• शनिबार, ६ मंसिर २०८३
  • महिलाको आर्थिक नेतृत्व प्रवर्द्धनमा जोड दिँदै ‘वेप्स फोरम २०२६’ सम्पन्न, ‘नेपाल जेन्डर स्मार्ट फाइनान्स ल्याब’ को शुभारम्भ

    महिलाको आर्थिक नेतृत्व प्रवर्द्धनमा जोड दिँदै ‘वेप्स फोरम २०२६’ सम्पन्न, ‘नेपाल जेन्डर स्मार्ट फाइनान्स ल्याब’ को शुभारम्भ

    सबलनेपाल संवाददाता
    मंसिर ५ २०८३, शुक्रबार

    ललितपुर । नेपालमा महिलाको आर्थिक नेतृत्वलाई थप सुदृढ बनाउने र व्यावहारिक कार्ययोजना पहिचान गर्ने उद्देश्यका साथ ‘महिला सशक्तीकरण सिद्धान्त (वेप्स) फोरम २०२६’ बिहीबार ललितपुरमा सम्पन्न भएको छ।

    युएन वुमन नेपालद्वारा आयोजित तथा युरोपेली संघ–संयुक्त राष्ट्रसंघको संयुक्त कार्यक्रम ‘सशक्त महिला, समृद्ध नेपाल’, फिनल्याण्ड सरकार र अष्ट्रेलियन एडको सहयोगमा सम्पन्न फोरम ‘व्यवसाय, वित्त र प्रभाव’ (Business. Finance. Impact.) भन्ने मूल नारामा केन्द्रित थियो। कार्यक्रममा सरकारी उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, वित्तीय संस्था, प्रभावकारी लगानी कोष (इम्प्याक्ट फन्ड), विकास साझेदार तथा महिला उद्यमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    फोरमको मुख्य आकर्षणका रूपमा ‘नेपाल जेन्डर स्मार्ट फाइनान्स ल्याब’ को औपचारिक शुभारम्भ गरिएको छ। लैङ्गिक उत्तरदायी वित्तीय पहुँच र लगानी प्रवर्द्धन गर्दै महिला नेतृत्वका उद्यमहरूका लागि नयाँ अवसर विस्तार गर्ने लक्ष्यका साथ यो ल्याब सुरु गरिएको हो।

    सहभागिताबाट नेतृत्वतर्फको यात्रा
    कार्यक्रमको उद्घाटन गर्दै युएन वुमन नेपालकी देशीय प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज पाचेकोले अब महिलाको आर्थिक सहभागितामा मात्र सीमित नभई आर्थिक नेतृत्वतर्फ अघि बढ्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, “महिलाहरूले स्वामित्व लिन, निर्णय गर्न र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने वातावरण निर्माण हुनुपर्छ। यसका लागि महिलाहरूकै सहभागितामा वित्त, बजार, स्याहार तथा सार्वजनिक सेवामा पहुँच सुनिश्चित गर्ने समन्वित नीति र व्यावहारिक सहयोग आवश्यक छ।” अर्थतन्त्रले महिलाको सीपको उचित प्रतिफल दिन सकेको छ कि छैन भन्ने नै आजको मुख्य कसी भएको उनको भनाइ थियो।

    त्यस्तै, राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. पुकार मल्लले नेपाली अर्थतन्त्रलाई महिलाहरूले नै धानिरहेको उल्लेख गर्दै अबको कदम आर्थिक नेतृत्वतर्फ केन्द्रित हुनुपर्ने बताए। “सम्पत्तिमा स्वामित्व, नवप्रवर्तनको नेतृत्व, विश्वव्यापी मूल्य शृङ्खलामा पहुँच र संस्थागत नेतृत्वका लागि सरकार, व्यवसाय र समाजले नीति, वित्त, बजार र सार्वजनिक सेवालाई एकीकृत रूपमा अगाडि बढाउनुपर्छ,” उनले भने।

    प्रतिबद्धतालाई नतिजामा बदल्न आग्रह
    फोरमको समापन मन्तव्य राख्दै नेपालका लागि युरोपेली संघका राजदूत चार्ल्स ह्वाइट्लीले प्रतिबद्धताहरूलाई मापनयोग्य नतिजामा रूपान्तरण गर्न आग्रह गरे। महिलाको आर्थिक सशक्तीकरणका लागि सीप तालिम वा व्यवसाय सुरु गर्ने सहयोग मात्र पर्याप्त नहुने बताउँदै उनले भने, “वित्त र बजारमा पहुँच, प्रतिस्पर्धी उद्यमको विकास र मर्यादित रोजगारी तथा नेतृत्वमा पुग्न अनुकूल वातावरण आवश्यक छ। व्यावसायिक अभ्यासमा आएको परिवर्तन, लगानी र साझेदारीमार्फत यसको वास्तविक प्रगति मापन गरिनुपर्छ।”

    फोरममा नेपालको आर्थिक परिदृश्य, लैङ्गिक उत्तरदायी खरिद प्रक्रिया, निजी क्षेत्रको संलग्नता तथा राष्ट्रिय र क्षेत्रीय अनुभवहरूको आदानप्रदान गरिएको थियो। सहभागीहरूले महिला उद्यमीले भोग्दै आएका वित्तीय र बजार पहुँचका साझा अवरोधहरू पहिचान गर्दै तिनको समाधानका उपायहरूमाथि छलफल गरेका थिए।

    अन्तरक्रियात्मक कार्यशाला र ‘वेप्स कार्ययोजना’ (WEPs Action Agenda) को संयुक्त निर्माणसँगै फोरम सम्पन्न भएको छ। यसले महिलामैत्री, समावेशी, प्रतिस्पर्धी र उत्थानशील अर्थतन्त्र निर्माणमा सरकार, निजी क्षेत्र, वित्तीय संस्था र विकास साझेदारहरूको साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij