काठमाडौं । नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित व्यावसायिक अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ यही भाद्र ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औं वार्षिकोत्सवको अवसर पारेर १८औं संस्करणलाई ‘स्वर्ण उत्सव संस्करण’ का रूपमा भव्य रूपमा मनाउन लागेको हो। यस वर्षको प्रदर्शनीको शीर्ष प्रायोजक एच.पि. लुब्रिकेन्ट्स् रहेको छ।
६ दिनसम्म सञ्चालन हुने यस प्रदर्शनीले नेपालमा तीव्र रूपमा विकसित भइरहेको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यावसायिक अवस्थालाई प्रतिविम्बित गर्ने आयोजकले जनाएको छ। अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नवीनतम सवारीसाधन, प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गर्न र ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न यो मेलाले महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ।
यस वर्षको प्रदर्शनी करिब ३ लाख वर्गफुट क्षेत्रफलमा फैलिनेछ, जसमा साना–ठूला गरी २०० भन्दा बढी स्टलहरू रहनेछन्। मेलामा २३ ब्रान्डका प्यासेन्जर कार (PCV), १७ ब्रान्डका लाइट कमर्सियल भेहिकल (LCV), र १३ ब्रान्डका दुई पाङ्ग्रे सवारीसाधनहरूको सहभागिता रहनेछ।
यसका अतिरिक्त, ७० वटा अटोमोटिभ पार्टपुर्जा, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण र एसेसरिजका स्टलहरू तथा १० वटा वित्तीय एवं बीमा सेवा प्रदायक संस्थाहरूको उपस्थिति रहनेछ। नेपालमै एसेम्बल भएका सवारीसाधन, लुब्रिकेन्ट्स, ब्याट्री र हेल्मेटलगायतका सामग्रीहरूले पनि मेलामा विशेष स्थान पाउनेछन्।
यस वर्षको अटो शोमा ‘स्वर्ण उत्सव संस्करण’ को विशेष रौनकका साथै भविष्यको यातायात प्रविधिलाई नजिकबाट चिनाउन G1 Humanoid Robot र Go2 Quadruped Robot प्रदर्शन गरिनेछ। स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘मेड इन नेपाल / मेड फर नेपाल’ पेभिलियनको व्यवस्था गरिएको छ। साथै, विभिन्न ब्रान्डका नयाँ सवारीसाधन सार्वजनिक (लन्चिङ) गरिने र स्मार्ट मोबिलिटी, दिगो विकास, तथा कनेक्टिभिटीका विषयमा सिम्पोसियमसमेत आयोजना हुनेछ।
अवलोकनकर्ताको सहजताका लागि २–पाङ्ग्रे, ४–पाङ्ग्रे, वित्तीय संस्था र अटो कम्पोनेन्ट्स्को छुट्टाछुट्टै जोन विभाजन गरिएको छ। सम्पूर्ण प्रदर्शनी स्थललाई ह्वीलचेयर मैत्री बनाइएको छ भने महानगरीय ट्राफिक प्रहरीको साझेदारीमा ट्राफिक सूचना डेस्क स्थापना गरिएको छ।
पार्किङको समस्यालाई मध्यनजर गर्दै नेपाल पुलिस क्लबको अन्डरग्राउन्ड पार्किङ र सिंहदरबारस्थित नेशनल ट्रेडिङ परिसरमा पार्किङको विशेष व्यवस्था मिलाइएको छ। सुरक्षा र आपतकालीन व्यवस्थापनका लागि सीसीटीभी निगरानी, आपतकालीन स्वास्थ्य टोली र आगो नियन्त्रण संयन्त्र तयारी अवस्थामा राखिएको छ। मेलाको टिकटिङ पार्टनर ‘खल्ती’ एपमार्फत अग्रिम टिकट बुकिङ खुला गरिएको छ, जसमा निश्चित अवधिका लागि ५० प्रतिशत क्यासब्याकको व्यवस्थासमेत गरिएको छ।
आयोजक नाडाले सम्पूर्ण अटोमोबाइलप्रेमी, उद्योग व्यवसायी र सर्वसाधारणलाई मेलामा उपस्थित भई नेपालको मोबिलिटी क्षेत्रको भविष्यलाई आकार दिइरहेका नवीनतम प्रवृत्तिहरूको अनुभव गर्न आमन्त्रण गरेको छ। यस भव्य प्रदर्शनीलाई करिब २ लाख दर्शकले अवलोकन गर्ने विश्वास लिइएको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”
-
बाढीले रोकिएको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट आजदेखि पुनः उत्पादन सुरु
-
चार दिने अविरल वर्षाले देशभर वितण्डा: सडक सञ्जाल विच्छेद, बस्ती डुबानमा