काठमाडाैं – न त ठूलो लगानी थियो, न त व्यापारिक अनुभव। थिए त केवल आस्था, आत्मबल र परिवारप्रतिको जिम्मेवारी। अनि एक सानो सपना — जुन उनलाई आफ्नो बच्चाको आवश्यकताबाट जन्मिएको थियो। इटहरीकी प्रज्ञा उप्रेतीले केवल १० हजार रुपैयाँको लगानीबाट सुरु गरेको व्यवसाय आज देशभर चिनिएको ‘Managya Outfit’ को नाममा फैलिएको छ।
धादिङको नौबिसेमा जन्मिएकी प्रज्ञा साधारण कृषक परिवारमा हुर्किएकी हुन्। चार दिदीबहिनी र एक दाजुसहितको परिवारमा उनले खेतबारी, बगैंचाका काम, र पढाइसँगै सामान्य ग्रामीण जीवन बिताइन्। बाल्यकालदेखि नै फरक सोच्ने स्वभाव भएकी उनी साना व्यवसायिक गतिविधिहरूमा रमाउन खोज्थिन् — कहिले घरको तरकारी बेच्ने, कहिले दूध लिएर बजार जाने, कहिले घरमै उत्पादन भएको सामग्री लिएर सानो व्यापार चलाउने। त्यो बेला उनलाई व्यापार के हो भन्ने खासै थाहा थिएन, तर भित्र कतै ‘आफैं केही गर्ने’ हुटहुटी थियो।

पढाइमा उनी ANM विषयमा लागिन् र १९ वर्षको उमेरमा काठमाडौंको एक निजी अस्पतालमा काम गर्न थालिन्। त्यही बेला जीवनमा विवाह र मातृत्वको सुरुवात भयो। एकातिर जागिर, अर्कातिर सन्तानको हेरचाह, अनि त्यसमाथि कोरोना महामारी। श्रीमान् विदेशबाट फर्किनुपर्यो, जागिरको तलबले मात्र घर चलाउन मुस्किल पर्न थाल्यो। त्यो कठिन समयमा प्रज्ञाले हिम्मत गरिन् — आफ्नो बच्चाको लागि केही गर्नुपर्छ भन्ने दृढ निश्चयले उनलाई नयाँ बाटोतर्फ धकेल्यो।
उनले बच्चाका लागि लुगा बेच्ने सोच बनाई टिकटकमा एक सानो प्रयास सुरु गरिन्। तर सुरुमा खासै चासो देखिएन। त्यही क्षण उनले निर्णय गरिन् — “अरूले नबेचेको सामान बेच्ने हो”। त्यसपछि उनले बेडशीट, पर्दा, डेकोर सामग्री जस्ता उत्पादनमा ध्यान दिन थालिन्। पहिलो भिडियो नै भाइरल भयो। घरको एक कुनामा थोक बजारबाट किनिएको १०–१२ वटा बेडशीटसहित सुरु भएको यो व्यवसाय विस्तार हुँदै गयो।

तर त्यो यात्रा सजिलो थिएन। कहिले सामान ढिलो आइपुग्थे, कहिले अर्डर आएको भए पनि स्टक पुग्दैनथ्यो। कतिपयले त उनको उत्पादनमाथि शंका गर्थे — “यत्रो सस्तोमा यस्तो राम्रो सामान कसरी हुन्छ?” कतिले त पैसा दिने बेलामा सामान हेरेर मात्र तिर्छु भन्दै विश्वास देखाउँदैनथे। यस्तै वेलामा एकजना सप्लायरले उनलाई ठूलो साथ दिए — “तिमीलाई कपडा दिन्छु, आफैं सिलाऊ, बिक्री भएपछि तिर्नू।” त्यसपछि उनले व्यवसायलाई झन व्यवस्थित ढंगले अघि बढाइन्।‘Managya Outfit’ को नाम आफ्नै छोरीको नामबाट राखिएको हो — “Managya”। प्रज्ञाका अनुसार, छोरी जन्मेपछि उनको जीवनमा साँचो परिवर्तन आयो। जहाँ पहिला एक छाक खान गाह्रो थियो, आज त्यही परिवार आफ्नै आम्दानीबाट आत्मनिर्भर जीवन बिताइरहेको छ।
व्यवसाय बढ्दै गएपछि उनले हेटौंडामा शाखा स्थापना गरिन्। काठमाडौंमा भने आफ्नै डिलर नेटवर्कमार्फत अनलाइन अर्डर अनुसार सामान डेलिभरी हुन्छ। नेपालका विभिन्न ठाउँबाट अर्डर आइरहँदा उनलाई समयमै डेलिभरी गर्न सजिलो होस् भनेर उनले एउटा सानो गाडी पनि किनेकी छन्। त्यसले सामान ओसारपसार मात्र होइन, व्यवसायको स्थायीत्वका लागि लगानीको रूपमा काम गरिरहेको छ।

उनको व्यवसायले अहिले मासिक २ देखि ३ लाख रुपैयाँसम्मको आम्दानी गर्छ, त्यो पनि मौसम र चाडपर्वको समय अनुसार। दशैं, तिहार, तीज, अनि गर्मीको मौसममा बेडशीट र डेकोर सामग्रीको बिक्री उल्लेखनीय रूपमा बढ्छ। उनले मूल्य निर्धारण गर्दा सधैं गुणस्तर अनुसारको रेजनेबल रेट राख्ने प्रयास गर्छिन्, जसले गर्दा ग्राहक सन्तुष्ट हुने गर्दछन्। बजार मूल्यभन्दा कम भए पनि गुणस्तरमा कहिल्यै सम्झौता गर्दिनन्।
आफ्नो व्यवसायलाई अझ मजबुत बनाउने लक्ष्यका साथ उनले एउटा टुक्रा गडेरी पनि किनिसकेकी छन्। भविष्यमा आफ्नै गार्मेन्ट उत्पादन सुरु गर्ने सपना छ उनको। प्रज्ञा चाहन्छिन् — ‘Managya Outfit’ केवल एक ब्रान्ड नभई, घरेलु उद्योगमा महिला सशक्तिकरणको प्रतीक बनोस्। उनी चाहन्छिन्, ‘Managya’ को बेडशीट नेपालका हरेक कुनाका स्टोरमा सजिलै पाइयोस्।
प्रज्ञाको यात्राले देखाउँछ — एउटा महिलाले चाह्यो भने केही पनि असम्भव छैन। व्यापार, घर, बच्चा, सबै जिम्मेवारी सम्हाल्दै अघि बढ्न सकिन्छ, यदि साथमा हिम्मत, धैर्य, र साथ दिने परिवार छ भने। श्रीमान्को साथ उनको सफलतामा एक महत्वपूर्ण आधार बन्यो — जब उनले भने, “तिमी व्यवसायमा ध्यान देऊ, बाँकी सबै म सम्हाल्छु,” त्यो वाक्यले प्रज्ञालाई उचाइमा पुर्याउने ढोका खोलेको हो।

प्रज्ञा उप्रेती आज केवल सफल महिला उद्यमी होइनन् — उनी प्रेरणा हुन्। उनी हरेक आमालाई सम्झाइरहेकी छन्, “व्यवसाय सुरु गर्न ठूलो लगानी चाहिँदैन, आत्मबल र इमानदार प्रयास भए पुग्छ।” सानो कोठाबाट सुरु भएको यो सपना आज सयौं ग्राहकको मन जित्न सफल भएको छ। उनले केवल बेडशीट बेचेकी होइनन्, नेपाली महिलाले पनि आत्मनिर्भर बन्न सक्छन् भन्ने देखाएकी छिन्। यही हो, उनीभित्रको वास्तविक शक्ति — जुन शब्दले भन्दा कर्मले बोलेको छ।
प्रज्ञा उप्रेतीको कथा एउटा ब्रान्ड निर्माणको मात्रै होइन, एक महिलाको आत्मबल, साहस र समर्पणको गहिरो दस्तावेज हो। उनले देखाइन् कि परिस्थितिले जति गाह्रो बनाए पनि, मनभित्रको अठोट बलियो भयो भने महिला केवल घर सम्हाल्ने हैन, संसार चलाउने पनि बन्न सक्छ। आज उनले सिर्जना गरेको ‘Managya Outfit’ सफलताको परिचायक बनेको छ, तर त्यो भन्दा ठूलो सफलता त त्यो आत्मविश्वास हो जुन उनले आफ्ना शब्दहरूमा बाँडिरहेकी छन्— “सुरु गर्न ठूला सपना होइन, एउटा सानो आँट चाहिन्छ — र त्यो आँट महिलाको भित्रमा पहिलेभन्दा अझ धेरै गहिरो भएर बसिरहेको छ।”

उनको यात्रा अब केवल उनको रहँदैन, यो हरेक महिलाका लागि एउटा सन्देश बन्छ “तपाईं पनि सक्नुहुन्छ। सुरु त गर्नुहोस्।”
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग