• बुधबार, ३१ भाद्र २०८३
  • कन्सल्टेन्सी दर्ता र एनओसी प्रणाली सुधारबारे शिक्षा मन्त्रालयसँग इक्यानको छलफल

    कन्सल्टेन्सी दर्ता र एनओसी प्रणाली सुधारबारे शिक्षा मन्त्रालयसँग इक्यानको छलफल

    सबलनेपाल संवाददाता
    फाल्गुन २८ २०८२, बिहिबार

    दर्ता प्रक्रिया छिटो टुंग्याउन र अवैध कन्सल्टेन्सीमाथि निगरानी बढाउन आग्रह

    काठमाडौं,  नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का नव–निर्वाचित कार्यसमितिका पदाधिकारीहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा मन्त्रालयका अधिकारीहरूसँग भेटघाट तथा छलफल गरेका छन्।

    भेटघाटमा मन्त्रालयका सचिव चूडामणि पौडेल, शैक्षिक प्रमाणीकरण शाखाका प्रमुख सेमन्त राज कोइराला तथा मन्त्रालयको आईटी टोलीको सहभागिता रहेको थियो।

    मन्त्रालयका सचिव पौडेलले इक्यानका अध्यक्ष लक्ष्मण पौडेल सहित नव–निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित विषयमा मन्त्रालय इक्यानसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    छलफलका क्रममा इक्यानका अध्यक्ष लक्ष्मण पौडेल र महासचिव भवनाथ हुमागाईंले शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित विभिन्न विषय मन्त्रालयसमक्ष उठाएका थिए।

    इक्यानले हाल करिब ७५३ वटा कन्सल्टेन्सीहरूले केन्द्रीय मन्त्रालयमा दर्ताका लागि आवश्यक कागजात पेश गरिसकेको र कार्यालय अनुगमनसमेत सम्पन्न भइसकेकाले दर्ताको अन्तिम स्वीकृति प्रक्रिया यथाशीघ्र सम्पन्न गर्न आग्रह गरेको छ।

    त्यसैगरी विना दर्ता सञ्चालनमा रहेका कन्सल्टेन्सीहरूबाट भइरहेका अनैतिक गतिविधि रोक्न तथा पूर्व स्वीकृति बिना सञ्चालन गरिने शैक्षिक मेलाहरूलाई नियन्त्रण गर्न मन्त्रालयलाई आवश्यक पहल गर्न अनुरोध गरिएको छ।

    छलफलमा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) प्रणालीलाई पूर्ण रूपमा स्वचालित बनाउने विषयमा पनि जोड दिइएको छ। हाल एनओसी आवेदन प्रणाली अनलाइन भए पनि कहिलेकाहीँ शैक्षिक प्रमाणपत्र प्रमाणीकरणका लागि आवेदकहरूलाई मन्त्रालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने अवस्था रहेको भन्दै पूर्ण डिजिटल प्रणाली विकास गर्न आग्रह गरिएको इक्यानले जनाएको छ।

    जापान अध्ययनका लागि जाने विद्यार्थीहरूको एनओसी प्रक्रियामा देखिएको ढिलाइ सम्बन्धमा पनि मन्त्रालयसँग छलफल भएको थियो। इक्यानले एडमिशन लेटर, अफर लेटर वा एक्सेप्टेन्स लेटर का आधारमा पनि एनओसी उपलब्ध गराउने व्यवस्था गर्न सुझाव दिएको छ।

    यसैबीच मन्त्रालयको कन्सल्टेन्सी दर्ता तथा नवीकरण प्रक्रियालाई व्यवस्थित बनाउन विकास गरिएको कन्सल्टेन्सी म्यानेजमेन्ट सिस्टम पोर्टल निर्माणमा इक्यानले प्राविधिक सहयोग गर्दै आएको जनाएको छ। यस पहलका कारण अब कन्सल्टेन्सी दर्ता तथा नवीकरण सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन हुने अवस्थामा पुगेको बताइएको छ।

    इक्यानले विद्यार्थी, अभिभावक तथा सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रको हितका लागि मन्त्रालयसँग निरन्तर सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij