बरहथवा । हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ दैनिक आकाश हेरेर थाकिसकेका छन् । असारको दोस्रो सातादेखि धान रोप्ने तयारी गर्नुभएका उहाँले पानी नपरेपछि धान रोप्न पाएका छैनन् ।
‘असारको पहिलो हप्तातिर हल्का मात्र पानी परेको थियो’, उनलेभने ‘तर, यस वर्ष धानको ब्याड राख्ने समयमा पनि पानीले साथ नदिएपछि ढिलो भयो ।’ सुक्खामा राखेका बीउ राम्रोसँग नबढेपछि पर्खिँदापर्खिँदै समय घर्किन लागेको उनको गुनासो छ ।
सिँचाइको व्यवस्था नभएको एक बिघा खेतमा उहाँले अकासे पानीका भरमा धान रोप्दै आएका छन् । यसरी अकासे पानीका भरमा खेती गर्न केही समययता साह्रै सकस हुन थालेको उनले सुनाए। ‘यस वर्ष धानको बीउ राख्ने समय पनि खडेरीमै गयो’, उनले भने , ‘पानीको पर्खाइमा बीउ ढिलो भयो, अहिले धान रोप्न उस्तै समस्या छ ।’
मौसम पूर्वानुमान महाशाखाले यस वर्ष औसतभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरेको छ । तर मधेसका जिल्लामा खडेरी बढ्दै गएको किसान बताउँछन् । असारको दिनमा समेत पानी नपरेपछि धान लगाउन ठिक्क पारेका खेत अहिले बाँझै बसेका छन्भने केही स्थानमा समयमै रोप्न नपाउँदा धानको बीउ छिप्पिन थालिसकेको छ ।
पटकपटक मौसम बदली हुँदै टर्दै गर्न थालेपछि यस वर्ष धान रोप्न नपाइने चिन्ताले सताएको जिल्लाको लालबन्दी नगरपालिका–५ जब्दीका दीपक घिमिरेको भनाइ छ ।
‘पानी बन्दै पर्न छाड्यो’, उनले भने , ‘खेतमा पटाउन नहर कुलोको सुविधा छैन । आकाशको पानीको भर हो । यस वर्ष यस्तै होला जस्तो छ ।’ झण्डै डेढ बिघा खेतमा वर्षामा अकासे पानी र हिउँदमा डिपबोरिङको भरमा उहाँले खेती गर्दै आएका छन् ।
‘डिपबोरिङले सुक्खा समयमा खेतमा पानी भरेर धान रोप्न सकिँदैन’, घिमिरेले भने, ‘सामान्य तरकारी वा अन्य बालीको जराजरामा हाल्नमात्र पुग्छ ।’ समयमै वर्षात् नहुँदा बीउ राख्न नपाएका किसान फेरि धान रोप्ने समयमा पानी नपर्दा समस्यामा छन् । यसरी समय घर्किएर रोपेको धानले राम्रो उत्पादन दिनेमा समेत किसानहरूलाई शङ्का छ ।
गत वर्ष यही समयमा ८० प्रतिशत धान रोपाइँ सकिएको सर्लाहीमा यस वर्ष मुस्किलले ३५ प्रतिशत पुगेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले बताए । धान रोपाइँ ढिलो हुनुमा सिँचाइ प्रमुख कारण रहेको उनको भनाइ छ ।
‘अर्कातर्फ धेरै किसानले समयमा बीउ राख्न पाएनन्’, उनले भने , ‘राखेको बीउ धेरैको खडेरीले खायो, फेरि राखेको तयार हुन बाँकी छ ।’
यसले धानको उत्पादनमा समेत ह्रास आउने उनले बताए। जिल्लाको बागमती, बरहथवा, धन्कौल, हरिवन, लालबन्दी, हरिपुरलगायत सिँचाइ सुविधा भएका केही क्षेत्रमा मात्र रोपाइँ भएको प्रमुख कुशवाहाको भनाइ छ । सिँचाइ सुविधा नभएका स्थानका किसान पानी नभएको भन्दै छट्पटाइरहेका छन् । यस क्षेत्रमा बागमती, सोती, मनुसमारालगायतको सिँचाइको व्यवस्था छ ।
छयालीस हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको जिल्लामा झण्डै आधा ५० प्रतिशत भूभागमा सिँचाइको सुविधा पुगेको छैन । यस क्षेत्रका किसान सधैँ अकासे पानीका भरमा खेती गर्छन् । इनार, डिपट्युबेल, रोअलपम्पबाट अन्य खेती गर्ने गरेका भए पनि धान रोप्न सम्भावना नरहेको किसानको भनाइ छ ।
मानो रोपेर मुरी फलाउने र वर्षभरिको अन्नको गर्जो टार्ने योजना तुहिने चिन्ता रहेको बागमती नगरपालिका–११ का किसान शङ्कर सापकोटाको भनाइ छ ।
यसैबीच यस वर्ष प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । सुक्खाग्रस्त क्षेत्र घोषणासँगै सङ्घ सरकारसँग सोहीअनुसारको राहत माग गर्ने निर्णय प्रदेशस्तरको मन्त्रिस्तरीय बैठकले गरेको छ । किसान भने सुक्खाग्रस्त क्षेत्र घोषणाले के हुन्छ भन्ने कुरामा अन्योलमा देखिएका छन् ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि