• बिहिबार, १ असोज २०८३
  • फिल्म हिट भए मात्र होइन, फ्लप भए पनि कलाकार जिम्मेवार हुनुपर्छ: निर्मल शर्माको उदाहरणीय आवाज”

    फिल्म हिट भए मात्र होइन, फ्लप भए पनि कलाकार जिम्मेवार हुनुपर्छ: निर्मल शर्माको उदाहरणीय आवाज”

    सबलनेपाल संवाददाता
    असार १३ २०८२, शुक्रबार

    काठमाडौं – कलाकार तथा निर्माता निर्मल शर्माले आफू संलग्न असफल फिल्महरूबाट पारिश्रमिक नलिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको यो घोषणाले नेपाली फिल्म उद्योगमा इमानदारी र उत्तरदायित्वप्रतिको सकारात्मक दृष्टिकोणलाई थप स्पष्ट बनाएको छ।

    उनले भनेका छन्, “जहाँ ६६ प्रतिशत फिल्महरू असफल छन्, त्यस्ता फिल्महरूबाट मैले पारिश्रमिक लिने छैन।” यो भनाइ केवल आलोचना होइन, आफैँबाट सुरु गरिएको आत्म–जवाफदेहिताको सांकेतिक सुरुवात हो। नेपाली सिनेमामा सफल फिल्ममा रमाउने परिपाटी त देखिन्छ, तर असफल फिल्ममा भने कोही बोल्न नचाहने प्रवृत्तिलाई निर्मल शर्माले उल्ट्याउने प्रयास गरेका छन्।

    उनी झन्डै तीन दशकदेखि नेपाली फिल्म उद्योगमा सक्रिय छन्। ‘गैंडा’ उपनामले चिनिने शर्माले हास्य भूमिकाबाट यात्रा सुरु गरे पनि पछिल्ला वर्षहरूमा निर्माता तथा निर्देशकका रूपमा महत्वपूर्ण काम गर्दै आएका छन्। ‘चक्का पञ्जा’ जस्ता व्यावसायिक रूपमा अत्यन्त सफल फिल्ममा उनी सह–निर्माता तथा सह–निर्देशक थिए। शर्माको यो निर्णयलाई फिल्मकर्मी र दर्शकहरूले सामाजिक सञ्जालमा खुलेर समर्थन गरेका छन्। धेरैले भनेका छन् — “यही हो, सुरुवात आफैँबाट गर्नुपर्ने कुरा।” जब कलाकार आफैंले जिम्मेवारी लिन्छन्, तब उद्योग सुधारको आशा जन्मन्छ। यस्ता सोचले अरू कलाकार र प्राविधिकलाई पनि आत्मसमीक्षा गर्न प्रेरणा दिनेछ।

    फिल्म निर्माण एक ठूलो लगानीको काम हो। करोडौं रुपैयाँ खर्चिएर बनाइने फिल्म एक हप्ता पनि नटिक्ने अवस्थामा निर्माता वर्षौंको पूँजी गुमाउने अवस्थामा पुग्छन्। तर जब फिल्म सफल हुँदैन, अधिकांश अवस्थामा कलाकार वा प्राविधिकहरूले आफ्नो पारिश्रमिकप्रति न त पुनर्विचार गर्छन्, न सहानुभूति प्रकट गर्छन्।

    निर्मल शर्माको सानो देखिने यो निर्णयले त्यही पीडालाई सम्बोधन गरेको छ। जब कलाकार असफलतामा पनि सहभागी हुन तयार हुन्छन्, निर्माता–निर्देशकलाई कम्तीमा मानसिक, नैतिक र आर्थिक रूपमा केही राहत मिल्छ। किनभने फिल्म चलोस् वा नचलोस्, लगानी भने गरिएको हुन्छ। यस्तो सहानुभूतिपूर्ण कदमले उद्योगमा समर्पण र साझेदारीको भाव बलियो बनाउँछ।
    उनले पैसाको पछि लागेर होइन, नतिजाप्रति जिम्मेवार भएर काम गर्नुपर्छ भन्ने संकेत दिएका छन्। सफलतामा मात्र हैन, असफलतामा पनि साथ दिनु नै साँचो सहकार्य हो भन्ने सन्देश दिन सफल भएका छन्।

    निर्मल शर्माको यो निर्णय नेपाली फिल्म उद्योगमा पारदर्शिता र उत्तरदायित्वतर्फको यात्राको एउटा सकारात्मक सुरुवात हो। सानो त्यागबाट सुरु भएको यो भावना दीर्घकालीन रूपमा उद्योग सुधारका लागि ठूला नतिजा ल्याउने सम्भावना बोकेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij