• बुधबार, ३१ भाद्र २०८३
  • बजेट कार्यान्वयन र उद्योग प्रवर्द्धनका लागि तीन दर्जन उद्योगपतिसँग अर्थमन्त्रीको विशेष परामर्श

    बजेट कार्यान्वयन र उद्योग प्रवर्द्धनका लागि तीन दर्जन उद्योगपतिसँग अर्थमन्त्रीको विशेष परामर्श

    सबलनेपाल संवाददाता
    साउन १२ २०८३, मंगलबार

     काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका उत्पादनमूलक क्षेत्रका करिब तीन दर्जन प्रमुख उद्योगपतिहरूसँग विशेष छलफल सुरु गरेका छन्। बजेटको प्रभावकारी कार्यान्वयन र स्वदेशी उत्पादनमूलक उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबार अर्थ मन्त्रालयमा उक्त उच्चस्तरीय बैठक आयोजना गरिएको हो।

    प्रधानमन्त्रीसँग निजी क्षेत्रको अघिल्लो छलफल लगत्तै अर्थ मन्त्रालयमा आयोजना गरिएको यस विशेष परामर्श बैठकमा राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आएका शीर्ष उद्योगी-व्यवसायीहरूको उपस्थिति रहेको छ। छलफलमा उत्पादनमूलक क्षेत्रका विद्यमान समस्या, बजेटका प्राथमिकता, निजी क्षेत्रले भोगेका व्यावहारिक चुनौती र सरकारबाट अपेक्षित नीतिगत सहजीकरणका विषयमा गहन विचार-विमर्श भइरहेको छ।

    अर्थ मन्त्रालयका अनुसार उत्पादनमूलक उद्योग सञ्चालन गरी देशको आर्थिक वृद्धि र रोजगारी सिर्जनामा विशिष्ट योगदान दिँदै आएका व्यवसायीहरूलाई छानेर छलफलमा आमन्त्रण गरिएको हो। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत उद्योग व्यवसायमैत्री वातावरण निर्माण गर्ने लक्ष्य लिएकाले सोहीअनुरूप नीतिगत सुधार र व्यावहारिक सहजीकरणका लागि अर्थ मन्त्रालयले निजी क्षेत्रका साझेदारहरूसँग सोझै संवाद अघि बढाएको हो।

    बैठकमा अर्थमन्त्री वाग्लेका साथै अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दवाडी एवं अर्थ मन्त्रालय र सम्बद्ध विभागका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको छ। निजी क्षेत्रका सुझावलाई बजेट कार्यान्वयनको कार्ययोजनामा समावेश गरी अघि बढ्ने सरकारको तयारी छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij