• आइतबार, ३० कार्तिक २०८३
  • प्रविधि र विकासको चिनियाँ मोडल बुझ्न रास्वपाका २० सांसद चीन उडे

    प्रविधि र विकासको चिनियाँ मोडल बुझ्न रास्वपाका २० सांसद चीन उडे

    सबलनेपाल संवाददाता
    कार्तिक ३० २०८३, आइतबार

    काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसद तथा नेताहरूको टोली आइतबार ११ दिने लामो भ्रमणका लागि चीन प्रस्थान गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को विशेष निमन्त्रणामा चीन उडेको यो उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व पार्टीका महामन्त्री विपिनकुमार आचार्यले गरेका छन्।

    रास्वपाको यो टोली परम्परागत राजनीतिक भेटघाटमा मात्र सीमित नभई चीनले पछिल्लो समय प्रविधि र नवप्रवर्तनमा मारेको फड्को अध्ययन गर्नमा बढी केन्द्रित हुने बताइएको छ। आफ्नो ११ दिने बसाइका क्रममा उनीहरूले बेइजिङ, हाङचोउ र सिचुवानलगायतका प्रमुख चिनियाँ सहरहरूको भ्रमण गर्नेछन्। विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ, डिजिटल प्रविधि र औद्योगिक विकासमा चिनियाँ मोडललाई कसरी नेपालको कृषि, स्वास्थ्य, शिक्षा र सार्वजनिक सेवामा लागू गर्न सकिन्छ भन्ने विषयमा गहिरो अध्ययन र अनुभव आदानप्रदान हुनेछ।
    महामन्त्री आचार्यको नेतृत्वमा रहेको यस टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी लगायतका सांसदहरू सहभागी छन्। चीनतर्फ प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेको थियो। उक्त भेटमा उनीहरूलाई यस भ्रमणलाई नितान्त राष्ट्रिय हित, विकास र दुई देशबीचको कूटनीतिक सम्बन्ध सुदृढीकरणमा केन्द्रित गर्न सुझाइएको थियो। यस भ्रमणले नेपाललाई आर्थिक तथा प्राविधिक क्षेत्रमा दीर्घकालीन लाभ पुर्‍याउनुका साथै भविष्यमा हुने उच्चस्तरीय सहकार्यको ढोका खोल्ने अपेक्षा गरिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij