• बुधबार, ३१ भाद्र २०८३
  • एआईले बदल्दै पत्रकारिता, बागमतीमा चारदिने तालिम सम्पन्

    एआईले बदल्दै पत्रकारिता, बागमतीमा चारदिने तालिम सम्पन्

    सबलनेपाल संवाददाता
    चैत्र २७ २०८२, शुक्रबार

    काठमाडौँ- बागमती प्रदेशमा पत्रकारहरूलाई लक्षित गरी सञ्चालन गरिएको चार दिने कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ। पत्रकारितामा प्रविधिको प्रयोगलाई प्रभावकारी र जिम्मेवार बनाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत २० जना पत्रकार सहभागी भएका थिए।

    आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा सञ्चार रजिस्ट्रार कार्यालय द्वारा सञ्चालित तालिममा समाचार सङ्कलन, सम्पादन, तथ्य जाँच, डाटा विश्लेषण र सामग्री उत्पादनमा एआई उपकरणको प्रयोगसम्बन्धी व्यवहारिक अभ्यास गराइएको थियो। तालिमको सहजीकरण प्रशिक्षक शिव पुरी र अजय शर्माले गरेका थिए।

    समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले एआई तथा आधुनिक प्रविधिको प्रयोग सही र जिम्मेवार ढङ्गले गर्नुपर्नेमा जोड दिएका थिए। उनले प्रविधिले अवसरसँगै चुनौती पनि ल्याउने उल्लेख गर्दै यसको दुरुपयोगले समाजमा नकारात्मक असर पार्न सक्ने बताएका थिए। “प्रविधिसँगै अगाडि बढ्न जरुरी छ, तर यसको प्रयोग सही तरिकाले मात्रै हुनुपर्छ,” उनले भने, “गलत प्रयोगले विश्वासनीयता घटाउन सक्छ र अपत्यारिला सामग्री फैलिन सक्छन्।”

    सञ्चार रजिस्ट्रार रेभती साखकोटाले यस्ता तालिम पत्रकारहरू मात्र नभई सञ्चार संस्थामा कार्यरत सम्पूर्ण जनशक्तिका लागि आवश्यक रहेको बताएका थिए। सीमित बजेटका कारण तालिम छोटो अवधिमा सञ्चालन गर्नुपरेको उल्लेख गर्दै उनले आगामी बजेटमा यस्ता किसिमका तालिम तथा कार्यक्रमका लागि छुट्टै बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

    “चार दिन पर्याप्त समय होइन, यसलाई अझ विस्तार गर्नुपर्ने देखिन्छ,” उनले भने, “आगामी दिनमा पनि सञ्चार क्षेत्रका लागि आवश्यक विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्ने योजना छ, र त्यसका लागि बजेटको व्यवस्था अपरिहार्य छ।”

    पछिल्ला वर्षहरूमा डिजिटल प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा एआईको प्रयोग बढ्दै गएको छ। यसले समाचार उत्पादनको गति र पहुँच विस्तारमा सहयोग पुर्‍याए पनि यसको प्रयोगमा सत्यता, निष्पक्षता र नैतिकता कायम राख्नु चुनौतीपूर्ण पक्षका रूपमा रहेको सरोकारवालाहरू बताउँछन्।

    तालिममा सहभागी पत्रकारहरूले एआईसम्बन्धी ज्ञानले आफूहरूलाई समयअनुकूल सीप विकास गर्न सहयोग पुगेको बताएका छन्। उनीहरूका अनुसार एआईको सही प्रयोगले पत्रकारिताको गुणस्तर सुधार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij