• शुक्रबार, २ असोज २०८३
  • “नवीन सन्देश मासिक २०औँ वर्षमा प्रवेश, पत्रकारितामा निरन्तरता र विश्वसनीयताको जोड”

    “नवीन सन्देश मासिक २०औँ वर्षमा प्रवेश, पत्रकारितामा निरन्तरता र विश्वसनीयताको जोड”

    सबलनेपाल संवाददाता
    चैत्र ३० २०८२, सोमबार

    काठमाडौँ – नवीन सन्देश मासिकले १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले पत्रिकाको निरन्तरता, योगदान र जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याएका छन्।

    कार्यक्रममा पूर्व सभासद् कान्तिका सेजुवालले दुई दशकसम्म पत्रिका सञ्चालन गर्नु चुनौतीपूर्ण भए पनि समर्पण र मेहनतले सम्भव भएको बताइन्। उनले यस्तो निरन्तरता पत्रकारितामा उदाहरणीय भएको धारणा राखिन्।

    मौरिससका महावाणिज्य दूत तथा इपान अध्यक्ष गणेश कार्कीले आकर्षक हेडलाइनभन्दा पनि तथ्यमा आधारित सामग्रीमा जोड दिनुपर्ने आवश्यकता औंल्याए। त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले उद्यमशीलतालाई सकारात्मक रूपमा प्रस्तुत गर्न मिडियाले भूमिका खेल्नुपर्ने बताए।

    प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य निमा काफ्लेले विश्वसनीयता र आचारसंहिताको पालन पत्रकारिताको मुख्य आधार भएको उल्लेख गरिन्। गण्डकी प्रदेशकी प्रेस रजिस्टार बिमला भण्डारीले सूचना प्रवाहको अत्यधिक दबाबबीच मिडियाले जिम्मेवार भूमिका खेल्नुपर्ने बताइन्।

    वरिष्ठ पत्रकार हरि विनोद अधिकारीले पत्रिकाको दीर्घकालीन निरन्तरतालाई ऐतिहासिक उपलब्धि भन्दै प्रशंसा गरे। अन्य वक्ताहरूले पनि छापा माध्यम चुनौतीका बीच अघि बढिरहेको उल्लेख गर्दै समयअनुकूल रूपान्तरण आवश्यक रहेको धारणा राखे।

    कार्यक्रमको समापनमा पत्रिकाकी सम्पादक कल्पना शर्माले १९ वर्षको यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ जिम्मेवार र प्रभावकारी पत्रकारिता गर्ने प्रतिबद्धता जनाइन्। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij