काठमाडौँ। संसारकै सबैभन्दा बस्न योग्य, सुन्दर र आधुनिक सहरहरूको सूचीमा सधैँ अगाडि आउँछ अस्ट्रेलियाको सिड्नी। जहाँ चौबीसै घण्टा अवसरको घाम लागिरहन्छ, गज्जबको कमाइ हुन्छ र भविष्य सुरक्षित हुन्छ। आजका लाखौँ नेपाली युवा त्यही देशको स्थायी बासिन्दा अर्थात् पीआर बन्ने सपना बुन्छन् र देश छोड्न लालायित देखिन्छन्। तर, त्यही सिड्नीको लोभलाग्दो सुख सुविधा, विलासी जीवन र डलरको बिटोलाई चटक्कै छोडेर कोही नेपाली युवा आफ्नो परिवार र सानो बच्चा च्यापेर नेपाल फर्किन्छ अनि आफ्नै माटोमा आएर शून्यबाट काम सुरु गर्छ भने हाम्रो समाजले अचम्म मान्दै सोध्छ “यति राम्रो देश छोडेर किन फर्किएको? मति त सटिएन?” यो कुनै काल्पनिक पात्रको कथा होइन, सन् २०१५ मा अस्ट्रेलियाको प्रतिष्ठित होम्स इन्स्टिच्युटको सिड्नी क्याम्पस पुगेका सुजन कार्कीको वास्तविक भुइँ-यथार्थ हो। त्यहाँबाट प्रोफेसनल अकाउन्टिङ र बिजनेस एडमिनिस्ट्रेशनमा मास्टर्स डिग्री (MBA) भ्याएर २०१७ मा पढाइ सकेपछि उनले केही वर्ष पोस्ट स्टडी भिसामा राम्रो काम र दाम पनि कमाए। तर, सिड्नीको त्यो चमकधमकले भन्दा उनलाई आफ्नै देशको माटोको सुगन्धले तान्यो र सन् २०२० को लकडाउन ठीक अगाडि उनी स्वदेश फर्किए। आज उनी चितवनको भ्याली स्टेट कलेजमा एमबीए प्रोग्राम डाइरेक्टर छन् र शून्यबाट सुरु गरेर अहिले झन्डै सय जना नेपाली विद्यार्थीलाई नेपालमै कर्पोरेट लिडर र उद्यमी बन्ने सपना बाँडिरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिनहुँ देश छोड्ने युवाहरूको लामो ताँती, परिवारको रोदन र निराशा मात्र देख्ने हाम्रो समाजका लागि सुजन कार्की जस्ता युवाहरूको यो ‘यू-टर्न’ एउटा मौन तर शक्तिशाली क्रान्ति हो।
यो कथा सुजनको मात्र होइन, विदेशमा उच्च शिक्षा, आधुनिक सीप र पुँजी कमाएर स्वदेश फर्कने र यहीँको माटो कोट्याउने हजारौँ नेपाली युवाहरूको साझा यथार्थ हो। यस सन्दर्भमा हामीले बुझ्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, उच्च शिक्षा लिन वा नयाँ अवसर खोज्न विदेश जानु आफैँमा कत्ति पनि गलत होइन। विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता बनाउन बाहिर जानैपर्छ, तर त्यहाँ सिकेको ज्ञान लिएर स्वदेश फर्किने हो भने नेपालमा पनि ठुला अवसरहरू छन्। आज हाम्रै देशको नेतृत्व सम्हालिरहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिना यसका सबैभन्दा ठुला र जीवन्त उदाहरण हुन्। उहाँहरूले विश्वकै उत्कृष्ट विश्वविद्यालयहरूबाट उच्च शिक्षा र अनुभव हासिल गर्नुभयो। अस्ट्रेलिया, अमेरिका र युरोपका ठुला संस्थाहरूमा उहाँहरूका लागि विलासी जीवन र ठुलो ओहोदाको ढोका सधैँ खुला थियो। तर, उहाँहरूले त्यो विदेशी सुखलाई त्यागेर देशका लागि केही गर्छु भन्दै नेपाल फर्कने ‘यू-टर्न’ लिनुभयो। आज उहाँहरू देशको नीति निर्माण र अर्थतन्त्रको साँचो सम्हाल्ने ठाउँमा पुग्नुभएको छ। सुजन कार्कीजस्ता प्राज्ञिक व्यक्तित्व हुन् वा अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री तिमिल्सिनाजस्ता राजनैतिक नेतृत्व, उहाँहरू सबैको एउटै सन्देश छ”विदेश जानु अपराध होइन, तर त्यहाँ सिकेर देश फर्कने हो भने यहाँ आफ्नो परिचय र देश बदलिन सक्ने सुनौलो अवसर पाइन्छ।”
तर, विडम्बना के छ भने, देश छोडेर जानेहरूको तथ्याङ्क राख्न तँछाडमछाड गर्ने हाम्रो राज्य संयन्त्रसँग देश निर्माणका लागि फर्किएकाहरूको भने कुनै एकीकृत डिजिटल लगत छैन। शिक्षा मन्त्रालयको एनओसी (NOC) शाखा वा राष्ट्र बैंकसँग कति अर्ब रुपैयाँ ट्युसन फी बापत बाहिरियो भन्ने हिसाब त दुरुस्त छ, तर बाहिरबाट कति सीप र प्रविधि देश भित्रियो भन्ने ‘रिटर्न डाटा’ राख्न राज्य सधैँ असफल छ। सरकारी लगत नभए पनि विभिन्न संस्थागत अनुसन्धान र प्रवृत्तिहरूले फर्कनेहरूको उत्साहजनक चित्र देखाउँछन्। सन् १९९८ मा स्थापना भएको अस्ट्रेलियन नेसनल एलुम्नाई एशोसिएशन (ANAA) नेपालमा मात्रै हालसम्म अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा सकेर फर्केका ५,००० भन्दा बढी प्राविधिक, चिकित्सक, बैंकर र व्यवस्थापकहरू आबद्ध भइसकेका छन्। त्यस्तै, परराष्ट्र मन्त्रालयले पनि ‘ब्रेन गेन सेन्टर’ (BGC) मार्फत विदेशबाट फर्केका नेपाली विज्ञहरूको सीपलाई देशको हितमा प्रयोग गर्ने प्रयास सुरु गरेको छ। विभिन्न स्वतन्त्र प्रतिवेदनका अनुसार विदेशिने नेपालीमध्ये करिब १० देखि १६ प्रतिशत युवाहरू कुनै न कुनै चरणमा उच्च शिक्षा वा अनुभव लिएर स्वदेश फर्कने गरेको अनुमान छ। सुजन कार्की वा मन्त्रीद्वय त प्रतिनिधि पात्र मात्र हुन्, उनीहरूजस्तै हजारौँ युवाहरू आज नेपालका गाउँसहरमा मौन रूपमा उद्यमशीलता र प्रविधिको क्रान्ति गरिरहेका छन्।
नेपाली युवाहरूले विदेशमा कुन स्तरको सफलता हासिल गरिरहेका छन् र उनीहरूले कस्तो संस्थाबाट आफ्नो शैक्षिक जग बलियो बनाउँदै छन् भन्ने कुरा बुझ्न अस्ट्रेलियाको प्रतिष्ठित होम्स इन्स्टिच्युटको इतिहास हेरे पुग्छ। सन् १९६३ मा अस्ट्रेलियाको मेलबर्नबाट सुरु भएको होम्स इन्स्टिच्युटले आज ६० वर्षभन्दा लामो गौरवशाली प्राज्ञिक यात्रा पूरा गरिसकेको छ। अस्ट्रेलियाकै सबैभन्दा पुरानो र ठुलो निजी उच्च शिक्षण संस्थाका रूपमा स्थापित यो इन्स्टिच्युट आज एउटा विश्वव्यापी ब्राण्ड बनिसकेको छ। यसले अस्ट्रेलियाका मुख्य सहरहरू सिड्नी, मेलबर्न, ब्रिसबेन, एडिलेड र गोल्ड कोस्टमा मात्र होइन, युरोपको आयरल्यान्ड, बेलायत र अमेरिकामा समेत आफ्नो शैक्षिक सञ्जाल फैलाइसकेको छ। आयरल्यान्डको डब्लिनमा बिजनेस र आईटीका आधुनिक कोर्सहरूदेखि अस्ट्रेलियामा हवाई उड्डयन अर्थात् एभिएसन जस्ता विशिष्ट विषय सञ्चालन गरिरहेको यस समूहले भर्खरै अमेरिकाको फ्लोरिडाबाट पूर्ण विश्वविद्यालय (University) को रूपमा मान्यता पाएर अर्को ऐतिहासिक फड्को मारेको छ। विश्वभर ८५ हजारभन्दा बढी दक्ष स्नातकहरू उत्पादन गरिसकेको यो विशाल शैक्षिक साम्राज्यको सर्वोच्च पद अर्थात् ‘ग्लोबल डिरेक्टर’ को ओहोदामा नेपाली नागरिक इन्द्र अधिकारी हुनु र उहाँले यो विश्वव्यापी सञ्जाल हाँक्नु आफैँमा हरेक नेपालीका लागि गर्वको विषय हो। नेपालकै सन्दर्भमा पनि होम्स इन्स्टिच्युटबाट झन्डै १० हजार नेपाली युवाहरूले उच्च शिक्षा हासिल गरिसकेका छन् र तीमध्ये धेरैजना आज नेपाल फर्किएर बैंकका सीईओ, अस्पतालका डाइरेक्टर र सफल उद्यमी बनेका छन्। हालै राजधानीको होटल अलोफ्टमा आयोजित “होम्स इन्स्टिच्युट नेपाल एलुम्नाई मिट” ले तिनै विदेशबाट फर्किएका दक्ष नेपालीहरूको एउटा बलियो सञ्जाललाई बाहिर ल्याइदिएको छ।
अहिलेको नयाँ पुस्ताको सपना भने अस्ट्रेलियाको मेलबर्नमा कफी खानु वा ओपेरा हाउस अगाडि वाइनको ग्लास समातेर सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्नुमै सीमित हुँदै गएको देखिन्छ। तर, अन्तर्राष्ट्रिय शिक्षा केवल जागिर खान वा बाहिरै पलायन हुनका लागि होइन, यसले राष्ट्र निर्माणको क्षमता विकास गर्नुपर्छ भन्ने उदाहरण हाम्रो इतिहासमा स्पष्ट छ। नेपालमा पहिलो पटक खुला मुटुको शल्यक्रिया गर्ने डा. दामोदर प्रसाद पोखरेल, नेपालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने डा. दिव्या सिंह शाह, र काठमाडौँ विश्वविद्यालयमा पहिलो पटक प्राज्ञिक रूपमा बिबिए कार्यक्रम भित्र्याउने विष्णुराज अधिकारीहरू सबै अस्ट्रेलियाकै उत्कृष्ट शैक्षिक उत्पादन हुन्। विश्वविख्यात आँखा डाक्टर सन्दुक रुइतको प्रविधिलाई विश्व बजारमा स्थापित गर्न अस्ट्रेलियन मेन्टरसिप कति कसिलो थियो भन्ने कुरा हामी सबैलाई थाहा छ। यसको अर्थ, बाहिरको शिक्षा केवल डलर कमाउनका लागि मात्र होइन, देश निर्माण गर्ने भिजन ल्याउनका लागि हो।
यसै सन्दर्भलाई जोड्दै अस्ट्रेलियन नेसनल एलुम्नाई एशोसिएशन (ANAA) का अध्यक्ष अनन्त पौडेलले कार्यक्रममा एउटा निकै घतलाग्दो र विचारणीय प्रसङ्ग उठाउनुभएको थियो। पौडेलका अनुसार, अस्ट्रेलिया पढ्न जाने विद्यार्थीका अभिभावकहरूले आफ्नो जीवनभरको कमाइ र घरखेत बेचेर छोराछोरीलाई पठाएका हुन्छन्। उनीहरूको एउटै चाहना हुन्छ । छोराछोरीले राम्रो पढून् र भोलि देश फर्केर आर्थिक तथा सामाजिक रूपमा सम्मानित जीवन बाँचून्। पौडेलले जोड दिँदै भन्नुभयो कि अब शैक्षिक परामर्शदाताहरू केवल भिसा लगाइदिने र कलेज भर्ना गराइदिने व्यापारमा मात्र सीमित हुनु हुँदैन। उनीहरूले विद्यार्थीलाई भोलि नेपालमै फर्किएर हिमालयन जाभा, इशान हस्पिटल वा ठुला बैंकका सीईओ तथा देशको मन्त्री र योजनाकार बन्न सक्ने गरी ‘ड्रिम काуन्सिलिङ’ अर्थात् सपना देखाउने परामर्श दिनुपर्छ। बाहिरको शिक्षा केवल अस्ट्रेलियामा कफी बनाउनका लागि होइन, नेपाल फर्केर देश हाँक्ने क्षमता विकास गर्नका लागि हो भन्ने पौडेलको यो धारणाले कार्यक्रममा उपस्थित सबैलाई गम्भीर बनाएको थियो।
यसै सन्दर्भमा, नेपाल शैक्षिक परामर्श महासङ्घ का अध्यक्ष राजेन्द्र बरालसँग छुट्टै कुराकानी गर्दा उहाँले पनि एउटा निकै महत्वपूर्ण र सकारात्मक पाटो औँल्याउनुभयो। उहाँका अनुसार हामीले जहिले पनि युवा पलायनको नकारात्मक प्रचार मात्र गर्यौँ, तर विदेशमा पढेर फर्किएका नेपाली युवाहरूले नेपालमा कति ठुलो काम गरिरहेका छन् भन्ने पाटोलाई सधैँ ओझेलमा पार्यौँ। बराल भन्नुहुन्छ, “नेपालमा हामीले बाहिर पढेर आए पनि धेरै ठुलो र राम्रो काम गर्न सक्छौँ भन्ने कुरा अस्ट्रेलियाबाट फर्किएका सुजन कार्कीजस्ता सयौँ विद्यार्थीले भुइँतहमा प्रमाणित गरिसकेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय ज्ञान र आधुनिक कार्यशैली यहाँ भित्र्याएर नेपालको बैंकिङ, कर्पोरेट, होटल, पर्यटन र शैक्षिक क्षेत्रलाई आधुनिक बनाउँदै लगेका छन्। राज्यले यी प्रतिभाहरूलाई शङ्का गर्ने होइन, यिनीहरूको सीप र अनुभवलाई देश विकासमा कसरी उपयोग गर्ने भन्नेबारे नीति ल्याउनुपर्छ।”
विदेशको विलासी जीवन छोडेर स्वदेशमै केही गर्न सकिन्छ र देशका लागि योगदान दिन सकिन्छ भन्ने कुराको अर्को उदाहरण शैक्षिक परामर्श सङ्घ (इक्यान) का निवर्तमान अध्यक्ष शेषराज भट्टराई स्वयम् पनि हुनुहुन्छ। विदेशको सुखसयल र उज्ज्वल भविष्यका सारा अवसरहरूलाई त्यागेर नेपाल फर्किएका भट्टराईले यहाँको शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित, व्यावसायिक र पारदर्शी बनाउन इक्यान जस्तो संस्था मार्फत विशेष योगदान दिनुभएको छ। भट्टराईसँगको विशेष संवादमा उहाँले आफ्नो अनुभव साट्दै भन्नुभयो, “मैले विदेशको विलासी जीवन नदेखेको होइन, तर आफ्नो माटोमा काम गर्दा र आफ्नै देशका युवाहरूको भविष्य निर्माणमा सघाउँदा मिल्ने आत्मसन्तुष्टि बाहिर कतै पाइँदैन। बाहिर पढेर आएका युवाहरूमा एउटा विशेष भिजन, इमानदारिता र अनुशासन हुन्छ। हामीले स्वदेशमै केही गर्न सक्छौँ भन्ने आत्मविश्वास बोकेर फर्किने हो भने यहाँ अवसरहरूको कमी छैन। परामर्शदाताहरूले पनि अब विद्यार्थीलाई केवल भिसा लगाइदिने व्यापारिक सोचभन्दा माथि उठेर, अनन्त पौडेलजीले भन्नुभए जस्तै उनीहरूलाई भोलिको नेपालको नेतृत्व गर्ने गरी ड्रिम काउन्सिलिङ दिन आवश्यक छ, ता कि उनीहरू पढेर देश फर्कन प्रेरित होऊन्।”
यो कथाको सबैभन्दा तीतो र पेचिलो पाटो भने यहाँनेर सुरु हुन्छ। विदेशमा बसेका र सफल भएका नेपालीहरू सीप र अनुभव मात्र होइन, अर्बौँको अन्तर्राष्ट्रिय लगानी र आधुनिक प्रविधि लिएर नेपाल आउन खोज्छन्, तर हाम्रो देशको पुरातन सरकारी संयन्त्र, कानुनी अड्चन र उदासीनताले उनीहरूको उत्साहमा चिसो पानी खन्याइदिन्छ। छिмеकी देश भारतले अस्ट्रेलियाको होम्स इन्स्टिच्युट जस्तो विशाल संस्थालाई आफ्नो महत्वाकाङ्क्षी परियोजना ‘गिफ्ट सिटी’ मा लगानी गरिदिनुस् भन्दै सरकारी स्तरबाटै रातो कार्पेट ओछ्याएर गुहारिरहेको छ, नीति नियमहरू रातारात खुकुलो बनाइदिँदै छ। तर, हाम्रो नेपालको अवस्था भने सर्वथा फरक छ। होम्स इन्स्टिच्युटका निर्देशक इन्द्र अधिकारीले पोखेको गुनासोले हाम्रो देशको लगानीमैत्री भनिने नारालाई सिधै गिज्याइरहेको छ। उहाँका अनुसार होम्स इन्स्टिच्युटसँग ठुलो पुँजी, अनुभव र विश्वकै उत्कृष्ट हवाई उड्डयन अर्थात् एभिएसन तथा ड्रोन प्रविधिको एक्सपर्टिज छ, जुन अस्ट्रेलियाका धेरै पुराना सरकारी विश्वविद्यालयहरूसँग पनि सायद छैन। अधिकारी विगत ३ वर्षदेखि नेपालमा म्यासिभ लगानी भित्र्याउन, यहाँ अन्तर्राष्ट्रिय स्तरको एभिएसन र प्राविधिक कलेज खोल्न हरेक तीन महिनामा नेपाल धाइरहनुभएको छ। तर, नेपाल सरकारका तर्फबाट उहाँले कुनै पनि नीतिगत सहयोग वा प्रोत्साहन पाउन सक्नुभएको छैन। यहाँ मन्त्री र नेताहरूबाट केवल ठुला–ठुला कुरा मात्र हुन्छन्, तर कामको स्तर र डेलिभरी भने बदाम जत्रो पनि हुँदैन। नेपाल सरकार एकातिर वैदेशिक लगानी भित्र्याउन ‘लगानी सम्मेलन’ को नाटक गर्छ, अर्कोतिर ढोकामै आइसकेका र करोडौँ डलर लगानी गर्न तयार रहेका आफ्नै गैरआवासीय नेपाली तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूलाई प्रशासनिक झन्झटको भूलभुलैयामा फसाएर वर्षौँसम्म कुराउँछ।
रेमिट्यान्सको पैसाले देशको अर्थतन्त्र धानिएकोमा मख्ख पर्ने र युवाहरू विदेश पलायन भए भनेर गोहीको आँसु बगाउने राज्यले अब गम्भीर भएर सोच्ने बेला आएको छ। युवाहरूलाई देशबाट बाहिर जान जबर्जस्ती रोक्नु समाधान होइन। समाधान त विदेश गइसकेका, त्यहाँ विश्व बजारमा अब्बल साबित भइसकेका र होम्स इन्स्टिच्युट जस्ता प्रतिष्ठित संस्था हाँकिरहेका नेपालीहरूलाई “हामीसँग पुँजी र प्रविधि छ, हामी नेपालमा केही गर्छौँ” भन्दै स्वदेश फर्किने र ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनु हो। अर्थमन्त्री डा. वाग्ले र सञ्चारमन्त्री डा. तिमिल्सिनाजस्तै विदेशको सुख छोडेर देश बनाउन फर्किएकाहरूलाई राज्यले सही ठाउँ र जिम्मेवारी दिनुपर्छ। होम्स इन्स्टिच्युटजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाहरूले नेपालमै आधुनिक प्रविधिको कलेज खोलेर नेपाललाई दक्षिण एसियाकै शैक्षिक हब बनाउन खोज्दा, सरकारले आफ्ना पुराना र झन्झटिला नियमहरू सुधारेर बाटो खोलिदिनुपर्छ। ढोकामै आएको अर्बौँको लगानी र आधुनिक प्रविधिलाई बेलैमा नभित्र्याउने हो भने, नेपाल सधैँ प्रतिभा र पुँजी दुवै गुमाएर गरिबको गरिबै रहिरहनेछ, र इतिहासले हाम्रो नेतृत्वलाई कहिल्यै माफी दिने छैन।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग