सिमरा, बारा — नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को आयोजनामा सिमरा, बारामा सम्पन्न ‘ईक्यान लिडर्स मिट २.०’ ले संगठनको संस्थागत समन्वय, नीति निर्माण, नेतृत्व विकास र व्यावसायिक आचारसंहिताको विषयमा गहिरो बहस र प्रतिबद्धता प्रस्तुत गरेको छ। देशभरका आठ शाखाबाट आएका प्रतिनिधिहरूको सहभागितामा तीन दिनसम्म चलेको उक्त कार्यक्रममा केन्द्र र शाखाबीचको सहकार्य, नीति कार्यान्वयन, साइबर सुरक्षाबारे सचेतना, महिला सहभागिता र नेतृत्व चेतनाको विषयमा विभिन्न सत्रहरू सञ्चालन गरिएका थिए।
कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य मनिष झाले गरेका थिए। उनले शैक्षिक परामर्श सेवालाई व्यवसाय मात्र नभई विद्यार्थीको भविष्यसँग जोडिएको जिम्मेवारीको विषयमा बुझ्नुपर्ने बताउँदै भने, “शिक्षा परामर्शले सत्यता, पारदर्शिता र विद्यार्थी केन्द्रित सोचलाई मूल आधार बनाउनु अत्यावश्यक छ।”.
कार्यक्रमका प्रमुख वक्ता नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष राजेन्द्र बरालले संगठनको नीति, नेतृत्व र समन्वयलाई अझ स्पष्ट बनाउने दिशामा लिडर्स मिटले प्रभावकारी परिणाम दिएको बताए। “शाखा सशक्तिकरण, आन्तरिक पारदर्शिता र केन्द्र–शाखा सहकार्य हाम्रो दीर्घकालीन कार्यदिशा हो,” उनले भने।
कार्यक्रमको समापन समारोहमा केन्द्रीय अध्यक्ष शेषराज भट्टराई देशभरका शाखा अध्यक्षहरू, सल्लाहकार, पूर्व अध्यक्ष र केन्द्रको टिमबीच भएको विचार आदानप्रदानलाई संस्थाको भावी यात्राका लागि महत्वपूर्ण मोडका रूपमा व्याख्या गरे। उनले भने, “ईक्यानको प्रभाव र विश्वसनीयता शाखा नेतृत्वको निष्ठा र समर्पणमा आधारित छ।”
कार्यक्रममा साइबर सुरक्षासम्बन्धी विशेष सत्र जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लाम्सालले सञ्चालन गरेका थिए। उनले कार्यक्षेत्रमा सुरक्षाको उपाय, इमेल फ्रड, डिजिटल ठगी, महिला सुरक्षालगायतका विषयमा व्यावहारिक जानकारीसहित सचेत गराउँदै भने, “साइबर सुरक्षामा सानातिना कमजोरीले संस्था र विद्यार्थी दुवैका लागि गम्भीर खतरा निम्त्याउन सक्छ।”
कार्यक्रममा ईक्यान पूर्व अध्यक्ष प्रकाश पाण्डेले ‘ईक्यान आचारसंहिता, मर्यादा र दायरा’ विषयमा विचार प्रस्तुत गर्दै भने, “ईक्यान केवल संस्था होइन, विद्यार्थीको सुरक्षा कवच हो। झुटा प्रचार, अनावश्यक लोभ देखाउने प्रवृत्तिको अन्त्य आवश्यक छ।”
कार्यक्रममा पूर्व अध्यक्ष दीपक गुरुङ, विष्णुहरि पाण्डे, र अन्य नेताहरूले संस्थागत स्थायित्व, नेतृत्वको निरन्तरता, नीतिगत स्पष्टता र प्रणाली विकासमा जोड दिएका थिए। पूर्व अध्यक्ष गुरुङले भने, “ईक्यानमा नेतृत्व प्रणाली र संस्थागत सोचको निरन्तरता सुनिश्चित हुनुपर्छ।” विष्णुहरि पाण्डेले भने, “व्यवसायिक नेतृत्व सोच बिना परामर्श क्षेत्र केवल सेवा होइन, अपूरो जिम्मेवारी बन्न सक्छ।” 
कार्यक्रममा आठ वटा शाखाका अध्यक्षहरूले समन्वय र भविष्य रणनीतिमाथि केन्द्रित सत्रमा आ–आफ्ना भनाइ राखेका थिए। संयुक्त कोषाध्यक्ष विकल्पराज पोखरेलको संयोजनमा भएको छलफलमा चितवन, कास्की, ललितपुर, रूपन्देही, पूर्वाञ्चल, झापा, मकवानपुर र काभ्रेका शाखा अध्यक्षहरूले संस्थागत विश्वास, नीति कार्यान्वयन, तालमेल र स्थानीय चुनौतीबारे विचार आदानप्रदान गरेका थिए।
कार्यक्रमको अर्को आकर्षण ‘Raising Leadership Consciousness’ शीर्षकको व्यवसायिक कोचिङ सत्र थियो, जुन इन्द्र गुरुङले सञ्चालन गरेका थिए। गुरुङले आत्म–बोध, उद्देश्य केन्द्रित नेतृत्व र आन्तरिक परिवर्तनका उपायहरू प्रस्तुत गर्दै भने, “सचेत र करुणायुक्त नेतृत्वले मात्र संस्थागत रूपान्तरण सम्भव हुन्छ।”
कोषाध्यक्ष आशिक कार्कीले कर, लेखा प्रणाली र पारदर्शिता विषयमा प्रस्तुति दिए भने, महासचिव दीपकराज भुसालले शाखा–केन्द्र सहकार्य र नीति अनुशासनबारे धारणा राखे। तेस्री उपाध्यक्ष गीता शर्मा सिवाकोटीको संयोजनमा महिला नेतृत्वमाथि विशेष सत्र सञ्चालन भएको थियो। उनले भनिन्, “शक्तिशाली संस्था बनाउन महिलाको आत्मविश्वासयुक्त सहभागिता सुनिश्चित गरिनुपर्छ।” 
कार्यक्रममा उत्कृष्ट शाखा र नेतृत्वकर्ताहरूलाई सम्मान गरिएको थियो। तीन दिनसम्म चलेको लिडर्स मिट २.० ले नीति संवाद, संस्थागत तालमेल र नेतृत्व सशक्तिकरणमा ईक्यानको भावी यात्रालाई थप विश्वासिलो बनाएको सहभागीहरूको धारणा छ। 
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
