• बिहिबार, १ असोज २०८३
  • ‘सुशासन र सदाचारमा युवाको भूमिका अपरिहार्य’

    ‘सुशासन र सदाचारमा युवाको भूमिका अपरिहार्य’

    सबलनेपाल संवाददाता
    बैशाख ३१ २०८३, बिहिबार

    काठमाडौं (अस) । सुशासन र सदाचारको स्थापनामा युवाको सहभागिता अपरिहार्य रहेकोमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । ट्रान्स्परेन्सी इन्टरनेशनल नेपालले बिहीवार काठमाडौंमा आयोजना गरेको ‘नेपालमा सुशासन प्रवद्र्धनमा युवाको भूमिका’ विषयक समूह प्रस्तुतीकरण कार्यक्रममा सहभागी युवा विद्यार्थीहरूले उक्त धारणा राखेका हुन् । स्नातक तहमा अध्ययनरत उपत्यकाका नौओटा क्याम्पसका विद्यार्थी समूहले प्रस्तुतीकरण गर्दै ‘जेनजी’ आन्दोलनले सुशासनका सवाललाई अगाडि ल्याउन सहयोग पुगेको बताएका थिए । विद्यालय तथा क्याम्पसबाटै सुशासनको अभियान सञ्चालन गर्न सके त्यसको प्रभावकारिता बढ्ने र पछिल्लो पुस्तालाई अभियानमा जोड्न डिजिटल माध्यमको प्रभावकारी उपयोग गर्नुपर्नेमा उनीहरूको जोड थियो ।

    उनीहरूले सक्षम युवा निर्माणमार्फत राम्रो नेतृत्व विकास गर्नुपर्ने, निर्णय प्रक्रियामा युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने तथा सुशासन नीतिमा मात्र सीमित नभई आम नागरिकको दैनिकीसँग जोडिनुपर्ने बताएका थिए । नेपालमा जनसंख्याको ४० प्रतिशतभन्दा बढी हिस्सा युवाको रहेको उल्लेख गर्दै सुशासनको अभियानमा युवालाई अग्रपंक्तिमा ल्याउनुपर्ने र समुदायस्तरका सामान्य विषयमा समेत युवाले आवाज उठाउनुपर्ने उनीहरूको धारणा थियो ।

    युवाले गर्न सक्छन् वा सक्दैनन् भन्ने बहसभन्दा पनि समाजका लागि अहिलेसम्म युवाले गरेका योगदान र आगामी भूमिकाबारे छलफल हुनुपर्ने उनीहरूको भनाइ थियो । समाजका लागि युवाले गरिरहेका नयाँ प्रयासलाई सम्बन्धित निकायले संस्थागत गर्न सहयोग गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका थिए ।
    कार्यक्रममा संस्थाका परियोजना संयोजक विनोद भट्टराईले युवा विद्यार्थीको क्षमता अभिवृद्धि तथा सदाचार प्रवद्र्धनमा युवाको सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । क्याम्पसस्तरमा सदाचारसम्बन्धी शिक्षा प्रवाह गर्न सके त्यसको सकारात्मक प्रभाव समुदायस्तरसम्म पुग्ने उनको विश्वास थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij