• बिहिबार, १ असोज २०८३
  • इक्यानको २०औँ वार्षिक साधारण सभा पुस २८ गते, सबै सदस्यलाई सहभागी हुन अध्यक्ष भट्टराईको आग्रह

    इक्यानको २०औँ वार्षिक साधारण सभा पुस २८ गते, सबै सदस्यलाई सहभागी हुन अध्यक्ष भट्टराईको आग्रह

    सबलनेपाल संवाददाता
    पुष १५ २०८२, मंगलबार

    नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को २०औँ वार्षिक साधारण सभा पुस २८ गते काठमाडौँमा आयोजना हुने भएको छ। इक्यानका महासचिव दिपक राज भुसालद्वारा जारी सूचनाअनुसार साधारण सभा पुस २८ गते सोमबार ८ बजेबाट सुरु हुने सूचनामा उल्लेख छ।

    साधारण सभामा महासचिवबाट वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्षबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको छ। साथै, आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन अनुमोदन, आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि लेखापरीक्षक नियुक्ति तथा केन्द्रीय कार्यसमिति चयनसम्बन्धी विषयमा समेत छलफल हुने सूचनामा उल्लेख छ।

    इक्यानका अध्यक्ष शेषराज भट्टराईले साधारण सभा संघको सर्वोच्च निकाय भएको उल्लेख गर्दै सबै सदस्यहरूलाई अनिवार्य रूपमा सहभागी हुन आग्रह गरेका छन्। अध्यक्ष भट्टराईका अनुसार साधारण सभा केवल औपचारिक कार्यक्रम मात्र नभई संघको भावी दिशा, नीति र नेतृत्वबारे सामूहिक छलफल हुने महत्वपूर्ण अवसर हो।
    “संघलाई अझ सशक्त, व्यवस्थित र विश्वसनीय बनाउने जिम्मेवारी हामी सबै सदस्यहरूको साझा दायित्व हो,” अध्यक्ष भट्टराईले भने, “त्यसैले सबै सदस्यहरू समयमै उपस्थित भई साधारण सभामा सक्रिय सहभागिता जनाउनुहुनेछ भन्ने अपेक्षा गरेका छौँ।”
    सूचनाअनुसार २०८१/०८२ को लागि इक्यानको सदस्यता नवीकरण गरेका सदस्यहरूले मात्र साधारण सभामा सहभागिता जनाउन पाउनेछन्। साधारण सभामा सहभागी हुन आवश्यक कागजातसहित समयमै उपस्थित हुन संघले सबै सदस्यलाई अनुरोध गरेको छ।
    इक्यानले शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यसहित नियमित रूपमा साधारण सभा आयोजना गर्दै आएको छ। यस वर्षको साधारण सभा आगामी नेतृत्व चयन र संगठनात्मक निर्णयका दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij