• आइतबार, १४ भाद्र २०८३
  • नेपालमा लैङ्गिक हिंसा प्रतिकार्य र स्वास्थ्य सेवा सुदृढ गर्न ६० लाख डलरको नयाँ परियोजना सुरु

    नेपालमा लैङ्गिक हिंसा प्रतिकार्य र स्वास्थ्य सेवा सुदृढ गर्न ६० लाख डलरको नयाँ परियोजना सुरु

    सबलनेपाल संवाददाता
    भाद्र ३ २०८३, बुधबार
    काठमाडौ । महिला, बालिका, किशोरकिशोरी तथा सीमान्तकृत समुदायको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्धन र लैङ्गिक हिंसा प्रतिकार्यलाई सुदृढ गर्न नेपालका तीन प्रदेशमा ६० लाख अमेरिकी डलर लागतको नयाँ संयुक्त कार्यक्रम सुरु भएको छ। नर्वेली राजदूतावास र स्विस सरकार विकास सहयोग (एसडीसी) को आर्थिक सहयोगमा संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए) र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आजबाट यो साझेदारी अघि बढाएका हुन्।
    दुई वर्षसम्म सञ्चालन हुने “एकीकृत यौन तथा प्रजनन स्वास्थ्य र अधिकार एवं लैङ्गिक हिंसा सेवाका लागि प्रणाली सुदृढीकरण” नामक यस कार्यक्रम कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका २० वटा पालिकामा कार्यान्वयन हुनेछ। यसले सङ्घ, प्रदेश र स्थानीय तहको क्षमता सुदृढ गर्दै नीतिलाई दैनिक व्यवहारमा रूपान्तरण गर्ने र सेवा प्रवाहमा नागरिकको पहुँच बढाउने लक्ष्य राखेको छ।
    कार्यक्रम घोषणाका क्रममा नर्वेको राजकीय दूतावासका डेपुटी हेड अफ मिसन बोर्ड हेल्डे र स्विट्जरल्यान्ड दूतावासका चार्ज द अफेयर्स ए.आई. म्याथियास मायरले लैङ्गिक समानता, प्रणाली सुदृढीकरण र गुणस्तरीय सेवाको निरन्तरतामा आ-आफ्नो सरकारको प्रतिबद्धता व्यक्त गरे। सरकारी स्वामित्व र संस्थागत क्षमताको विकास यस पहलको केन्द्रमा रहेको उनीहरूले बताए।
    यसैगरी, यूएनएफपीए नेपालका प्रतिनिधि श्रीराम हरिदासले प्रगतिशील नीतिगत प्रतिबद्धतालाई व्यवहारमा र नागरिकले साँच्चै पहुँच पाउन सक्ने गुणस्तरीय सेवामा रूपान्तरण गर्नु अहिलेको मुख्य चुनौती रहेको बताए। डब्ल्यूएचओकी कार्यवाहक प्रतिनिधि डा. एलिसन गोकोतानोले सरकारको नेतृत्वमा स्वास्थ्य प्रणाली सुदृढ गर्न, क्लिनिकल मापदण्ड परिष्कृत गर्न र एकीकृत सेवा प्रवाह गर्न यो साझेदारी महत्त्वपूर्ण हुने स्पष्ट पारिन्।
    यो नयाँ पहल नेपालमा विगत एक दशकदेखि सञ्चालित लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना (पहिलो र दोस्रो चरण) तथा रिहा परियोजनाको सिकाइ र उपलब्धिमा आधारित छ। यसले कानुन र कार्यान्वयनबीचको खाडल पुर्दै स्वास्थ्य सेवालाई थप एकीकृत, दिगो र राष्ट्रिय स्वामित्वको प्रणालीतर्फ सङ्क्रमण गर्न नेपाल सरकारलाई सघाउनेछ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij