• आइतबार, ३१ साउन २०८३
  • म बोल्छु: मौनताभित्रको चिच्याहट”

    म बोल्छु: मौनताभित्रको चिच्याहट”

    दीपा रेग्मी
    मंसिर १४ २०८२, आइतबार

    काठमाडाैं- म बोल्छु: मौनताभित्रको चिच्याहट” १६ दिने महिला हिंसा विरुद्धको अभियान चलिरहेकै बेला, काठमाडौंमा मिडिया एड्भोकेसी ग्रुप (MAG) ले आयोजना गरेको ‘म बोल्छु’ कार्यक्रम केवल औपचारिक गोष्ठी थिएन। हलमा लगभग सयभन्दा बढी मानिसहरू भेला भए पनि मुख्य कुरा केवल संख्या थिएन; त्यहाँ उपस्थित हरेक व्यक्ति आफ्नै कथा बोकेर, आफ्नै पीडाका पाना खोल्दै बसेको अनुभव थियो। कार्यक्रमको लक्ष्य केवल संवाद मात्र थिएन । त्यो मौनताभित्र छिपेका डिजिटल, शारीरिक, मानसिक हिंसाका चोटहरू उजागर गर्ने, तिनीहरूलाई शब्दमा बदल्ने, र समाजलाई त्यो पीडामा प्रत्यक्ष सहभागी गराउने उद्देश्य थियो।
    कार्यक्रमको सहजीकरण संस्थाकी पूर्व अध्यक्ष बबिता बस्नेतले गरेकी थिइन्। 

     

    उनी केवल कार्यक्रम सञ्चालनमा थिइनिन्; हलभित्रको भावनात्मक माहोलको मार्गदर्शन गर्दै, सहभागीहरूलाई आफ्नो पीडा भन्न प्रोत्साहित गर्दै, डिजिटल हिंसाका विभिन्न रूप, जानेर नजानेर गरिने हिंसा, र त्यसका गहिरा असरहरू सबैलाई बुझाउने कार्य गरिरहेकी थिइन्। उनी बारम्बार बताइरहेकी थिइन् हिंसाको स्वरूप केवल स्पष्ट देखिने अपमान होइनन्; कतिपय हिंसा हामीले जानेरै गर्छौं, कतिपय नजानेरै, र ती सबैले हाम्रो व्यक्तिगत र सामाजिक जीवनमा गहिरो असर पार्छन्।

    उनी आफ्ना शब्दहरू मार्फत उपस्थित सबैलाई यो पनि सम्झाइरहेकी थिइन् कि मौनता केवल पीडितको सुरक्षा होइन, तर हिंसाको शक्ति बलियो बनाउने माध्यम बन्न सक्छ। हलमा उपस्थित प्रत्येक व्यक्तिले त्यही कुरा महसुस गर्दै, आफ्नै अनुभवको प्रतिबिम्बलाई अरूसँग साझा गर्न तयार भएको महशुस गर्न सकिन्थ्यो।

    सबैभन्दा पहिले आफ्नो कथा बटुलेर आइन सुहाना थापा ट्रान्सजेन्डर पहिचान बोकेर हिँड्दा समाजले कसरी समाजले निगरानीमा राख्न थाल्छ। शरीरलाई, आवाजलाई, अस्तित्व अस्तित्व माथि नै प्रहार गरी अपमान गरिन्छ ।यी कुरा उनले अत्यन्त शान्त तर धारिलो स्वरमा सुनाइन्। उनले केवल शारीरिक वा मानसिक मात्र होइन, डिजिटल स्पेसमा हुने निरन्तर हल्ला, तिरस्कार, उपहास र पहिचानमाथिको प्रहारले आफूजस्ता व्यक्तिहरूलाई कति थकित बनाउँछ भन्ने गहिरो पीडा बाँडिन्। “म यस ठाउँसम्म मुख नथुनेर, आफ्नै पहिचान, बोलेर, झगडेर आएका कारण आएको हुँ,” उनले भनिन्। उनका शब्दहरूले ‘मौन रहनु नै सुरक्षा हो’ भन्ने मिथक भत्काइदियो।

    त्यसपछि बोलिन् खिमा रिजाल। उनले सुरुवातमै भनिन् मैेले ठान्ने ‘साना कुराहरू’ नै कहिलेकाहीँ हिंसाका सबैभन्दा बलिया रूप बन्छन्। अनलाइनमा आउने ‘मलाई के नै भयो र’ भन्ने कमेन्टहरू, अनाहकले गरिएको आलोचना, उपहास, र सामाजिक सञ्जालमा ट्रोलिङ यी सबैले एक–एक गरेर आत्मसम्मान चिरेर लैजाने कथा उनले भोगाइका आधारमा सुनाइन्। शब्दहरू नमिठो हुँदा मनको शान्ति नै हराउने रहेछ, र उनी आफ्नै जीवनका ती क्षणहरू सुनाउँदा हल एकछिन निकै चुपचाप बस्यो।                 

     

    त्यसपछि मात्रै गायक प्रकाश सपुतले आफ्नो अनुभव सुनाए। उनले बोलेको क्षण हलको ऊर्जा नै बदलियो उनको कथा एउटा सार्वजनिक आक्रमणको कथा थियो। एउटा अभिव्यक्तिपछि सुरु भएको जातीय गाली गलौज, अपमानजनक टिप्पणी, चरित्रहत्या, अनि आफूभन्दा बढी परिवारमा परेको थिचोमिचो। “म संगीत बनाउँछु, तर कहिलेकाहीँ कमेन्ट हेर्दा मन बुझ्दैन। जसले गाली गर्छ उसलाई केही हुन्न, तर घरमा आमाबुबाले त्यसको भार बोक्नुपर्छ,” उनले भने। उनका शब्दहरूले हिंसा सार्वजनिक भए पनि पीडा निजी हुने यथार्थलाई चिरफार गरिदियो।

    त्यसपछि हलका फरक फरक कुनाबाट अन्य सहभागीहरू पनि उठ्दै गए। कसैले सम्बन्धभित्रै भोगेको नियन्त्रण र धम्कीको कुरा गरे, कसैले वर्षौंदेखि चलिरहेको मानसिक यातनाको। कसैले कार्यस्थानमा नदेखिने किसिमले हुने बहिष्कार र तिरस्कार सुनाए, कसैले सामाजिक सञ्जालमा बाँडिने झूट, अपवाह, र बदनाम गर्ने नियतबाहेकका पोस्टहरूले आफ्नो जीवन कसरी उथलपुथल बनाएको रहेछ भन्ने कुरा पोखिदिए। एउटै विषय सबै अनुभवमा थियो ।हिंसा देखिनेभन्दा धेरै भित्री हुन्छ, अनि बोल्न नपाएसम्म त्यो बढ्दै जान्छ।

    कार्यक्रममा उपस्थित वक्ताहरुले हिंसाको पाटोलाई अझ प्रस्ट्याउँदै बोले हिंसा केवल ‘खराब कमेन्ट’ मा सीमित हुँदैन। कसैको तस्बिर अनुमति बिना प्रयोग गर्नु, ट्रोलिङ, हानिकारक एडिट, डोक्सिङ, निजी कुराकानी लीक गर्नु, सानो गल्तीलाई सामूहिक आक्रमणमा बदलिदिनु, यी सबै डिजिटल हिंसाका गम्भीर रूप हुन्। उनले भने“डिजिटल स्पेस मानिसलाई तुरुन्तै र गहिरोसँग घाइते बनाउन सक्ने ठाउँ हो। त्यसैले हरेक पीडितले प्रमाण सुरक्षित राख्नुपर्छ, अनि बोल्नुपर्छ। नबोलेसम्म केही बदलिँदैन।”

    कार्यक्रमको समापन गर्दै संस्थाकी अध्यक्ष अनिता बिन्दुले सबै अनुभवहरूलाई एकै ठाउँमा जोडेर गम्भीर टिप्पणी राखिन्। उनले भनिन्, “डिजिटल हिंसा देखिँदैन तर गहिरोसँग चस्स घोछिन्छ। पीडा अनलाइन हुन्छ, तर घाउ भने मनभित्र नै बस्छ। त्यसैले अब नडराई, नलुकाई, सबैले आफ्नो तर्फबाट आवाज उठाउनुपर्छ।” उनका शब्दहरूले हलमा फैलिएको मौनतालाई फेरि एकपटक जागरुकतामा बदलिदिए। उनले थप भनिन् कि बोल्ने प्रत्येक आवाज परिवर्तनको एउटा सानो कदम मात्र होइन, आगामी पुस्ताका लागि सुरक्षित डिजिटल भविष्यको बीउ पनि हो।                                                                                     कार्यक्रमको अन्त्यतिर हल एकै थरी लागिरहेको थिएन त्यहाँ एक एक व्यक्तिले बोलेका पीडाका कथा मिलेर एउटा सामूहिक विश्वास बनेको थियो ।हिंसा लुकाएर होइन, बोल गरेर मात्र अन्त्यमा कमजोर पर्छ। ‘म बोल्छु’ आज त्यो विश्वासको आरम्भ बिन्दु जस्तै भैरहेको थियो। अन्त्यमा, कार्यक्रम हलबाट मानिसहरू उठेर निस्कँदा वातावरण पहिलेको जस्तो थिएन। एउटै छानामुनि सुनेका पीडा, देखेका आँसु र देखिएको हिम्मतले सबैलाई भित्रैसम्म छोइरहेको थियो। ‘म बोल्छु’ केवल केही घण्टाको गोष्ठी वर्षौंदेखि थिचिएर बसेका शब्दहरूको मुक्ति थियो। यसले देखायो कि हिंसाको स्वरूप जति बदलिन्छ, त्यति नै आवाज उठाउने आवश्यकता बढ्छ। डिजिटल होस् वा भौतिक, मनमा बस्ने चोट एउटै हुन्छ; तर पीडाले होइन, बोल्ने साहसले नै त्यसलाई हराउन सकिन्छ। उस दिन हलबाट निस्कँदा हरेक सहभागीको आँखामा एउटै दृढता झल्किएको थियो ।अब मौन बसिँदैन, अब आवाज थुन्न दिइँदैन, अब हिंसालाई देखाउने मात्र होइन, उसैलाई चुनौती दिने समय सुरु भइसकेको छ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij