• बिहिबार, १ असोज २०८३
  • १६औँ ईक्यान मल्टिडेस्टिनेशन शिक्षा मेला उत्साहपूर्वक सम्पन्न

    १६औँ ईक्यान मल्टिडेस्टिनेशन शिक्षा मेला उत्साहपूर्वक सम्पन्न

    सबलनेपाल संवाददाता
    मंसिर २२ २०८२, सोमबार

    काठमाडौ- ईक्यान (ECAN) द्वारा आयोजना गरिएको १६औँ ईक्यान मल्टिडेस्टिनेशन एजुकेशन फेयर २०२५ आज नयाँ बानेश्वरस्थित दि एभरेस्ट होटलमा सम्पन्न भएको छ। नेपाल तथा विदेशमा उच्च शिक्षा सम्बन्धी प्रत्यक्ष जानकारी दिने उद्देश्यले आयोजना गरिएको मेलामा ठूलो संख्यामा विद्यार्थी तथा अभिभावकको सहभागिता देखिएको आयोजकले जनाएको छ।

    कार्यक्रमको उद्घाटन ईक्यानका अध्यक्ष शेषराज भट्टराईले गरेका थिए। उद्घाटन कार्यक्रममा उहाँले यस्ता शैक्षिक मेलाले विद्यार्थीहरूलाई प्रत्यक्षरूपमा विश्वविद्यालय र शैक्षिक अवसरसँग जोड्ने महत्वपूर्ण भूमिका खेल्ने बताए।
    उनले भने, “इन्टरनेटमा उपलब्ध जानकारी सीमित र अनेकौं भ्रमयुक्त हुन सक्छ। तर यस्ता कार्यक्रमले विद्यार्थीलाई शैक्षिक विकल्पबारे सुस्पष्ट र विश्वसनीय जानकारी प्राप्त गर्न सहज बनाउँछ।”

    कार्यक्रम संयोजक तथा ईक्यानकी उपाध्यक्ष गीताञ्जली शिवाकोटीले पनि मेलाले ल्याएको प्रभावबारे उल्लेख गर्दै सहभागी सबै पक्षप्रति धन्यवाद व्यक्त गरिन्। उनले भनिन्, “विभिन्न देशका विश्वविद्यालय प्रतिनिधिलाई एकै ठाउँमा उपस्थित गराई विद्यार्थीलाई प्रत्यक्षरूपमा मार्गदर्शन दिन पाउनु नै यस मेलाको प्रमुख उपलब्धि हो। आजको सहभागिताले यसको आवश्यकता र प्रभावकारिता दुवै पुष्टि गरेको छ।”

    मेलामा नेपाल, भारत, युके, यूएसए, अस्ट्रेलिया, क्यानडा र युरोपका विश्वविद्यालय तथा कलेजहरू सहभागी थिए। सहभागी विद्यार्थीले विषय छनोट, आवेदन प्रक्रिया, छात्रवृत्ति, भिसा मार्गदर्शन तथा पोस्टस्टडी अवसरबारे परामर्श लिएका थिए।

    कार्यक्रम अवलोकन गर्न आएका विद्यार्थीहरू मेलाबाट सन्तुष्ट देखिन्थे। एक विद्यार्थीले प्रतिक्रिया दिँदै भने,
    “इन्टरनेटमा थोरै थोरै जानकारी भेटिने भए पनि यहाँ भने युनिभर्सिटी प्रतिनिधिसँग प्रत्यक्ष कुरा गर्दा धेरै कुरा प्रष्ट भयो।”
    अवलोकन गर्न आएका अर्का विद्यार्थीले भने, “विभिन्न देश र विषयका विकल्प एकै ठाउँमा भेटिनु निकै उपयोगी रह्यो। भविष्यका लागि निर्णय लिन सजिलो भयो।”आयोजकका अनुसार विद्यार्थीको उच्च सहभागिता तथा विश्वविद्यालयहरूको सक्रियताका कारण यस वर्षको मेला अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij