• आइतबार, ३१ साउन २०८३
  • विदेशबाट फर्किने नेपालीलाई भन्सारमा ठुलो छुट: मोबाइल, ६५ इन्चसम्मको टिभी र औषधि ल्याउँदा महसुल नलाग्ने

    विदेशबाट फर्किने नेपालीलाई भन्सारमा ठुलो छुट: मोबाइल, ६५ इन्चसम्मको टिभी र औषधि ल्याउँदा महसुल नलाग्ने

    सबलनेपाल संवाददाता
    जेष्ठ २० २०८३, बुधबार

     

    काठमाडौँ ।सरकारले विदेशबाट नेपाल फर्कने नेपाली यात्रीहरूका लागि विभिन्न घरायसी तथा व्यक्तिगत सामानहरूमा भन्सार महसुल पूर्ण रूपमा छुट दिने व्यवस्था गरेको छ। विशेषगरी वैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरूलाई लक्षित गर्दै सरकारले मोबाइल, टेलिभिजन लगायतका सामग्रीको आयातमा नयाँ सहुलियत प्रदान गरेको हो।

    नयाँ व्यवस्था अनुसार वैदेशिक रोजगारमा गएर कम्तीमा ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफूले प्रयोग गरिरहेको फोनबाहेक थप एक थान नयाँ मोबाइल फोन महसुल नतिरी ल्याउन पाउनेछन्। यसअघि आफूले प्रयोग गर्ने एक थान ट्याब्लेट, ल्यापटप, डेस्कटप कम्प्युटर, घडी वा क्यामेरामा मात्रै यस्तो छुट उपलब्ध हुँदै आएको थियो।

    यसैगरी, वैदेशिक रोजगारीमा कम्तीमा १२ महिना काम गरेर फर्कने नेपाली नागरिकको लागि सरकारले विशेष प्याकेज घोषणा गरेको छ। यस्ता श्रमिकले एक पटकका लागि मात्र ६५ इन्च सम्मको टेलिभिजन ल्याउँदा कुनै पनि भन्सार महसुल तिर्नु पर्ने छैन।

    त्यस्तै, स्वास्थ्य र मानवीय संवेदनशीलतालाई ध्यानमा राख्दै विदेशमा औषधि उपचार गराएर फर्केका बिरामीले आफ्नो साथमा ल्याएका औषधि र शारीरिक रूपमा अशक्त व्यक्तिले सहाराको रूपमा प्रयोग गर्ने वस्तुहरूमा पनि पूर्ण महसुल छुट दिइएको छ। यात्रीहरूले आफ्नो साथमा ७ किलोग्रामसम्मको खाद्य परिकार समेत विना भन्सार ल्याउन सक्नेछन्।

    यदि कुनै यात्रुले तोकिएको परिमाणभन्दा बढी सामान ल्याएमा भन्सार कार्यालयका प्रमुखलाई विशेष अधिकार दिइएको छ। भन्सार प्रमुखले यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र विदेशमा बिताएको समयावधि हेरेर आवश्यकता अनुसार थप छुट दिन सक्ने व्यवस्था कार्यविधिमा उल्लेख छ।

    मदिरा र सुन ल्याउने नियम यथावत, मोबाइलको MDMS दर्ता अनिवार्य

    भन्सार विभागका अनुसार अन्य प्रचलित नियमहरू भने यथावत रहनेछन्। जसअनुसार यात्रुले आफ्नो साथमा १ लिटरसम्म मात्र मदिरा ल्याउन पाउनेछन्। सुनको हकमा महिलाले ५० ग्राम र पुरुषले २५ ग्रामसम्मका गहना महसुल विना ल्याउन पाउनेछन् भने काँचो सुन (ढिक्का) ल्याउन पूर्ण प्रतिबन्ध लगाइएको छ।

    यसैगरी विदेशबाट छुट सुविधामा ल्याइएका नयाँ मोबाइल फोनहरू नेपालमा चलाउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस (MDMS) प्रणालीमा दर्ता गर्नु अनिवार्य रहेको भन्सार कार्यालयले जनाएको छ। यात्रुले भन्सार बिन्दुमा पाउने प्रज्ञापनपत्र (Customs Declaration) का आधारमा उक्त फोन नि:शुल्क दर्ता गराउन सक्नेछन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij