काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग क्रिकेट रङ्गशाला निर्माण र ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलको छैटौँ संस्करणदेखि आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका घरेलु रङ्गशाला निर्माण गरी ‘होम एन्ड अवे’ प्रणालीमा लिग सञ्चालन गर्ने घोषणा गरेपछि मन्त्रालयले त्यसको कार्यान्वयनका लागि सरोकारवालासँग परामर्श थालेको हो।
छलफलमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कासहित आठवटै फ्रेन्चाइज टोलीका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो।
चौथो संस्करणदेखि नै ‘होम एन्ड अवे’ को अभ्यास
मन्त्री पोखरेलले एकैपटक आठवटै रङ्गशाला निर्माण गर्नुभन्दा यथार्थपरक योजना बनाएर चरणबद्ध रूपमा अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।
आगामी चौथो संस्करणदेखि दुईदेखि तीनवटा मैदानबाट ‘होम एन्ड अवे’ प्रणालीको अभ्यास सुरु गर्ने र पाँचौँ तथा छैटौँ संस्करणसम्म आठवटै क्लबका घरेलु मैदानमा खेल सञ्चालन गर्न सकिने विषयमा छलफल भएको छ।
रङ्गशाला निर्माणमा पीपीपी मोडललाई प्राथमिकता
सरकारले क्रिकेट पूर्वाधार निर्माणमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडललाई प्राथमिकता दिने भएको छ। क्लबहरूलाई दीर्घकालीन लिजमा जग्गा उपलब्ध गराएर निर्माणको जिम्मेवारी दिने विकल्पमा समेत छलफल भएको छ।
क्लबहरूको स्वामित्व र अपनत्व सुनिश्चित हुँदा रङ्गशाला निर्माणले गति लिने तथा समर्थकमाझ सकारात्मक सन्देश जाने मन्त्री पोखरेलको भनाइ थियो।
टियु, मूलपानी र चितवनलाई प्राथमिकतामा राख्न प्रस्ताव
बैठकमा क्यान सचिव पारस खड्काले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानीको विद्यमान विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन गरी कम लागतमा पूर्वाधार निर्माण गर्न सकिने प्रस्ताव राख्नुभयो।
उहाँले त्रिवि, मूलपानी र चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई छोटो समयभित्रै खेल सञ्चालन गर्न सकिने अवस्थामा पुर्याउन सकिने धारणा राख्नुभयो।
फ्रेन्चाइज प्रतिनिधिहरूले पनि आगामी सिजनका लागि तत्काल त्रिवि क्रिकेट मैदानको दर्शक क्षमता विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। मूलपानीमा बिहान र त्रिवि मैदानमा साँझ फ्लडलाइटमा खेल सञ्चालन गर्न सकिने व्यावहारिक विकल्पसमेत उहाँहरूले प्रस्तुत गर्नुभयो।
लागत र आम्दानी बाँडफाँटको स्पष्ट खाका बनाइने
अन्तर्राष्ट्रिय स्तरको प्रसारण, प्रोडक्सन तथा निर्णय पुनरवलोकन प्रणाली (डीआरएस) का कारण एउटै मैदानमा प्रतियोगिता सञ्चालन गर्दा पनि लागत उच्च रहेको विषय बैठकमा उठेको थियो।
‘होम एन्ड अवे’ प्रणालीमा जाँदा लागत साझेदारी र आम्दानी बाँडफाँटको स्पष्ट खाका बनाएर अगाडि बढ्ने समझदारी भएको छ।
वैदेशिक लगानी भित्र्याउन फ्रेन्चाइजहरूको आग्रह
फ्रेन्चाइज प्रतिनिधिहरूले सरकारले दीर्घकालीन र स्पष्ट नीतिगत व्यवस्था गरिदिए रङ्गशाला निर्माण तथा सञ्चालनमा निजी क्षेत्रबाट लगानी भित्र्याउन आफूहरू तयार रहेको बताउनुभयो।
उहाँहरूले खेलकुद पूर्वाधारमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन तथा प्रायोजनसम्बन्धी नीतिगत जटिलता हटाउन सरकारसँग आग्रह गर्नुभयो।
मन्त्री पोखरेलले रङ्गशाला निर्माणलाई व्यावसायिक दृष्टिकोणबाट समेत अगाडि बढाउनुपर्ने उल्लेख गर्दै एनपीएलका फ्रेन्चाइज क्लबसँगको सहकार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो।
उहाँले सरोकारवालाहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले थप उत्साह मिलेको उल्लेख गर्दै प्रधानमन्त्रीको घोषणाअनुरूप कार्यान्वयनको मोडालिटी तयार गरी छिट्टै काम सुरु गरिने बताउनुभयो।
प्रस्तावित योजना कार्यान्वयन भए नेपाली क्रिकेटको व्यावसायिक विकास, क्षेत्रीय स्तरमा खेलकुद पूर्वाधार विस्तार तथा स्थानीय समर्थकसँग फ्रेन्चाइज टोलीको सम्बन्ध थप मजबुत हुने अपेक्षा गर्न सकिन्छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
श्रम निरीक्षणमा ८८ प्रतिशत कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको खुलासा
-
खेलाउने तयारी, आठै फ्रेन्चाइजसँग खेलकुदमन्त्रीको छलफल
-
शब्द फेरिँदा अपराधी उम्किने बाटो नखुलोस् : सांसद आकृति अवस्थी
-
भारतको १ खर्ब ८४ अर्ब ऋण सुविधा आवश्यकताअनुसार उपयोग गरिने, भारुमै भुक्तानी गर्न सकिने
-
नेपालको पुनर्निर्माण र विकासका लागि भारतद्वारा २ खर्ब ४० अर्ब रुपैयाँ सहयोगको घोषणा
-
जनकपुरदेखि मुक्तिनाथसम्म घुम्न भारतीय नागरिकलाई प्रधानमन्त्री शाहको निम्तो
-
प्रधानमन्त्री बालेन्द्र शाह आज भारत प्रस्थान गर्दै : ३४ सदस्यीय छरितो टोली, ऊर्जा र कनेक्टिभिटी मुख्य एजेन्डा
-
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन
-
भोलिदेखि पृथ्वी राजमार्ग दैनिक ५ घण्टा बन्द हुने, यात्रा गर्नुअघि समय मिलाउन प्रशासनको आग्रह
-
महिलाको आर्थिक नेतृत्व प्रवर्द्धनमा जोड दिँदै ‘वेप्स फोरम २०२६’ सम्पन्न, ‘नेपाल जेन्डर स्मार्ट फाइनान्स ल्याब’ को शुभारम्भ