• सोमबार, १८ साउन २०८३
  • आन्दोलनको मर्मअनुसार काम गरे सशक्त प्रतिवाद गर्ने जेनजीको चेतावनी

    आन्दोलनको मर्मअनुसार काम गरे सशक्त प्रतिवाद गर्ने जेनजीको चेतावनी

    सबलनेपाल संवाददाता
    साउन १२ २०८३, मंगलबार

    काठमाडौँ। वर्तमान राजनीतिक घटनाक्रम, देशभित्र खस्कँदो सुरक्षा अवस्था र बढ्दो रोजगारी संकटप्रति गम्भीर ध्यानाकर्षण गराउँदै जेन–जी अभियन्ताहरूले सरकारलाई आन्दोलनको मर्मअनुसार काम गर्न आग्रह गरेका छन्। आन्दोलनका उपलब्धि र जनअपेक्षाअनुसार काम नभए आफूहरू फेरि कडा प्रतिवादमा उत्रिन बाध्य हुने उनीहरूको चेतावनी छ।

    सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जेन–जी अभियन्ता मिरज ढुंगानाले गृह प्रशासनको फितलो कार्यशैली र युवा पलायनको अवस्थाप्रति असन्तोष व्यक्त गरे। भारत भ्रमणका क्रममा त्यहाँको युवा आन्दोलनसँग अनुभव साट्ने अवसर नपाएको उल्लेख गर्दै उनले जुनसुकै देशका युवाले परिवर्तनका लागि प्राप्त गरेको उपलब्धिलाई आफूहरूले सम्मान गर्ने बताए।

    तर, भारतीय एक जेनजी अभियन्ताले नेपाल र बंगलादेशको आन्दोलनलाई होच्याउने गरी दिएको अभिव्यक्तिप्रति उनले दुःख व्यक्त गरे। “आफ्नो आन्दोलन सफल हुनु राम्रो कुरा हो, तर त्यसका लागि अरूको प्रयासलाई कमजोर देखाउनु वा होच्याउनु उचित होइन,” ढुंगानाले भने।

    भारतबाट फर्किने क्रममा सुनसरीको देवानगञ्ज गाउँपालिका क्षेत्रमा भएको सामुदायिक द्वन्द्व र गोली प्रहारको घटनाप्रति चिन्ता व्यक्त गर्दै उनले राज्यका सुरक्षा निकाय बेलैमा सचेत नभएको आरोप लगाए। सम्भावित द्वन्द्वबारे स्थानीय तहदेखि सुरक्षा निकायसम्म पूर्वसूचना पुगिसक्दा पनि गृह मन्त्रालयले समयमै कदम नचालेको उनको भनाइ थियो।

    “गृह मन्त्रालयको मुख्य जिम्मेवारी नै शान्ति सुरक्षा कायम गर्नु हो। यस्ता घटना दोहोरिन नदिन राज्य संयन्त्र थप संवेदनशील र जिम्मेवार बन्नुपर्छ,” ढुंगानाले भने। उनले धार्मिक तथा सामुदायिक सहिष्णुता कायम राख्न सबै पक्षलाई आग्रह गरे।

    देशभित्र रोजगारीको अवसर नहुँदा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भएको भन्दै उनले सरकारले आन्तरिक रोजगारी सिर्जनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। रोजगारीका लागि कतार जान लागेका श्रमिकहरूसँगको भेटलाई स्मरण गर्दै उनले देशमै गरी खाने वातावरण नहुँदा युवाहरूमा निराशा छाएको बताए।

    पछिल्ला समय बढेका आत्महत्याका घटनाहरूलाई केवल व्यक्तिगत नभई सामाजिक र आर्थिक निराशाको संकेतका रूपमा लिनुपर्ने उनको तर्क थियो। ढुंगानाले जनअपेक्षा अनुसार काम नगरे र आन्दोलनको मर्मविपरीत निर्णयहरू भए आफूहरू शान्त नबस्ने चेतावनी दिए।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij