• बुधबार, ३१ भाद्र २०८३
  • गृहमन्त्रीको प्रतिबद्धतासँगै हिन्दू मोर्चाद्वारा आन्दोलन फिर्ता, १८ बुँदे मागपत्र प्रस्तुत

    गृहमन्त्रीको प्रतिबद्धतासँगै हिन्दू मोर्चाद्वारा आन्दोलन फिर्ता, १८ बुँदे मागपत्र प्रस्तुत

    सबलनेपाल संवाददाता
    साउन १७ २०८३, आइतबार

    जनकपुरधाम: गृहमन्त्री सुधन गुरुङले आन्दोलनकारीमाथि बल प्रयोग तथा गोली प्रहार नगर्ने प्रतिबद्धता जनाएपछि संयुक्त हिन्दू मोर्चाले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएको छ। आइतबार जनकपुरस्थित यात्री निवासमा सरकार र मोर्चाका प्रतिनिधिबीच भएको वार्तापछि आन्दोलन रोक्ने सहमति जुटेको हो।

    वार्ताका क्रममा मोर्चाले यसअघि शनिबार राति प्रस्तुत गरेको १३ बुँदे मागलाई परिमार्जन तथा विस्तार गर्दै १८ बुँदे नयाँ मागपत्र गृहमन्त्री गुरुङलाई बुझाएको छ। उक्त मागपत्रको पहिलो नम्बरमै ‘हिन्दू राष्ट्र कायम गर्नुपर्ने’ मुख्य एजेन्डा समावेश गरिएको छ भने अन्तिम बुँदामा आन्दोलन फिर्ता लिने उल्लेख छ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलका अनुसार, शनिबारको सहमतिमा लेटरप्याड र हस्ताक्षर लगायतका विषयमा देखिएका अस्पष्टतालाई आइतबारको वार्ताले पूर्ण रूपमा चिरेको छ। गृहमन्त्रीले आन्दोलनकारीका संशयहरूलाई स्पष्ट पारेपछि दुवै पक्ष सन्तुष्ट बनेर वार्ता टुंगिएको प्रजिअ लुइँटेलले जानकारी दिए।

    हिन्दू सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले पनि सरकारसँगको वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्। “हाम्रा मागहरू सम्बोधन गर्ने विषयमा गृहमन्त्रीज्यूले स्पष्ट आश्वासन दिनुभएको छ। उहाँले अब कहीँकतै पनि गोली नहान्ने प्रतिबद्धता जनाएपछि हामीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हौं,” सनातनीले भने।

    यस सहमतिसँगै सरकार र हिन्दू मोर्चाबीचको टकराव तत्कालका लागि साम्य भएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij