• बिहिबार, १ असोज २०८३
  • “जेनजी सामाजिक सञ्जालदेखि सडकसम्म: मेरी छोरीको नजरले देखेको असमानता”

    “जेनजी सामाजिक सञ्जालदेखि सडकसम्म: मेरी छोरीको नजरले देखेको असमानता”

    दीपा रेग्मी
    भाद्र २३ २०८२, सोमबार

    मेरो छोरी, एउटा सामान्य मध्यमवर्गीय परिवारको वातावरणमा हुर्किएकी छ। उसको बाबा वैदेशिक रोजगारमा हुनुहुन्छ दुःख गरेर पसिना बेचेर पैसा पठाइरहनु हुन्छ, म भने काठमाडौँको पत्रकारितामा आफ्नो जीवन धानिरहेकी छु। घरमा दैनिक खर्च धान्न सजिलो छैन ।प्रत्येक पैसाको हिसाब राख्नुपर्ने, नयाँ सामान किन्नेबेला पटकपटक सोच्नुपर्ने। मेरो छोरीले यही अभाव र संघर्ष नजिकैबाट देख्दै आएकी छे। किताब कपी ल्याउँदा म सानो खर्चको हिसाबमा गाह्रो पारेको क्षण पनि उसले देखेकी छे। बाबाको परदेशी पसिना केवल भाडा, स्कुल फिस र दैनिक खर्चमै हराएको छ भन्ने यथार्थ पनि उसले बुझिरहेकी छे।

    यस्तो पृष्ठभूमिमा हुर्किएको उसको मानसपटलमा जब नेताका छोराछोरीको जीवनशैली प्रवेश गर्छ, त्यो ठूलो टकराव हुन्छ। सामाजिक सञ्जालमा देखिने लाखौँको ब्याग, करोडौँको गाडी, पाँचतारे होटलमा रमाउने दृश्यले उसको आँखामा चस्स घोच्ने काम गर्छ। अनि उसले मसँग प्रश्न सोध्छे “मम्मी, हाम्रा बाबा यत्रा कडा परिश्रम गरेर पनि यत्रो जीवन पाउन सक्नु भएन, तर नेताका छोराछोरीलाई कहाँबाट आयो यत्रो सुविधा? के हाम्रो कर यसरी खर्च भइरहेको हो?”

    त्यो प्रश्न केवल बालसुलभ जिज्ञासा होइन, गहिरो अन्यायबोध हो। मनोविज्ञानले यसलाई “Relative Deprivation” भन्छ ,जब आफ्नै जीवनलाई अरूसँग तुलना गर्दा गहिरो असमानताको पीडा महसुस हुन्छ। उसले मेरो संघर्ष देखेकी छ, बाबाको पसिना महसुस गरेकी छ, अनि त्यसको विपरीत देखिने असीमित विलासिता उसलाई अस्वाभाविक लाग्छ। यही अन्तरले उसको मनमा आक्रोश र प्रश्नको बीउ रोपेको छ। तर उसको आक्रोश केवल भावनामा सीमित छैन। सामाजिक सञ्जालमार्फत उसले तथ्य र प्रमाण पनि संकलन गरेकी छ। नेताहरूका सम्पत्ति विवरण पढेकी छे, भ्रष्टाचार र कर छलका समाचार देखेकी छे, अन्तर्राष्ट्रिय स्तरमा युवाहरूले अन्यायविरुद्ध गरेका आन्दोलनका कथा सुनेकी छे। कतिपय कुरा त उसले मलाई भन्दा बढी चाँडै थाहा पाउँछे। कहिलेकाहीँ ऊ भन्छे“मम्मी, तपाईंले समाचार लेखेर सत्य खोज्नुभयो, तर हामीले अझ ठूलो सत्य खोज्नुपर्ने रहेछ । हाम्रो भविष्य किन अरूको भ्रष्टाचारले बिगारिरहेको छ भनेर।”.

    त्यही कारण जब उसले भनि“म पनि  आन्दोलनमा जान चाहन्छु” म चकित भएँ तर अचम्मित भएन। किनकि त्यो निर्णय अचानक आएको होइन, वर्षौँदेखि उसको मनमा पलाइरहेको प्रश्नको स्वाभाविक परिणाम हो। आज नेपालमा सामाजिक सञ्जालमार्फत सुरु भएको “Nepo Baby” वा “Nepo Kid” आन्दोलनले उसको मनसँग मेल खाएको छ। टिकटक, रेडिटदेखि लिएर फेसबुक र एक्ससम्म, नेताका छोराछोरीको विलासिता उजागर भइरहेका छन्। लाखौँ खर्चिएका ब्याग र गाडीहरूलाई आम मानिसले आफ्नो अभावसँग तुलना गरेका छन्। अनि यो डिजिटल प्रतिरोध अब सडकमा ओर्लिएको छ।     

    आज सेप्टेम्बर ८ मा, जेनजी पुस्ता माईतीघर मण्डलामा जम्मा हुँदैछ। सामाजिक सञ्जाल बन्द गरेर सरकार मौन बनाउन खोज्दैछ, तर त्यो मौनताले उल्टै आवाजलाई अझ ठूलो बनाइदिएको छ। “Finally revolution We are punching up” भन्ने जस्ता नारा युवाहरूको मुखमा छ। उनीहरूको आन्दोलन केवल विरोधको प्रदर्शन होइन, करको पारदर्शिता र नेताको सम्पत्ति सार्वजनिक गर्ने माग हो। यो पुस्ताले आफ्ना बाबाआमाले झेलेको अभावलाई प्रमाणको रूपमा बुझेका छन्, अनि नेताका छोराछोरीको देखासिकीलाई अन्यायको प्रतीक मानेका छन्। मेरो छोरीको आँखा केवल उसको निजी जीवनको कथा होइन, यो देशका हजारौँ युवाको सामूहिक दृष्टि हो। उनीहरूले आमाबाबुको पसिना र आफ्नो संघर्षलाई आधार मानेर, नेताको विलासिताविरुद्ध प्रश्न उठाएका छन्। यदि हामीले त्यस प्रश्नलाई सम्मानपूर्वक सुन्न सक्यौँ भने, यो आन्दोलनले देशलाई पारदर्शिता र न्यायतर्फ धकेल्छ। यदि बेवास्ता गर्यौँ भने, यही प्रश्न भोलिको विद्रोह बन्छ।

    हामी अभिभावकहरूको मनमा भने चिन्ता छ सडक सुरक्षित होला कि? आन्दोलन दुरुपयोग त हुने छैन? तर त्यही बेला सोच्नुपर्छ, उनीहरूले हिंसामा होइन, प्रश्नमा विश्वास गरेका छन्। उनीहरूको डिजिटल पोस्टरले अब सडकको स्वरुप पाउन थालेको छ। हामीले अब उनीहरूको प्रश्नलाई बालसुलभ भन्दै dismiss गर्ने कि गम्भीरतापूर्वक सुनाउने भन्ने निर्णय गर्नुपर्ने समय आएको छ। हामी तिमीहरूको आन्दोलनमा पूर्ण समर्थनमा छौँ, किनकि तिमीहरूले उठाएका प्रश्नहरू हाम्रो जीवनका पीडा र अन्यायसँग प्रत्यक्ष जोडिएका छन्। तर सँगै एउटा सल्लाह भने छ । तिमीहरूको आवाज अझै प्रभावकारी बन्न, आन्दोलनलाई शान्त, अनुशासित र तथ्यमा आधारित बनाउनुपर्छ। ढुंगा मुडा वा हिंसाले होइन, स्पष्ट माग र प्रमाणले तिमीहरूको आन्दोलनलाई दीर्घकालीन शक्ति दिन्छ। तिमीहरूको एकताबद्धता, रचनात्मकता र शान्तिपूर्ण दबाब नै हाम्रो देशलाई पारदर्शिता र न्यायतर्फ धकेल्ने सबैभन्दा ठूलो बल हुनेछ।                                        .                        हामी जस्ता अभिभावक पुस्ताले पनि सामाजिक सञ्जालमार्फत आफ्ना छोराछोरीहरूको आक्रोशलाई देखिरहेका छौँ। हामीमध्ये धेरैले आन्दोलनमा प्रत्यक्ष सहभागी नहुन सक्छौँ, तर मनोवैज्ञानिक रूपमा हामी उनीहरूको चेतनालाई समर्थन गरिरहेका छौँ। किनभने उनीहरूको आक्रोश केवल भावनाको उफ्राइ होइन, वास्तविक जीवनको अनुभव र असमानताको गहिरो चोटबाट जन्मिएको हो।

    हामीले आफ्ना छोराछोरीहरूलाई अभावमै हुर्काएको छौँ, पसिना बगाएर तिरेको करले नेताका परिवारलाई विलासिता दिन्छ तर आफ्नै परिवारलाई आधारभूत सुविधा समेत नदिएको पीडा हामीले अनुभूति गरिरहेका छौँ। यही कारण उनीहरूले उठाएका प्रश्नहरू हामी अभिभावककै प्रश्न जस्ता लाग्छन्। छोराछोरीले मुख खोल्दा, हामीले दशकौँसम्म मौन सहन गरेको पीडालाई उनीहरूले शब्द दिएका छन् भन्ने महसुस हुन्छ। त्यसैले यो आन्दोलनलाई समर्थन गर्नु हाम्रो लागि केवल भावनात्मक हैन, न्याय र भविष्यप्रतिको विश्वासको समर्थन पनि हो। अन्ततः, यो आन्दोलन केवल जेनजी पुस्ताको आक्रोश मात्र होइन, सम्पूर्ण समाजले महसुस गरेको अन्यायको प्रतिफल हो।

    आज सडकमा उत्रिएका युवाहरूले आफ्नो आवाज उठाएर “कर तिर्नेहरूको अधिकार के हो?” भन्ने मूल प्रश्न गरेका छन्। राज्यले यसलाई बालसुलभ जोश भनेर बेवास्ता गर्ने हो भने त्यो घोर गल्ती हुनेछ। बरु राज्यले यो आन्दोलनलाई एक गम्भीर संकेतका रूपमा बुझ्नुपर्छ । पारदर्शिता, जवाफदेहिता र समान अवसरको मागलाई स्वीकार गर्दै सुधारतर्फ कदम चाल्नुपर्छ। युवाहरूलाई दबाउने होइन, उनीहरूको प्रश्नलाई नीति निर्माणमा प्रतिबिम्बित गर्ने हो भने मात्र लोकतन्त्र बलियो बन्छ। राज्यले अब सोच्नुपर्छ । यी युवाहरू शत्रु होइनन्, भविष्यका साझेदार हुन्। यदि उनीहरूको आवाजलाई सम्मान गरियो भने, यही आक्रोशले मुलुकलाई नष्ट होइन, नयाँ आधार दिन सक्छ।

     

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij