• शुक्रबार, २ असोज २०८३
  • “हामीले जवानी र लगानी गरेको यो क्षेत्रलाई ठग भन्न पाइँदैन, २४सै घण्टा खट्ने ९ जनाको टास्कफोर्स बनाएका छौँ” : अध्यक्ष राजेन्द्र बराल

    “हामीले जवानी र लगानी गरेको यो क्षेत्रलाई ठग भन्न पाइँदैन, २४सै घण्टा खट्ने ९ जनाको टास्कफोर्स बनाएका छौँ” : अध्यक्ष राजेन्द्र बराल

    ठग' शब्द खारेज गर्न माग गर्दै राज्य र मिडियालाई महासंघ अध्यक्ष बरालको कडा सम्बोधन (पूर्ण पाठसहितको समाचार)

    सबलनेपाल संवाददाता
    जेष्ठ ७ २०८३, बिहिबार

    काठमाडौँ, । नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ (FECE-NEPAL) का अध्यक्ष राजेन्द्र बरालले वर्षौँदेखि देशका कर्णधार विद्यार्थीहरूको भविष्य बनाउन अहोरात्र खटिएका कन्सल्टेन्सीहरूलाई जथाभाबी ‘ठग’ को ट्याग नलगाउन चेतावनी दिनुभएको छ। महासंघको अन्तर्क्रिया कार्यक्रममा विशेष सम्बोधन गर्दै अध्यक्ष बरालले व्यवसायीहरूले भोगेको पीडा र राज्यको दोहोरो मापदण्डमाथि कडा प्रहार गर्नुभयो।

    कार्यक्रमकालाई सम्बोधन गर्दै अध्यक्ष बरालले भन्नुभयो:

    “हामीले जवानी र लगानी गरेको यो क्षेत्रलाई अव्यवस्थित र अमर्यादित भन्न पाइँदैन। सधैँ कन्सल्टेन्सीबाट ‘ठगियो’ भन्ने आवाज मात्र उठिरहन्छ। तर, हामी त शैक्षिक परामर्श व्यवसायी हौँ, हामी उद्योग होइनौँ, हाम्रो प्रोडक्ट केही छैन। हामी त विभिन्न देशका युनिभर्सिटी र कलेजहरूको विषयहरूलाई जनमानस र विद्यार्थीहरूलाई बुझाउने र सेल गर्ने मान्छे हौँ।”

    “डाक्टर र वकिल जस्तै शुल्क लिएका हौँ, हामीले कहाँ ठग्यौँ?”

    कन्सल्टेन्सीहरूले लिने सेवा शुल्कलाई डाक्टर र वकिलको पेसासँग तुलना गर्दै अध्यक्ष बरालले आक्रोशित मुद्रामा सम्बोधनलाई अगाडि बढाउनुभयो:

    “एउटा वकिलले बहस गरिरहँदाखेरि, त्यो मुद्दा हार्दा जित्दा उसको बहसको शुल्क लिन्छ। एउटा डाक्टरले औषधि उपचार गरिरहँदाखेरि, त्यो बिरामी मरोस् वा बाँचोस्, उसले आफ्नो पेसाको शुल्क लिन्छ भने, हाम्रो व्यवसाय पनि ठ्याक्कै त्यही हो। हामीले विद्यार्थीलाई यति लाख रुपैयाँ ल्याऊ म पठाइदिन्छु भनेर कहिल्यै ग्यारेन्टी गर्दैनौँ। हामीले त्यसमा केवल परामर्श दिए बापत २५ हजार र कतै कतै ठाउँमा सेवा शुल्कको रूपमा १ लाखसम्म लिने हाम्रो प्रावधान छ, त्यो आज सही छ।”

    विद्यार्थी विदेश गएपछि फेल हुँदा वा नियम उल्लंघन गर्दा कन्सल्टेन्सीलाई दोष दिइने प्रवृत्तिमाथि प्रश्न उठाउँदै उहाँले थप भन्नुभयो:

    “जसले त्यो देशमा जान्छ, पढ्न सक्दैन, फेल हुन्छ, त्यहाँको नियमलाई उल्लंघन गर्छ र विभिन्न विकृति र विसंगतिमा लाग्छ, नेपाल फर्केर आउँछ अनि भन्छ प्रहरीकहाँ— हजुर मलाई कन्सल्टेन्सीले ठग्यो। त्यो बेलामा त्यो विद्यार्थी पीडित हुन्छ कि पीडित त्यो कन्सल्टेन्सी हुन्छ? विद्यार्थीले ए क्याटेगोरीको बैंकबाट सिधै कलेजको खातामा पैसा पठाउँछ। अनि त्यो कन्सल्टेन्सीले कहाँ ठग्यो? कहाँ ठग्यो देखिँदैन।”

    “नगरपालिकाको डकुमेन्ट जायज हुने, हामी नाजायज कसरी?”

    कागजात प्रमाणीकरण गर्ने सरकारी निकाय चोखो हुने र व्यवसायी मात्र तारो बन्ने परिपाटीमाथि प्रश्न गर्दै हलमा उपस्थित सबैलाई सम्बोधन गर्दै उहाँले चुनौती दिनुभयो:

    “यो देशमा यस्तो सहज र सरल छ दोष लाउनलाई! एउटा नगरपालिकाले, गाउँपालिकाले वा महानगरपालिकाले नाता प्रमाणीकरण बनाउँछ, आम्दानी प्रमाणीकरण गर्दछ, प्रोपर्टी भ्यालुएसनको डकुमेन्टहरू बनाउँछ। त्यस्तो बेलामा ती डकुमेन्ट चाहिँ जायज हुने, त्यो अभिभावक र विद्यार्थी जायज हुने, तर हामी परामर्श दिने मान्छे चाहिँ नाजायज कसरी हुन सक्छौँ र हामीमाथि ठगीको आरोप किन लाग्छ? मिडियालाई साक्षी राखेर भन्छु, यो ‘ठगी’ भन्ने शब्द शैक्षिक परामर्शबाट सबभन्दा पहिला आज खारेज गरियोस्।”

    “व्यवसायी साथीहरू ढुक्क हुनुस्, ९ जनाको टास्कफोर्स तपाईँहरूको साथमा छ”

    विभिन्न जिल्लाहरूमा सिडिओ र प्रहरीको अनुगमनले त्रसित बनेका व्यवसायीहरूलाई सम्बोधन गर्दै अध्यक्ष बरालले तत्कालै ‘एक्सन टोली’ को घोषणा गरी ढाढस दिनुभयो:

    “म इक्यामको पूर्व अध्यक्षको नाताले र अहिले महासंघको अध्यक्षको नाताले भन्छु, धेरै साथीहरूले फोन गरेर यो अनुगमन त धेरै ठाउँमा चल्दै छ भन्नुभएको छ। केही साथीहरूको नवीकरण र शाखा सञ्चालनको डकुमेन्ट अपूरो होला, त्यसलाई पनि एकपटक यसो ध्यान दिएर हेरिदिन सरकारसँग आग्रह छ।”

    “यदि तपाईँहरूलाई कुनै समस्या छ भने, नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघको महासचिव लगायतका आठवटै संघका महासचिवहरूको एउटा ‘टास्कफोर्स’ बनाएका छौँ। तात्कालिक तपाईँहरूको समस्यालाई त्यो ९ जनाको समूहले तुरुन्तै क्यारी गर्छ र हामी सम्बन्धित निकायमा नेपाल प्रहरीसँग, गृह मन्त्रालयसँग, शिक्षा मन्त्रालयसँग कहाँ आवश्यक पर्छ, तुरुन्तै त्यो कुराहरूको समस्या समाधान गर्नलाई अगाडि बढ्नेछौँ। तपाईँहरू कन्फ्युजनमा हुनुपर्ने अवस्था छैन।”

    “हामी त आफ्नै हातमा जंजीर बाँधेर हिँडेका आदर्श संस्था हौँ”

    आफ्नो सम्बोधनको अन्त्यमा अध्यक्ष बरालले गृह र शिक्षा मन्त्रालयका अधिकारीहरूले कन्सल्टेन्सीहरूको वास्तविक मर्म बुझ्न थालेकोमा खुसी व्यक्त गर्दै भावुक बन्नुभयो:

    “साँच्चै यो शैक्षिक परामर्श व्यवसायी त आफ्नो हातमा जंजीर बाँधेर, आफ्नै तर्फबाट कानुन ल्याऊ भनेर, एउटा आदर्श आचारसंहिता बनाएर अघि बढेको संस्था रहेछ। यो संस्था अन्तर्गत रहेका हजारौँ व्यवसायीहरू चाहिँ इमानदार रहेछन् है, यिनलाई टच गर्नु पर्दैन भन्ने हाम्रो आवाज अब पक्कै पनि गृहमन्त्री तथा प्रधानमन्त्रीको कानसम्म पुग्नेछ। सही र लामो समय जवानी र लगानी लगाएर आएका यी व्यवसायहरूको सम्मानमा आँच आउन दिइने छैन।”


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij