• बिहिबार, १ असोज २०८३
  • ८ वर्षको पर्खाइ टुंगियो ‘माग्ने राजा’ पर्दामा, दर्शकको मन र आँसु दुवै जित्दै

    ८ वर्षको पर्खाइ टुंगियो ‘माग्ने राजा’ पर्दामा, दर्शकको मन र आँसु दुवै जित्दै

    सबलनेपाल संवाददाता
    भाद्र ६ २०८२, शुक्रबार

    काठमाडाैं – ८ वर्षपछि निर्देशक ऋषि लामिछानेले फेरि एउटा सपना पर्दामा उतारेका छन्। यी वर्षहरूमा उनले थुप्रै फिल्म र सिरियल बनाए, दर्शकको माया पाए, तर ‘माग्ने राजा’ भने उनका लागि पुनर्जन्मसरह भएको छ। पहिलो फिल्म बनाउँदा जस्तै आज पनि उनको मुटु धड्किरहेको छ, किनकि यो केवल एउटा मनोरञ्जनको काम होइन—जीवनको गहिरो कथा हो, जसमा हरेक संवादमा दर्शकको अनुहार भेटिन्छ, हरेक दृश्यमा उनीहरूको आशा र मायाको प्रतिविम्ब झल्किन्छ।

    लामिछानेले आफ्नो स्टाटसमा लेखेझैं, यो यात्रा सहज थिएन। आँसु खस्नुपर्ने क्षण पनि आयो, असफलताले पाइलो रोक्ने क्षण पनि आयो, तर विश्वास कहिल्यै मरेन। “कहिले न कहिले तपाईंहरूको मन छुने कथा फेरि जन्मिन्छ” भन्ने अटल भरोसा लिएर उनले ‘माग्ने राजा’ जन्माएका छन्। र आज त्यो कथा हलसम्म आइपुगेको छ।

    रिलिजअघि नै फिल्मले उत्साहजनक प्रतिक्रिया पाइसकेको छ। टिजर र ट्रेलरले लाखौं भ्युज बटुले, चर्चित गीत “म त सुतेर उठेको पैसामा” भाइरल भई २० लाखभन्दा बढीले हेरिसके। अनलाइनहरूमा आएका प्रतिक्रियाले पनि यही भन्छन्—‘माग्ने राजा’ केवल हाँसाउने फिल्म होइन, जीवन देखाउने र सोच्न बाध्य बनाउने फिल्म हो। युवापुस्ताबाट विशेष प्रतिक्रिया आएको छ—“यो हाम्रो पुस्ताले हलमा पुगेर हेरिहाल्नुपर्ने मुभी हो।”

    दर्शकले खुलेर भनेका छन्, “हास्दै–हास्दै आँसु झार्ने कथा हो यो, जसमा आम नेपालीको वास्तविक जीवन झल्किन्छ।” अरूले टिप्पणी गरेका छन्“केदार घिमिरेलाई यस्तो गहिरो भूमिकामा देख्दा गर्व लाग्छ, फिल्म हलमा पुगेर हेर्नैपर्छ।”

    अब निर्देशक लामिछानेको विनम्र आग्रह छ—“मैले मेरो काम गरेर देखाइसकेको छु, अब तपाईंहरूको पालो हो। हलमा पुगेर आफ्नो फिल्मझैँ अनुभव दिनुहोस्। तपाईंहरूको एउटा टिकट, एउटा प्रतिक्रिया नै मेरो लागि संसार बराबर हुनेछ।”

    ‘माग्ने राजा’ अहिले देशभरका हलहरूमा लागिसकेको छ। युवादेखि परिवारसम्म सबैका लागि हेर्नैपर्ने चलचित्रका रूपमा यसको चर्चा भइरहेको छ। जसरी ट्रेलरमा दर्शकले माया दिए, त्यसरी नै हलसम्म पुगेर साथ दिए यो फिल्म पर्दामा मात्र होइन, हरेक दर्शकको हृदयमा अमर बन्नेछ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij