• आइतबार, १४ भाद्र २०८३
  • शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज, नयाँ नियमावली कार्यान्वयनमा

    शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज, नयाँ नियमावली कार्यान्वयनमा

    सबलनेपाल संवाददाता
    साउन १९ २०८३, मंगलबार

    काठमाडौं । नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयले ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३’ खारेज गरेको छ। नयाँ नियमावली कार्यान्वयनमा आइसकेको अवस्थामा कार्यसम्पादनमा कुनै पनि किसिमको द्विविधा उत्पन्न नहोस् भन्ने उद्देश्यले मन्त्रालयले पुरानो निर्देशिका खारेज गरेको हो।

    मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले २०८३ साउन १९ गते एक सूचना जारी गर्दै उक्त निर्देशिका खारेज भएको औपचारिक जानकारी गराएको छ।

    सरकारले भर्खरै ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ स्वीकृत गरी गत असार २५ गते (२०८३/०३/२५) को नेपाल राजपत्रमा प्रकाशन गरिसकेको छ। सोही नयाँ नियमावली लागू भइसकेको परिप्रेक्ष्यमा पुरानो निर्देशिकाको औचित्य समाप्त भएको मन्त्रालयले प्रस्ट पारेको छ।

    २०८३ साउन १८ गतेको माननीय मन्त्रीस्तरीय निर्णयबाट उक्त पुरानो निर्देशिका खारेज गरिएको व्यहोरा मन्त्रालयका उपसचिव सेमन्तराज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

    यससँगै अब देशभर सञ्चालित शैक्षिक परामर्श दातृ संस्था (कन्सल्टेन्सी), भाषा शिक्षण केन्द्र र तयारी कक्षाहरूको दर्ता, नवीकरण, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्यहरू नयाँ नियमावली (२०८३) बमोजिम नै नियमन हुनेछन्।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij