• बिहिबार, १ असोज २०८३
  • ‘माग्ने राजा’ को कथा बोल्ने टाइटल गीत ‘सुतेर उठेको पैसामा’ सार्वजनिक

    ‘माग्ने राजा’ को कथा बोल्ने टाइटल गीत ‘सुतेर उठेको पैसामा’ सार्वजनिक

    सबलनेपाल संवाददाता
    साउन ५ २०८२, सोमबार

    काठमाडौं– भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘माग्ने राजा’ को टाइटल गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक गरिएको छ। सोमवार पुल्चोकस्थित लबिम मलको क्यूएफएक्स सिनेमा हलमा आयोजित एक समारोहमा गीत सार्वजनिक गरिएको हो।

    बाबुल गिरीको शब्द, संगीत र स्वरमा तयार भएको गीतमा बाल गायक रोनिश खड्का र समूह स्वरमा स्वर्णिमा काठायत तथा रिश्मिका खत्रीको आवाज पनि समावेश छ। गीतलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् भने भिडियो सम्पादन मित्र डी. गुरुङले गरेका छन्। छायांकन नरेन्द्र मैनालीको रहेको छ। गीतमा मुख्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’लाई एक फरक र भिन्न शैलीमा प्रस्तुत गरिएको छ। उनको साथमा अभिनेता विल्सन विक्रम राई र बाल कलाकार रोनिश खड्का पनि देखिएका छन्। गीतको कथा र भिडियोलाई फिल्मकै मूल विषयसँग जोडिएको देख्न सकिन्छ।

    समरोहमा बोल्दै निर्देशक ऋषि लामिछानेले भने, “गीतले झैँ फिल्मको कथा पनि पैसाकै वरिपरि घुमेको छ, तर यो विषयलाई हामीले हास्यरस शैलीमा प्रस्तुत गरेका छौं।” गीतका सर्जक बाबुल गिरीले फिल्मको कथावस्तुलाई मनन गर्दै रमाइलो शैलीमा गीत तयार पारिएको जानकारी दिए।

    मुख्य अभिनेता केदार घिमिरेले गीतमा आफूले गरेको प्रस्तुतिले दर्शकलाई हलसम्म तान्ने विश्वास व्यक्त गरे भने अभिनेत्री वर्षा सिवाकोटीले आफू गीतमा नरहे पनि यसको प्रतीक्षा लामो समयदेखि गर्दै आएको बताइन्। निर्माता मुनाल घिमिरेले चलचित्र भदौ ६ गते बाटो प्रदर्शनमा आउँदैछ भन्दै दर्शकलाई हलसम्म आइ फिल्म हेर्न आग्रह गरे।

    ‘माग्ने राजा’ फिल्मको कथा एक सामान्य मानिसको जीवनमा एक्कासि आएको ठूलो पैसाले ल्याउने परिवर्तन र त्यसले निम्त्याउने हास्यपरिस्थितिका वरिपरि घुम्छ। फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल, शारदा गिरी, राधिका कँडेल, मिस पबी लगायतका कलाकारको अभिनय रहेको छ। फिल्म आरम्भ प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो। निर्देशक ऋषि लामिछाने, निर्माता मधुसुदन शर्मा, प्रस्तुतकर्ता मुनाल घिमिरे, लेखक सामिप्यराज तिमिल्सिना, छायाँकार नरेन्द्र मैनाली, र सम्पादक मित्र डी. गुरुङ हुन्। चलचित्रको प्रचारप्रसार तथा वितरणको जिम्मा OSR Digital ले गरेको छ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij