• बिहिबार, २२ असोज २०८३
  • ताप्लेजुङमा १९ अर्बको लगानीमा १६६ मेगावाटको सुपर तमोर जलविद्युत आयोजना बन्ने

    ताप्लेजुङमा १९ अर्बको लगानीमा १६६ मेगावाटको सुपर तमोर जलविद्युत आयोजना बन्ने

    सबलनेपाल संवाददाता
    जेष्ठ २१ २०८३, बिहिबार

    काठमाडौं । ताप्लेजुङको तमोर नदीमा निर्माण हुन लागेको १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत जुटेको छ। आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा.लि. र ग्लोबल आइएमई बैंकको अगुवाइमा रहेका ६ वटा वाणिज्य बैंकहरूबीच १९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। कुल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको यस आयोजनामा बैंकहरूले ७५ प्रतिशत लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत रकम संस्थापक तथा अन्य लगानीकर्ताहरूबाट जुटाइनेछ।

    ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा भएको सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दिप चन्द्र रेग्मी र क्रिष्टल पावरका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्य लगायत सहअगुवाई तथा सहभागी बैंकका प्रतिनिधिहरूले हस्ताक्षर गर्नुभएको छ। कन्सोर्टियम (सहवित्तीयकरण) सम्झौता अनुसार अगुवा बैंक ग्लोबल आइएमईले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ र नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्नेछन्।

    ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकामा निर्माण हुने यो आयोजना निर्माण सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सम्झौतापश्चात् ग्लोबल आइएमई बैंकका सीईओ रेग्मीले आयोजना निर्धारित समयमै सम्पन्न भई राज्यको ऊर्जा उत्पादन क्षमता बढ्ने र विद्युत् निर्यात प्रवर्द्धनमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij