काठमाडाैं । चलचित्र ‘माग्ने राजा’को पोस्टर सार्वजनिक समारोहमा जब म पुगें, त्यो परिवेश मैले कल्पना गरेको भन्दा निकै फरक थियो। म सामान्यतया आर्थिक विषयवस्तुमा कलम चलाउने पत्रकार हुँ। तर, केही चलचित्रकर्मी साथीहरूको आग्रह र निम्तोले गर्दा यसपटक मनोरञ्जनको फाँटमा सजीव रिपोर्टिङ गर्न पुगेको थिएँ। श्रीधर पौडेल र अनुप भट्टराईजस्ता कलाका पत्रकार साथीहरूले मलाई यो क्षेत्रमा पनि आर्थिक दृष्टिकोण मिसाएर कलम चलाउन प्रेरित गरेका थिए । त्यसैले मैले पोस्टर सार्वजनिक कार्यक्रमलाई मात्र नभएर, त्यहाँको माहोल, संवाद र भावनालाई पनि आत्मसात् गर्ने प्रयास गरेँ।

पोस्टर सार्वजनिक कार्यक्रम काठमाडौंको प्रज्ञा भवनस्थित डबलीमा आयोजना गरिएको थियो। यति भव्य र व्यवस्थित कार्यक्रम खुला मञ्चमा देख्ने यो मेरो पहिलो अनुभव थियो। म सोच्थेँ यस्ता चलचित्रका पोस्टर प्रायः कुनै पाँचतारे होटल वा शीतल हलभित्र जताततै प्रकाश, गाजागाजा र हल्ला हुँदै सार्वजनिक हुने गर्छन्। तर यो कार्यक्रमले त्यो सामान्य परम्परा तोड्दै दर्शकहरूसँगको नजिकको सम्बन्ध स्थापित गर्ने प्रयत्न गरेको थियो। ठूला फ्लेक्सहरू रातो मखमलको पर्दाले ढाकिएको थिए, जसले सस्पेन्स र उत्सुकता थपिरहेको थियो। खुला आकासमुनी कार्यक्रम सुरु हुन केही ढिला भयो, लगभग एक घण्टा, तर त्यो समय पनि रमाइलो कुराकानी, भेटघाट र माहोल बुझ्नमा बित्यो।

कार्यक्रम सुरु भयो र उद्घोषक विजय आवाजले केही धमाका हुँदैछ भनेर जब घोषणा गर्न थाले , तब सबैको ध्यान त्यही केन्द्रित भयो। जब निर्देशक ऋषि लामिछाने, निर्माता मुनाल घिमिरे, प्रमुख कलाकार केदार घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी र विल्सन विक्रम राईले उनीहरूले संयुक्त रूपमा रातो मखमलको पर्दा हटाउँदै पोस्टर सार्वजनिक गरे। त्यो दृश्य केवल एक पोस्टर नभई सन्देश थियो। सिंहासनजस्तो कुर्सीमा माग्ने बुढा अर्थात् केदार घिमिरेलाई फरक भेषमा देखाइएको थियो। उनको हातमा पैसा, गम्भीर अनुहार र गहिरो व्यङ्ग्ययुक्त अभिव्यक्ति थियो। यो दृश्य हाँस्यसहितको चोट थियो, जुन चलचित्रको मूल भावना झल्काउँथ्यो। माग्ने बुढा मात्र पात्र थिएनन्, त्यो हामी सबैको प्रतिनिधित्व थियो – हामीमध्ये धेरैको चाह, अवस्था र मनोदशा।
त्यसपछि सार्वजनिक गरिएका अन्य दुई पोस्टरले चलचित्रका विविध आयाम प्रकट गरे। एउटा पोस्टरमा माग्ने, वर्षा र विल्सनको त्रिकोणात्मक प्रस्तुतिले कथामा प्रेम, द्वन्द्व र हास्य मिसिएको आभास दियो भने अर्को पोस्टरमा वर्षाको हेर्ने शैलीले हल्का रहस्य र गम्भीरता मिसिएको संकेत दियो। सबै पोस्टर मिलेर चलचित्रको मूड बुझाउन सफल थिए – रमाइलो, सन्देशयुक्त र दर्शकलाई जोड्ने।

निर्देशक ऋषि लामिछाने ८ वर्षपछि निर्देशनमा फर्किंदै थिए। उनीभित्र त्यो ऊर्जा, उत्साह र प्रतिबद्धता देखिन्थ्यो जुन नयाँ डेब्यु निर्देशकभित्र पाइन्छ। उनले स्पष्ट रूपमा भने, माग्ने राजा आजको युवापुस्ताको प्रतिनिधित्व गर्ने पात्र हो, जो परिस्थितिले माग्न बाध्य छ तर उ आफूलाई राजा ठान्छ। समाजको त्यही दम्भ र द्विविधालाई चलचित्रले हाँस्यमा पस्कनेछ। निर्माता मुनाल घिमिरे, जो आफैं स्थानीय राजनीतिमा क्रियाशील व्यक्ति पनि हुन्, यस चलचित्रमा भावनात्मक रूपमा धेरै जोडिएको देखिन्थे। उनले यो चलचित्र आफैंका लागि पनि खास रहेको बताउँदै आफ्नो तेस्रो सहकार्यलाई पनि सुपरहिट बनाउने दृढता व्यक्त गरे। त्यति मात्र होइन यो फिल्म निर्देशक ऋषि लामिछाने र निर्माता मुनाल घिमिरेको तेस्रो सहकार्य हो। ‘श्रीमान–श्रीमती’ र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ जस्ता चलचित्रपछि यो तेस्रो पाइला हो। ऋषिले नै भन्दै थिए, “हामीले बनाएको यो कथा माग्ने पात्रको मात्र होइन, तिमी–हामीजस्तै भुइँमान्छेहरूको हो। जो माग्न बाध्य छन्, तर आत्मसम्मान कहाँ हराउँछ ररु तिनको जीवन पनि त दरबार हो – आफ्नै शर्तमा।”

कार्यक्रममा कलाकारको पारिश्रमिकको चर्चा पनि व्यापक भयो। माग्ने बुढाले अर्थात् केदार घिमिरेले ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको कुरा सार्वजनिक हुनासाथ धेरैलाई अचम्म लाग्यो। कार्यक्रमको एक पाटो निकै चर्चामा रह्यो—कलाकारको पारिश्रमिक। माग्ने बुढा अर्थात् केदार घिमिरेले यस चलचित्रमा लिएको ६१ लाख रुपैयाँ पारिश्रमिकलाई लिएर धेरैजसो पत्रकार साथीहरूको चासो थियो। धेरैको धारणा थियो—यो नेपाली फिल्म इन्डस्ट्रीकै सबैभन्दा महँगो पारिश्रमिक हो। तर जब उनको अभिनय, प्रभाव र दर्शकमाझको लोकप्रियता हेरिन्छ, तब त्यो पारिश्रमिक उनको मूल्यको तुलनामा अस्वाभाविक लाग्दैन। त्यस्तै वर्षा सिवाकोटीको पारिश्रमिकबारे पनि चर्चा उठ्यो। तर उनले सरल जवाफ दिइन् – ‘पारिश्रमिक खुलाउनैपर्छ भन्ने छैन, काम राम्रो गर्नुपर्छ, त्यो नै सबैभन्दा ठुलो मूल्य हो।’ उनका कुराले महिला कलाकारको पारिश्रमिकबारे भइरहेको मौन विभेदलाई पनि अप्रत्यक्ष रूपमा उजागर गर्यो।

लेखक सामिप्यराज तिमिल्सिनाले पनि आफ्नो मनको कुरा सुनाए — “माग्ने राजा केवल चलचित्र होइन, यो वरपर देख्ने समाजको झझल्को हो। भुइँ मान्छे कसरी बाँचिरहेका छन् भन्ने कुरा देखाउने कोशिस हो। सन्देश दिन खोजिएको होइन, तपाईँहरूलाई आफै बुझ्ने मौका दिन खोजिएको हो।” अनि उनी थप्छन्, “अब यसको न्याय तपाईँहरूको नै गर्नुहुनेछ — भदौ ६ गतेदेखि पर्दामा।”
अन्तिमतिर निर्देशकले बनाएका धेरै मुभीहरूमध्ये मुनाल घिमिरेसँग सहकार्य को आफ्नो तेस्रो फिल्म ‘माग्ने राजा’माथि अपार विश्वास रहेको बताए। ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान–श्रीमती’ जस्ता चलचित्रले बक्स अफिसमा सफलता पाएको उदाहरण दिँदै उनले माग्ने राजालाई पनि त्यो ह्याट्रिकको हिस्सा बनाउने दाबी गरे। उनले भनें – ‘हामीले मनदेखि मेहनत गरेका छौँ, दर्शकले मनदेखि साथ दिनुभयो भने यो चलचित्रले केही न केही नयाँ अनुभूति अवश्य दिनेछ।’।

म प्रज्ञा भवनको डबलीमा उपस्थित भएर केवल एक चलचित्र पोस्टर सार्वजनिक हेरेको थिएन। मैले देखेको थिएँ नेपाली फिल्म क्षेत्रभित्रको प्रतिबद्धता, परिश्रम, समाजप्रतिको दृष्टिकोण र कलालाई माध्यम बनाएर सन्देश दिन चाहने कलाकारहरूको सपना। हाँस्य चलचित्रको आवरणमा आएको माग्ने राजा, वास्तवमा एउटा दर्पण हो – जसले हाम्रो समाजलाई घोच्नेछ, हँसाउनेछ र अन्ततः सोच्न बाध्य पार्नेछ। कार्यक्रम सकिएपछि पनि म त्यही डबलीमा केही बेर रोकिएँ। चारैतिर हिँडेँ। दर्शकको आँखामा झल्किएको उत्साह, कलाकारहरूको हाँसो, सामुन्ने राखिएको पोस्टरहरू हेर्दै मनमनै भनिरहेँ — तिमी जुन चलचित्र हेर्न जाँदैछौ, त्यो केवल हाँसो र मजाक होइन, त्यो एउटा भुइँ यथार्थको सिंहासन हो। त्यो सिंहासनमा बस्ने पात्र माग्ने भए पनि, उसको आँखा त सधैं राजा झैँ देखिन्छ। फरक अपेक्षा लिएर म डबलीमा पुगेको थिएँ—र त्यो अनुभवले मलाई सधैंका लागि सोच्न बाध्य बनायो । ‘मनोरञ्जन’ भन्नासाथ हलुका ठान्ने दृष्टिकोण गलत रहेछ। यो पनि एक सशक्त क्षेत्र हो। समाजसँग, जीवनसँग जोडिएको। जहाँ कलाकारको श्रम, लगानीकर्ताको आँट, दर्शकको अपेक्षा र कथाको शक्ति एउटै ठाउँमा जोडिन्छ।

र त्यसैले अब मलाई लाग्छ—यो क्षेत्र पनि गम्भीर हो, यो पनि जीवन बदल्न सक्ने हो। आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा केदार घिमिरे (माग्ने बुढा) , वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ । यो सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ ।आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ । पोस्टर सार्वजनिक कार्यक्रमले देखायो कि नेपाली फिल्म उद्योगमा नयाँ प्रयोग र प्रस्तुति शैलीको खोजी भइरहेको छ। डबलीको भुइँबाट सुरु भएको ‘राजा’ को कथा अब पर्दामा कस्तो देखिन्छ, त्यो त भदौ ६ गते नै थाहा हुनेछ। तर यकिन के छ भने, माग्ने बुढा अब मागेर होइन, हास्यको ताज लगाएर ‘राजा’ बनेका छन्।

-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग