• बिहिबार, १ असोज २०८३
  • फिलिपिन्समा एमबीबीएस अध्ययनका लागि तीन नेपाली विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति

    फिलिपिन्समा एमबीबीएस अध्ययनका लागि तीन नेपाली विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति

    सबलनेपाल संवाददाता
    बैशाख १० २०८३, बिहिबार

    काठमाडौँ — फिलिपिन्सको मनिलास्थित प्रतिष्ठित ‘आमा स्कुल अफ मेडिसिन’ ले तीन जना नेपाली विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति प्रदान गरेको छ। बुधबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच कलेजले छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरूको नाम सार्वजनिक गर्दै उनीहरूको सम्पूर्ण शिक्षण शुल्क मिनाहा गर्ने घोषणा गरेको हो।
    पूर्ण छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा कनैयाकुमार पटेल, ऋतिका पौडेल र आदर्श कुमार सिंह रहेका छन्। कलेजकी अन्तर्राष्ट्रिय विद्यार्थी मामिला निर्देशक आयुष्मा राणा शाहका अनुसार, प्रति विद्यार्थी करिब ४२ लाख रुपैयाँ लागत पर्ने एमबीबीएस अध्ययनको सम्पूर्ण शिक्षण शुल्क छात्रवृत्तिमार्फत बेहोरिनेछ। ‘मेडिकल डक्टर सोलुसन’ सँगको सहकार्यमा सञ्चालित यस कार्यक्रमअन्तर्गत यसपटक नेपालबाट कुल २८ जना विद्यार्थी एमबीबीएस अध्ययनका लागि फिलिपिन्स जान लागेका छन्। त्यस्तैगरी अन्य विद्यार्थीहरूलाई पनि अमेरिकन हजारदेखि २००० डलरसम्मको ट्युसन फीमा छुट दिने जानकारी समेत दिइन्।

    कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले छात्रवृत्ति विजेताहरूलाई बधाई दिँदै विदेशमा आर्जन गरेको ज्ञान र सीपलाई स्वदेश फर्किएर राष्ट्रको स्वास्थ्य सेवामा लगाउन आग्रह गरे।
    त्यस्तै, नेपाल क्यान्सर अस्पतालका सह-संस्थापक डा. बिजेश राज घिमिरेले प्राप्त अवसरको पूर्ण सदुपयोग गर्दै दक्ष चिकित्सक बन्न विद्यार्थीहरूलाई सुझाव दिए।
    छात्रवृत्ति प्राप्त गरेपछि खुसी व्यक्त गर्दै विद्यार्थी आदर्श कुमार सिंहले यो अवसरलाई आफूले ठूलो जिम्मेवारीको रूपमा लिएको बताए। निर्देशक शाहले यी तीन विद्यार्थीबाहेक अन्य इच्छुक नेपाली विद्यार्थीहरूलाई समेत २ देखि ५ लाख रुपैयाँसम्मको आंशिक छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिए।
    आयुष्मा राणा शाहको सक्रियतामा स्थापना भएको मेडिकल डक्टर सोलुसनले लामो समयदेखि चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई सहजीकरण गर्दै आएको छ। शाहले हालसम्म फिलिपिन्स र भारतमा गरी ५ हजारभन्दा बढी व्यक्तिलाई एमबीबीएस अध्ययनमा सहयोग गरिसकेको कार्यक्रममा जानकारी दिइयो। कार्यक्रममा एमबीबीएस तयारी गरिरहेका विद्यार्थी र अभिभावकहरूको उल्लेख्य उपस्थिति थियो।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij