको समेत जानकारी दिए।
    अध्यक्ष ढकालले निष्कर्षमा भने, “निजी क्षेत्र समृद्धिको सारथी हो। सम्पूर्ण सरोकारवालाले यसको सम्मान गर्दै लगानी र व्यवसायको वातावरण सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो।”

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij