काठमाडौँ ।सामान्य रुघाखोकी लाग्दा वा पेटमा सामान्य गडबडी हुँदा समेत चिकित्सकको सल्लाहबिना हत्तपत्त एन्टिबायोटिक किनेर खाने बानी छ? यदि छ भने, आजै सचेत हुनुहोस्। जथाभाबी एन्टिबायोटिकको प्रयोगले भविष्यमा सामान्य सङ्क्रमणमा समेत औषधीले काम नगर्ने ‘विकराल अवस्था’ निम्त्याउने चेतावनी विज्ञ तथा सरकारी अधिकारीहरूले दिएका छन्।
विश्व एन्टिमाइक्रोबियल रेजिस्टेंस (एएमआर) सचेतना सप्ताह 2026 आयोजित ‘मिडिया अन्तरक्रिया कार्यक्रम’ मा सरोकारवाला निकायका प्रमुखहरूले प्रतिजैविक प्रतिरोध (एएमआर) विरुद्ध आजैबाट एकजुट हुन आह्वान गरेका हुन्।
‘एक स्वास्थ्य एक अभियान: प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा वक्ताहरूले मानव स्वास्थ्य, पशुपन्छी, कृषि र वातावरणबिचको अन्तरसम्बन्धलाई ‘एक स्वास्थ्य’ (One Health) अवधारणाबाट हेरेर साझा पहल गर्नुपर्नेमा जोड दिए।
‘वैज्ञानिक विषयलाई सरल भाषामा जनतासम्म पुर्याउनुस्’
कार्यक्रममा बोल्दै नेपालका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) की कार्यवाहक प्रतिनिधि डा. एलिसन गोकोटानोले एएमआरको चुनौती समाधान गर्नु स्वास्थ्यकर्मी र नीति निर्माताको मात्र जिम्मेवारी नभएको बताइन्। उनले भनिन्, “एएमआरको विषयलाई कसरी रिपोर्टिङ गरिन्छ भन्ने कुराले आम मानिसको बुझाइमा वास्तविक फरक पार्न सक्छ। पत्रकार र सञ्चारकर्मीहरूसँग जटिल वैज्ञानिक विषयलाई आम नागरिकका लागि सान्दर्भिक, बुझ्न सकिने र व्यवहारमा उतार्न सकिने सन्देशमा रूपान्तरण गर्ने अद्वितीय क्षमता हुन्छ।”
रुघाखोकी वा भाइरल सङ्क्रमणमा एन्टिबायोटिकले काम गर्छ र चिकित्सकको सल्लाहबिना औषधी खाँदा कुनै हानि हुँदैन भन्ने जस्ता गलत धारणा चिर्न मिडियाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने डा. गोकोटानोले उल्लेख गरिन्।
‘पशुपन्छीको दानामा एन्टिबायोटिक शून्य छ, तर मान्छेमा जथाभाबी प्रयोग बढ्यो’
पशु सेवा विभागका महानिर्देशक तथा फेडरल वान हेल्थ टेक्निकल कोअर्डिनेसन कमिटीका अध्यक्ष डा. उमेश दाहालले आजै काम नगरे भोलि भयावह अवस्था आउने तथ्याङ्कले देखाएको बताए। उनले भने, “सामान्य रुघाखोकी लाग्यो भने पनि हतपत गएर हामी अधिकांशले एन्टिबायोटिक प्रयोग गरिहाल्ने, अलि खोकी लाग्यो भने एजिथ्रोमाइसिन नै प्रयोग गर्ने अवस्था छ। भोलि छोड्ने हो भने निकै ठुलो भयावह अवस्था आउन सक्छ, त्यसैले ‘लेट्स वर्क नाउ’, आजैदेखि काम गरौँ भन्ने अभियानमा हामी लागेका छौँ।”
पशुपन्छीको दानामा एन्टिबायोटिक मिसाइन्छ भन्ने गलत बुझाइ रहेको स्पष्ट पार्दै डा. दाहालले थपे, “पशुपन्छीको दानामा एन्टिबायोटिक र ग्रोथ प्रमोटरको प्रयोगमा हामीले ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) अपनाएका छौँ। विगत ५–७ वर्षदेखि दानामा एन्टिबायोटिक प्रयोग शून्य छ। तर, रोग लाग्दा उपचारका लागि भने चिकित्सकको प्रेस्क्रिप्सनमा निश्चित समयसम्म प्रयोग गर्नुपर्ने हुन्छ।” रोग लाग्नै नदिन नेपालमै खोप उत्पादन गरी खोप अभियानलाई तीव्रता दिइएको समेत उनले जानकारी दिए।
‘भविष्यका लागि भन्दै घरमा औषधी थुपार्ने प्रवृत्ति रोकौँ’
औषधी व्यवस्था विभागका महानिर्देशक डा. भरत भट्टराईले विश्वव्यापी महामारीकै रूपमा फैलिन थालेको एएमआर नियन्त्रणका लागि औषधी उत्पादक, बिक्रेता, चिकित्सक र उपभोक्ता सबै आ-आफ्नो ठाउँबाट उत्तरदायी बन्नुपर्ने बताए।
उपभोक्ताको बानीप्रति इङ्गित गर्दै डा. भट्टराईले भने, “बिरामी मात्र होइन, सामान्य उपभोक्ताले पनि ‘भोलिको दिनमा मलाई यो समस्या हुन सक्ला’ भनेर पहिले नै औषधी किनेर स्टोरेज (भण्डारण) गरेर राख्ने प्रवृत्ति छ। फार्मेसी आउटलेटबाट हुने वितरण र सप्लाई चेनलाई व्यवस्थित गर्दै हामी सबै एकाउन्टेबल भएर अगाडि बढ्नुपर्ने अवस्था छ।”
डब्लूएचओ, एफएओ (FAO), स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, गामा (GAAMA) नेपाल च्याप्टर र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा विभिन्न प्राविधिक सत्रहरूमा छलफल भएको थियो।
कार्यक्रमको सुरुमा डब्लूएचओ नेपालको रोग रोकथाम तथा नियन्त्रण इकाईकी टिम लिड डा. केन्जा बेन्नानीले स्वागत मन्तव्य राखेकी थिइन्। त्यसपछि डब्लूएचओ नेपालकी नेशनल प्रोफेसनल अफिसर डा. पल्पसा कंसाकारले जनस्वास्थ्यमा एएमआरको बढ्दो चुनौती र सचेतनाका लागि सञ्चारको भूमिकाबारे प्रस्तुति दिएकी थिइन्।
यस्तै, एफएओका डा. सुरेन्द्र कार्कीले पशु स्वास्थ्य, कृषि र खाद्य सुरक्षामा एएमआरले पारेको असरबारे प्रकाश पारेका थिए भने स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका तर्फबाट एएमआर नियन्त्रणमा नेपालले गरिरहेका प्रयासहरू प्रस्तुत गरिएको थियो। गामा नेपाल च्याप्टरकी अध्यक्ष कल्पना आचार्यले एएमआरविरुद्ध लड्न मिडियाको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन्।
उत्कृष्ट पत्रकारहरूलाई ‘ग्लोबल एएमआर मिडिया अवार्ड’
सोही समारोहमा गामा नेपाल च्याप्टरको संयोजनमा एएमआरसम्बन्धी उत्कृष्ट समाचार लेख्ने पत्रकारहरूलाई ‘ग्लोबल एएमआर मिडिया अवार्ड, नेपाल च्याप्टर’ बाट सम्मानित गरियो।
‘एक्सिलेन्ट इन एएमआर रिपोर्टिङ अवार्ड’ बाट उकालो डटकमका सागर बुढाथोकी नगद १५ हजार रुपैयाँसहित पुरस्कृत भए। यस्तै, ‘स्पेसल मेन्सन अवार्ड’ बाट गोरखापत्र दैनिकका सरोज ढुङ्गेल, थाहाखबरकी सबिना खनाल, अनलाइनखबरकी मनिषा थापा, नेपालखबरकी प्रज्ञा तिमल्सिना र जुनु भट्टराई सम्मानित भए।
स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष भीष्म काफ्लेको अध्यक्षतामा सम्पन्न समापन सत्रमा एफएओ नेपालका कार्यवाहक प्रमुख अरुण जिसी, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका गुणस्तर मापन महाशाखा प्रमुख डा. रोशन न्यौपाने, सिनियर ड्रग एडमिनिस्ट्रेटर शिवानी खड्गी, जुरी सदस्य डा. सतिश देव, कृषि पत्रकार सङ्घका किरण आचार्य लगायत विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उपस्थिति रहेको थियो।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
प्रधानमन्त्री बालेन्द्र शाह आज भारत प्रस्थान गर्दै : ३४ सदस्यीय छरितो टोली, ऊर्जा र कनेक्टिभिटी मुख्य एजेन्डा
-
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन
-
भोलिदेखि पृथ्वी राजमार्ग दैनिक ५ घण्टा बन्द हुने, यात्रा गर्नुअघि समय मिलाउन प्रशासनको आग्रह
-
महिलाको आर्थिक नेतृत्व प्रवर्द्धनमा जोड दिँदै ‘वेप्स फोरम २०२६’ सम्पन्न, ‘नेपाल जेन्डर स्मार्ट फाइनान्स ल्याब’ को शुभारम्भ
-
कात्तिकमा ६५ हजार ८०८ नेपालीले लिए श्रम स्वीकृति, युएई र कतार प्रमुख गन्तव्य
-
एकै वर्षमा २० अर्बका नोट ‘धुल्याइयो’ : क्यूआरको जमानामा पनि बजारमा किन थुप्रिँदै छ ८ खर्बको नगद ?
-
सामान्य रुघाखोकीमा पनि एन्टिबायोटिक? ‘भोलि विकराल अवस्था आउन सक्छ, आजै रोकथाम गरौँ’
-
एनपीएल फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम र चितवनबिच निर्णायक भिडन्त
-
ठगी र विदेशी मुद्रा अपचलन प्रकरण: दुई पूर्व श्रममन्त्रीसहित ६ जना उच्च अधिकारी पक्राउ
-
पीएन क्याम्पसलाई स्वायत्त संस्था बनाउने कार्ययोजना अघि बढ्यो, आफैं उपाधि बाँड्न पाउने