• शनिबार, ३ असोज २०८३
  • धादिङमा ‘ग्लोबल पीस मेकर क्याम्प २०२५’ सुरु — नेपाली समुदायसँग कोरियन स्वयंसेवकहरूको सहकार्य

    धादिङमा ‘ग्लोबल पीस मेकर क्याम्प २०२५’ सुरु — नेपाली समुदायसँग कोरियन स्वयंसेवकहरूको सहकार्य

    सबलनेपाल संवाददाता
    असार १३ २०८२, शुक्रबार

    धादिङ- धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित गैरीगाउँ माध्यमिक विद्यालयमा ‘ग्लोबल पिस मेकर्स क्याम्प २०२५’ सम्पन्न भएको छ। सर्भिस फर पिस नेपालको आयोजनामा २०२५ जुन २४ देखि जुलाई १ सम्म सञ्चालन भएको क्याम्पमा कोरिया नेशनल युनिभर्सिटी अफ ट्रान्सपोर्टेसनका २७ जना स्वयंसेवक विद्यार्थीहरूको सहभागिता रहेको थियो। आठदिने यो अन्तर्राष्ट्रिय क्याम्पले शिक्षा, पूर्वाधार विकास, अन्तरसंस्कृतिक आदानप्रदान, र सेवा कार्यको माध्यमबाट स्थानीय समुदायमा सकारात्मक परिवर्तन ल्याएको छ।
    कोरियन टोलीले विद्यालयको क्यान्टिन निर्माण, पुस्तकालय पुनर्निर्माण, शैक्षिक सामग्री वितरण, कक्षा कोठाको रंगरोगन तथा सजावट लगायतका कार्यहरूमा प्रत्यक्ष सहयोग पुर्‍यायो। कोरियन पक्षको आर्थिक र प्राविधिक सहयोगले विद्यार्थीहरूको सिकाइ वातावरणमा सुधार ल्याउने अपेक्षा गरिएको छ। साथै, नेपाली विद्यार्थीहरूका लागि पौष्टिक भोजनको पहुँच सहज हुने विश्वास लिइएको छ।
    क्याम्प अवधिभर स्वयंसेवकहरूले अंग्रेजी भाषा शिक्षण, सिर्जनात्मक अभ्यास, खेलकुद (फुटबल, भलिबल, नेपाली परम्परागत खेलहरू), सांगीतिक प्रस्तुतिहरू, र विविध संस्कृतिक गतिविधिमा सक्रिय सहभागिता जनाए। यसले नेपाली र कोरियन युवाबीच आपसी समझदारी, आदानप्रदान र मित्रता सुदृढ गर्न मद्दत गरेको आयोजकहरूले बताएका छन्।
    सर्भिस फर पिस नेपालका प्रबन्धक बसुदेव न्यौपानेले क्याम्पलाई “सेवाभन्दा पनि साझा मानवता र भविष्य निर्माणतर्फको साझेदारी” भएको बताए। सर्भिस फर पिस नेपालकी महासचिव जिन्तु नकर्मी खनालले कार्यक्रममा युवाहरूले “एक अर्काको संस्कृति, विचार र जीवनशैली बुझ्ने अवसर पाएको” उल्लेख गरिन्।
    कार्यक्रमको समापन समारोहमा नवनिर्मित पूर्वाधार विद्यालयलाई हस्तान्तरण गरियो। कोरियन टोली निर्देशक किमले नेपालमा सेवा गर्न पाएको अनुभवलाई “जीवनका वास्तविक मूल्यहरू बुझ्ने अवसर” भन्दै उल्लेख गरे। समापनमा अनुभव आदानप्रदान, सांस्कृतिक कार्यक्रम र स्मृति सामग्री वितरणका साथ क्याम्प सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको थियो।
    कार्यक्रम संयोजक हेमबहादुर महतोले यस्तो सहकार्यले बालबालिकाको उज्ज्वल भविष्यमा दीर्घकालीन लगानी भएको बताए। आयोजक संस्थाहरूले यस्ता कार्यक्रम आगामी वर्षहरूमा समेत सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

     

     

     

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij