• बिहिबार, २७ कार्तिक २०८३
  • एनपीएल: सन्दीप लामिछानेको सानदार ह्याट्रिकसहित ६ विकेट, पोखरा १३२ रनमै समेटियो

    एनपीएल: सन्दीप लामिछानेको सानदार ह्याट्रिकसहित ६ विकेट, पोखरा १३२ रनमै समेटियो

    सबलनेपाल संवाददाता
    कार्तिक २७ २०८३, बिहिबार
    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले जादुमयी बलिङ गर्दै ह्याट्रिकसहित ६ विकेट लिएपछि पोखरा एभेन्जर्स १३२ रनमै अलआउट भएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा सन्दीपको घातक बलिङसामु टिक्न नसक्दा १७.५ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै उक्त सामान्य योगफलमा समेटिएको हो।
    पोखराका लागि ओपनर युवराज सिंह सम्राले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ८४ रनको महत्त्वपूर्ण इनिङ्स खेले पनि अन्य ब्याटरले उनलाई साथ दिन सकेनन्। उनले ४७ बलको सामना गर्दै ७ चौका र ५ छक्का प्रहार गरेका थिए। टोलीका लागि धनन्जय लक्षणले २२ र सन्नी विकले १२ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। टोलीका भरपर्दा खेलाडीहरू कुशल भुर्तेल, रमेश मेन्डिस, कप्तान चमिका करुणारत्ने र किरण ठगुन्नाले त खाता समेत खोल्न सकेनन्। ७६ रनमा ५ विकेट गुमाएको धरमराउँदो अवस्थामा युवराज र धनन्जयले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए।
    पोखराको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा कप्तान सन्दीपले ४ ओभर बलिङ गर्दै मात्र २७ रन खर्चेर ६ विकेट लिए। उनले खेलको १५औं ओभरको तेस्रो, चौथो र पाँचौं बलमा लगातार विकेट लिँदै आफ्नो ह्याट्रिक पूरा गरेका हुन्। यस प्रतियोगिताका अघिल्ला ५ खेलमा मात्र १ विकेट लिएर आलोचित बनिरहेका सन्दीपले यस खेलमार्फत सानदार पुनरागमन गरेका छन्।
    यस सानदार प्रदर्शनसँगै उनी एनपीएलमा ह्याट्रिक गर्ने र एकै खेलमा ६ विकेट लिने तेस्रो खेलाडी समेत बनेका छन्। यसअघि शाहब आलम र रोहित पौडेलले ह्याट्रिक गरेका थिए भने शाहब र विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए। विराटनगरका तर्फबाट बलिङमा सन्दीपलाई साथ दिँदै एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले पनि एक-एक विकेट हात पारेका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij