• बिहिबार, १ असोज २०८३
  • प्रशासनिक सुदृढीकरणको ठुलो कदम: बालेन सरकारद्वारा १५९४ राजनीतिक नियुक्ति खारेज

    प्रशासनिक सुदृढीकरणको ठुलो कदम: बालेन सरकारद्वारा १५९४ राजनीतिक नियुक्ति खारेज

    सबलनेपाल संवाददाता
    बैशाख १९ २०८३, शनिबार

    काठमाडौँ |प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले एकैपटक १ हजार ५ सय ९४ जना राजनीतिक नियुक्तिका पदाधिकारीहरूलाई पदमुक्त गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत नियुक्त भएका यी पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त भएका हुन्।

    सरकारको यो कदमले विश्वविद्यालय, स्वास्थ्य प्रतिष्ठान, सञ्चार गृह र वित्तीय क्षेत्रका महत्वपूर्ण निकायहरूमा ठुलो रिक्तता सिर्जना गरेको छ। सरकारले अब यी रिक्त पदहरूमा नयाँ नियुक्ति प्रक्रिया चाँडै अगाडि बढाउने तयारी गरेको छ।

    शिक्षा र विश्वविद्यालय क्षेत्रमा सबैभन्दा ठुलो प्रभाव

    यो निर्णयबाट शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति र सेवा आयोगका पदाधिकारीसहित ८४ जना, पूर्वाञ्चल विश्वविद्यालयका ६९ जना, पोखरा विश्वविद्यालयका ५० जना र लुम्बिनी बौद्ध विश्वविद्यालयका ४४ जना पदाधिकारी पदमुक्त भएका छन्।

    यस्तै, काठमाडौँ विश्वविद्यालय (२५ जना), राजर्षि जनक विश्वविद्यालय (३९ जना), र सुदूरपश्चिम विश्वविद्यालय (२७ जना) लगायतका उच्च शैक्षिक निकायहरू पनि नेतृत्वविहीन भएका छन्। शिक्षा ऐन अन्तर्गतका विभिन्न समिति र शिक्षक सेवा आयोगका २३ जनाको पद पनि यसै अध्यादेशका कारण रिक्त भएको छ।

    स्वास्थ्य र विज्ञान क्षेत्रको ‘क्लिन स्वीप’

    स्वास्थ्य क्षेत्रमा पनि व्यापक हेरफेर गरिएको छ। विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयका ४२ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३४ जना र पोखरा तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३१-३१ जना पदाधिकारीहरू पदमुक्त भएका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीहरूको पद पनि रिक्त गरिएको छ।

    सञ्चार, नागरिक उड्डयन र सूचना प्रविधि

    सञ्चार र यातायात क्षेत्रमा नेपाल वायुसेवा निगमका सात पदाधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका चार सदस्य र नेपाल दूरसञ्चार प्राधिकरणका पाँच पदाधिकारी पदमुक्त भएका छन्। यस्तै, सार्वजनिक सेवा प्रसारण ऐन अन्तर्गतका १५ जना, प्रेस काउन्सिलका १० जना र राष्ट्रिय समाचार समिति (रासस) तथा गोरखापत्र संस्थानका पदाधिकारीहरूलाई पनि हटाइएको छ।

    वित्तीय, ऊर्जा र पूर्वाधार निकायहरू

    आर्थिक र नियमनकारी निकायहरूतर्फ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसहित ६ जना, कर्मचारी सञ्चय कोषका ८ जना र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका १५ जना पदाधिकारी पदमुक्त भएका छन्। नेपाल रेल्वे, धितोपत्र बोर्ड (SEBON), सहकारी विभाग र बीमा प्राधिकरण जस्ता निकायहरूमा पनि नयाँ नियुक्ति गरिने भएको छ।

    प्रज्ञा प्रतिष्ठान र सामाजिक क्षेत्र

    सांस्कृतिक र सामाजिक क्षेत्रमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का ४९ जना, नेपाल प्रज्ञा प्रतिष्ठानका ४३ जना र आदिवासी जनजाति परिषद्का ६० जना मनोनीत सदस्यहरू पदमुक्त भएका छन्। नेपाल स्काउट, पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोषमा पनि पदाधिकारीहरूको पद रिक्त भएको छ।

    यो व्यापक पदमुक्तिसँगै बालेन सरकारले राज्यका संयन्त्रहरूमा दलीय भागबन्डाको अन्त्य गरी ‘मेरिटोक्रेसी’ (योग्यता प्रणाली) लागू गर्ने संकेत दिएको छ।



    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij