• शुक्रबार, २ असोज २०८३
  • जापानमा पहिलो पटक ‘नेपाल म्युजिक फेस्ट २०२५’ आयोजना , यी शहरमा हुने छ धमाका

    जापानमा पहिलो पटक ‘नेपाल म्युजिक फेस्ट २०२५’ आयोजना , यी शहरमा हुने छ धमाका

    सबलनेपाल संवाददाता
    साउन ११ २०८२, आइतबार

    काठमाडाैं – जापानमा पहिलोपटक नेपाली संगीतको भव्य महोत्सव हुने भएको छ। ‘नेपाल म्युजिक फेस्ट २०२५’ नाम दिइएको यो संगीत महोत्सव आगामी अगस्त महिनामा जापानका चार ठूला शहरहरू टोकियो, ओसाका, फुकुओका र नागोयामा आयोजना हुने आयोजकले जानकारी दिएका छन्। ‘नेपाली संगीतलाई विश्वसँग जोड्ने’ मुख्य उद्देश्यसहित सुरु हुन लागेको यो फेस्टिभलले नेपाली संगीत, संस्कृति र समुदायलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

    फेस्टिभलमा नेपालको चर्चित र लोकप्रिय संगीत समूहहरू स्वर, द एज र कबवेबले विशेष प्रस्तुति दिनेछन्। परम्परागत नेपाली धुनलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने स्वरले आफ्ना चर्चित गीतहरू ‘अपरिभाषित’, ‘बादल सारी’, ‘म मरे पनि’ जस्ता गीतमार्फत दर्शकको मन जित्ने तयारी गरेको छ। भावनात्मक ऊर्जा र सामाजिक सन्देश समेटिएका गीतमार्फत युवा पुस्तासँग गहिरो सम्बन्ध बनाउँदै आएको द एज ब्यान्डले यो फेस्टिभललाई आफ्नो २५औँ वार्षिकोत्सवकै रूपमा विशेष बनाउँदैछ। नेपाली रक संगीतमा क्रान्ति ल्याएको कबवेब ब्यान्डको उपस्थिति पनि कार्यक्रमको विशेष आकर्षण मानिएको छ।

    फेस्टिभल अगस्त ३ मा टोकियोको बेल साले टाकाडानोबाबाबाट सुरु हुनेछ, जुन क्रमशः ओसाकाको नाम्बा ह्याच, फुकुओकाको जेप्प फुकुओका र नागोयाको डायमन्ड हल हुँदै अगाडि बढ्नेछ। प्रवासी नेपाली मात्र नभई जापानी संगीतप्रेमीहरूलाई समेत लक्षित गरी आयोजना गर्न लागिएको फेस्टिभलले नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने लक्ष्य राखेको छ।

    कार्यक्रमको टिकट मेरोटिकटमार्फत अनलाइन उपलब्ध हुनेछ। अर्ली बर्ड, स्ट्यान्डर्ड, फ्यान पिट र भिआइपी प्याकेजसहितका टिकटहरू डिजिटल रुपमा बिक्रीमा ल्याइनेछन्, जसमा ठगी रोक्न विशेष प्रविधि समेत प्रयोग गरिनेछ। तीनवटै भाषामा (नेपाली, जापानी र अङ्ग्रेजी) हुने प्रचार अभियान, कलाकारहरूको डिजिटल सन्देश, पोस्टर र ब्यानरमार्फत कार्यक्रमको व्यापक प्रचार गरिने योजना छ।

    फेस्टिभल इनडोर स्थानहरूमा आयोजना गरिने भएकाले व्यावसायिक ध्वनि प्रविधि, प्रकाश व्यवस्था, सुरक्षाकर्मी, द्विभाषिक कर्मचारी र आपतकालीन तयारीसहित सुरक्षित वातावरण सुनिश्चित गरिने आयोजकले बताएका छन्। ‘हामी हाम्रो संगीत, हाम्रो संस्कृति, हाम्रो नेपालमा गर्व गर्छौं’ भन्ने नाराका साथ ल्याइएको नेपाल म्युजिक फेस्ट २०२५ नेपाली संगीतप्रेमीहरूका लागि ऐतिहासिक अवसर हुने देखिन्छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij