• बुधबार, ३१ भाद्र २०८३
  • बुझिन मैले बुझाइ देउ कसैले

    बुझिन मैले बुझाइ देउ कसैले

    सबलनेपाल संवाददाता
    भाद्र १७ २०८२, मंगलबार

    भुँइमान्छे

    चुनाव भइरहन्छन्, सबैतिर चुनाव भए चर्चा बाँडिन्छ तर उपचुनाव यस्तो रहेछ, चर्चा एकै ठाउँ चुलिन्छ। अहिले भइरहेको छ त्यस्तै अझ अहिले चर्चामा त राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही क्षेत्रनम्बर ३ मा हुन लागेको उपनिर्वाचनका लागि तय गरेको उम्मेदवार छनोट प्रकृया र उम्मेदवार छनोटले माहोल गर्माएको छ। रास्वपाले उक्त क्षेत्रमा डा. लेखजंग थापालाई उम्मेदवार छान्यो तर एकाएक उनको बहुबिवाहले चर्चा पायो। खासमा उनका दुई श्रीमती उनैसँग थिए। दुई श्रीमती राख्न नसक्ने कानून भएको देशमा उनको उछितो काड्न त्यही नै पर्याप्त भयो, अझ भनौं रास्वपा इतरका पार्टीले रास्वपाका उम्मेदवारलाई कमजोर बनाउने अस्त्र भेटे।

    उनले पार्टीमा आफूले एकजनासँग सम्बन्ध बिच्छेद गरेको र आवश्यक परे पार्टीमा पेश गर्ने भन्ने कुरा आयो सायद पार्टीले पनि प्रमाण पेश गर्न आदेश दिने भन्ने पनि आयो क्यार । अन्नत कानूनी रूपमा उनी बलियो देखिए, उनले पहिलो ! (एक) श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गरे।

    उनले कागज सार्वजनिक नै नगरे पनि कम्तिमा उनि जत्तिका व्यक्तिले डिभोर्स नगरेरै बसे होलान् भन्ने यो पंत्तिकारलाई लागेको थिएन। उनका पक्षधर अथवा रास्वपाका पक्षधरहरुको दलिल पनि त्यस्तै थियो, ‘अरे यार पहिलोसँग डिभोर्स गरेर अर्की ल्याउँदै कहाँ अपराध भयो?’ छन् त मर्दले ४ ओटी लयाउँछन् के ख्या….सक्छन् भने तैंले पनि ल्याएर देखा भन्ने पनि थिए, त्यो बचपना र उछृंखलता तिर त जानु नै बेकार छ।

    भुँइमान्छेको सानो दिमागमा यो घटनाक्रम पछि एउटा खसखस कायमै छ। साँच्ची डाक्टर साबले त्यो कागजको चिकर्टो पोष्टाएसी अब सबै कर्तुत फच्चे भो? यसले अब कुनै विवाद अथवा विवाद नभनौं चर्चा अथवा त्यो पनि नभनौं अर्थ/माने, सवाल केही पनि राख्दैन? यसमा मेरा थोरै विमति, शंका, मत, धारणा छन्। ऊर्जावान पार्टी हो, क्षमतावान (कम्तिमा डाक्टरी योग्यतामा) डाक्टर हुन्। २ करोड ९५ लाख नागरिकको उपचार निस्केको भनेका छन्। बहुबिवाहको चर्चा चली त हाल्यो, तर कानूनी रूपमा बलियो बनेर ‘देख् प्रमाण’ भन्नेले नैतिक रूपमा जिम्मेवार बन्नु पर्दो रहेछ कि नाईं?

    परिवारमा बेमेल हुन्छ, असहमति हुन्छ, विचार मिल्दैन, बिवाहका सम्बन्ध छुटिन्छन् तर कुराको कानूनको छिद्र टाल्नकै लागि गरेका हरेक कुराले पुग्दैन। यहाँ त एउटी श्रमती हुँदा हुँदै अर्की किन भित्र्याएको भन्ने कुरा आउला। बजारमा चर्चा त अर्कै छ तर मानौं उनले सुख सुविधा दिएरै राखे होलान्, मन मिलेरैसँगै बसे होलान् तर घरमा एउटी श्रमती हुँदा हुँदै परस्त्री (कानूनले छुट्याएपछि श्रीमती भन्न मिलेन)सँग खुलेयाम बसेको भन्न मिल्ला कि नमिल्ला (मनमा लागेको कुरा मात्र हजुर गल्ती भए माफ पाउँ)?, त्यसरी छोटपत्रको कागजको खोस्टो थप्दै जाने हो र चोकै पिच्छे रखेल (यो शब्द लेख्न मिल्छ कि नाई, माफ पाउँ) राख्दै जाने भए पनि पाल्ने हैसियत भएका बलवान यहाँ धेरै पो छन् त यसले विकृति निम्त्याउन्न भन्या?

    कुरा अर्को पनि छ। गाउँमा यस्ता धेरै हुन्छन्, नेपाली समाजमा यो नौलो कुरा होइन भनेर ठूला कुरा नगरुम्। यहाँ चलन, अभ्यास, दृष्टान्तको होइन, यहाँ त जान्नेहरू कस्तो हुनुपर्छ (जान्नेलाई छान्नेको चर्चा जो छ) भन्ने प्रसंगमा आएको हो। इतिहास र दृष्टान्त हेरेर धारणा बनाउने भए तिमी नयाँ भनेर फुर्ति लाउनु परेर टन्टै खलास्। अँ अर्को कुरा के भने अंगालोमा बेरिएका दुई मध्ये कुनै एक ‘भिक्टिम’ होइनन् भन्या? भलै उनी हप्तामा ५ दिन काठमाडौं, २ दिन भैरहवा पुगेर सनतुलन मिलाउन खोजेका छन्। यसबीचमा पीडित महिलाको मनमा पीडाको भारी नहोला? आफू हुँदा हुँदै अर्की ल्यायो, फेरि डिभोर्सको नाटक गर्यो अनि फेरि उतै लिप्त भयो।

    धेरै नभनौं तर देखाउनका लागि गरिएका नाटक, छोप्न÷ढाक्नका लागि गरिएका खेल साह्रै अपारदर्शी हुन्छन्। कसैको व्यक्तिगत जीवनको गहिराइसम्म पुग्नुपर्छ भन्ने पनि लाग्दैन। सबै विगत अहिलेका लागि निर्णायक हुन्छन् भन्ने त झनै लाग्दैन। किनकी ‘रत्नाकर डाँकु वाल्मिकी’ बनेको सुनेर हुर्केका नेपाली हौं तर बजारमा आफू दूधले धोएको अरु सबै खराब भन्ने झुण्ड छ, खरानी धेरै घसिएको छ। अरु सप्पै खराब होइनन्, अरु ठिक पनि छन्, राम्रा छन्, देशका लागि चाहिने मान्छे हुन, केही त्याग गरेका छन्, चोला खर्चिएका छन्, हुटहुटी बोकेका छन्, सपना बोकेका छन्, केही गरेका पनि हुन्, गर्दै पनि छन् र गर्ने पनि छन् भन्ने सन्तुलित बुझाइ भन्दा बाहिर गएर भ्रमको खेती गर्नेको जमात बढेपछि यस्ता प्रंसग आउँछन्, त्यस्ता बेलामा जान्ने भएर ‘पुरानाका देखेनस्?’ भन्ने होइन, नत्र जवाफ भेटौंला ‘पुराना जस्तो तिमी उस्तै भए के नाप्न फरक छु भनेको?’


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij