• बुधबार, ३१ भाद्र २०८३
  • नाडा अटो शो २०२५ : उड्ने ट्याक्सी, नाच्ने रोबोट र चम्किला गाडीबीच नेपालले देख्यो भोलिको यात्रा

    नाडा अटो शो २०२५ : उड्ने ट्याक्सी, नाच्ने रोबोट र चम्किला गाडीबीच नेपालले देख्यो भोलिको यात्रा

    दीपा रेग्मी
    भाद्र ७ २०८२, शनिबार

    काठमाडौं ।काठमाडौंमा जारी नाडा अटो शो २०२५ले अटोमोबाइल प्रेमी र प्रविधि उत्साहीलाई भव्य अनुभव दिएको छ। हलभित्र प्रवेश गर्दा नै चम्किला नयाँ गाडीहरू, उड्ने ट्याक्सी र नाच्ने रोबोटले सबैको ध्यान तानेका थिए। युवापुस्ता, परिवार र व्यवसायिक दर्शक सबै उत्साहित हुँदै स्टलहरू अवलोकन गर्दै थिए, र यस्तो लाग्थ्यो—नेपालमा अटो उद्योग अब केवल गाडी बिक्रीको मेला मात्र नभई भविष्यसँग प्रत्यक्ष भेट्ने प्लेटफर्म बनेको छ।

    हिजो म नाडा अटो शो मा पुगेँ। काठमाडौँको काठमाडौँको भृकुटि मण्डप मा भएको यो भव्य प्रदर्शनी हलभित्र पस्याबित्तिकै चम्किला बत्ती, उच्च आवाजमा बजिरहेको संगीत र उत्साहित दर्शकको भीडले माहोल उत्सवमय बनाइदिएको थियो। एकातिर चम्किला नयाँ इलेक्ट्रिक गाडीहरू, अर्कोतिर रोबोटको नाच, अनि हलको बीचमा राखिएको उड्ने ट्याक्सी देख्दा लाग्यो—अब नेपालमा अटो शो केवल गाडी देखाउने मेलाभन्दा धेरै पर पुगेको रहेछ।

    सबैभन्दा ठूलो आकर्षण भनेको यसपटकको डीपल (Deepal) ईभीटीओएल (EVTOL) उड्ने ट्याक्सी थियो। विमान र कारबीचको मिश्रणझैं देखिने त्यो भविष्यको ट्याक्सी वरिपरि दर्शकको घेरा नै थियो। मान्छेहरू भिडियो बनाउँदै, फोटो खिच्दै र भविष्यमा नेपालमै यस्तो साधन कहिले चल्ला भन्ने कौतुक गर्दै थिए।

    त्यस्तै, एमएडब्ल्यू (MAW) समूहले ल्याएको युनिट्री (Unitree) जी१ ह्युमानोइड रोबोट र जी०१ चौपाया रोबोट हलमै नाच्दै, हिँड्दै सबैको ध्यान तानेका थिए। बच्चादेखि बुढाबुढीसम्म रोबोटसँग फोटो खिचाउन भेला भएका देख्दा लाग्थ्यो—अब अटो शो मोबिलिटी मात्र होइन, नयाँ प्रविधि देखाउने पनि प्लेटफर्म बनेको छ।

    चारपाङ्ग्रे गाडीको पाटो हेर्दा यसपटकको मेलामा सबभन्दा बढी विद्युतिय सवारी (इलेक्ट्रिक भेहिकल) नै चर्चामा रहे। डीपल (Deepal), अभातर (Avatr), डङफङ नम्मी (Dongfeng Nammi), सेरेस (Seres), टाटा (Tata), सुजुकी (Suzuki), टेस्ला (Tesla), एयोन (Aion), एक्सपेंग (Xpeng), बिवाइडी (BYD) जस्ता ब्रान्डहरूले आफ्ना नयाँ इलेक्ट्रिक मोडेल ल्याएका थिए। तीमध्ये बिवाइडी एट्टो २ (BYD Atto 2), सुजुकी ई–भिटारा (Suzuki eVitara), जिली ग्यालेक्सी ई५ (Geely Galaxy E5) र एक्सपेंग एक्स९ (Xpeng X9) वरिपरि विशेष भीड देखिन्थ्यो। युवापुस्ताले स्टीयरिङ समात्दै फोटो खिचिरहेका थिए भने केही भाग्यशालीले टेस्ट ड्राइभ पनि गरेका थिए।

    दुई पाङ्ग्रेमा हिरो (Hero), रोयल एनफिल्ड (Royal Enfield), यामाहा (Yamaha), जोनसन (Zonson) आदिका नयाँ मोडेलहरू देखाइएका थिए। हिरो एक्सपल्स २१० (Hero Xpulse 210) र हिरो जुम १६० (Hero Xoom 160) मा युवाको घचघच भीड थियो। पुराना बाइकप्रेमीहरू भने रोयल एनफिल्डतिर तानिएका थिए।

    व्यवसायिक प्रयोजनका गाडीमा न्यू गोनो (New Gonow), डिएफएसके (DFSK), डङफङ (Dongfeng), फोटन (Foton), सोकोन (Sokon), मोन्ट्रा (Montra) लगायतका कम्पनीहरूले भ्यान, मिनी ट्रक र हल्का पिकअपहरू देखाएका थिए। यता व्यवसायिक दर्शकहरू मूल्य, माइलेज र टिकाउपनबारे जिज्ञासा राख्दै कम्पनी प्रतिनिधिसँग सोधिरहेका थिए।

    अटो कम्पोनेन्ट र पार्ट्स स्टल पनि कम आकर्षक थिएनन्। मिशेलिन (Michelin), सिईएटी (CEAT), लिक्वी मोली (Liqui Moly), टोटल इनर्जिज (Total Energies), डकहम्स (Duckhams), टाटा ग्रीन (TATA Green) जस्ता ब्रान्डका टायर, ब्याट्री, इन्जिन तेल र पार्ट्स हेर्न आउनेहरूको घुइँचो लागेको थियो।

    त्यसैबीच, एउटा अलग अनुभूति दिने ठाउँ थियो विन्टेज कार पभिलियन (Vintage Car Pavilion)। त्यहाँ मोरिस माइनर (Morris Minor), भोक्सवागन बिट्ल (Volkswagen Beetle), मिनी कुपर (Mini Cooper), मर्सिडीज बेन्ज (Mercedes Benz), टोयोटा आरटी–४० (Toyota RT-40), माज्दा फेमिलिया (Mazda Familia), टोयोटा एमआर२ (Toyota MR2), भोक्सवागन बस (Volkswagen Bus) जस्ता गाडीहरू राखिएका थिए। पुराना पुस्ताले “यो त हाम्रो समयको हो” भन्दै सम्झिँदै हेर्दा नयाँ पुस्ता उत्सुकतापूर्वक मोबाइलमा फोटो खिच्दै थियो।

    यस भव्य अटो शोका स्पोन्सर र साझेदारहरू पनि उल्लेखनीय थिए। शीर्ष स्पोन्सर एमएडब्ल्यू समूह (MAW Group of Companies) रह्यो। सह–स्पोन्सरमा शिखर इन्सुरेन्स (Shikhar Insurance) र क्याम्पा कोला (Campa Cola) थिए। यस्तै याङ्गो (Yango) मोबिलिटी पार्टनर, खल्ती (Khalti) टिकटिङ पार्टनर, वर्ल्डलिङ्क (WorldLink) इन्टरनेट पार्टनर, सिसिटिभी नेपाल (CCTV Nepal) सुरक्षा पार्टनर, हिमालयन सेफ्टी सोलुसन (Himalayan Safety Solution) फायर सेफ्टी, किस्ट अस्पताल (Kist Hospital) हस्पिटालिटी पार्टनरको रूपमा सहभागी थिए।

    यति धेरै आकर्षणबीच केही कमजोरीहरू पनि झल्किएका थिए। पार्किङ व्यवस्थापन अलिकति अव्यवस्थित थियो, कतिपय दर्शकलाई गाडी राख्न समस्या भयो। भित्र भीड अत्यधिक हुँदा पिक आवरमा स्टलसम्म पुग्नै गाह्रो हुन्थ्यो। स्पष्ट सूचना प्रणालीको अभावले कुन स्टलमा के देख्न पाइन्छ भन्ने सजिलै थाहा पाइँदैनथ्यो।

    तर यी कमजोरीभन्दा ठूलो कुरा भनेको यो मेलाले दिएको सन्देश हो—नेपालको अटोमोबाइल उद्योग अब हरित प्रविधि, स्मार्ट प्रवृत्ति र भविष्यमुखी समाधानतर्फ अघि बढिरहेको छ। उड्ने ट्याक्सी, नाच्ने रोबोट, चम्किला इलेक्ट्रिक गाडी र पुराना विंटेज सवारी एउटै छानामुनि भेटिँदा लाग्यो नेपाल पनि अब प्रविधिको छेउमा उभिएको छ।

    भारतमा हुने अटो एक्स्पोमा पनि यस्तै भविष्यका साधनहरू प्रदर्शनीमा राखिन्छन् र ठूलो चर्चा हुन्छ। तर नेपालजस्तो सानो बजारमा यति धेरै अन्तर्राष्ट्रिय ब्रान्डहरूको उपस्थिति र नयाँ प्रविधि देखिनु आफैंमा ठूलो कुरा हो। यसले देखाउँछ नेपाली ग्राहकलाई अब केवल किफायती मात्र होइन, प्रविधि र टिकाउपन पनि चाहिएको छ। भारतमा प्रविधि र बजार विस्तार एकसाथ हुन्छ भने नेपालले पनि त्यही बाटो पछ्याउँदै आफ्ना सीमाभित्र भविष्यको झलक दिन थालेको छ।

    नाडा अटो शो २०२५ ले मलाई व्यक्तिगत रूपमा भर्खरै सुरु भएको नयाँ यात्राको संकेत दिएको छ। जहाँ सहरका बाटोमा अब इलेक्ट्रिक गाडीहरूको लहर बढ्नेछ, उड्ने ट्याक्सी र रोबोट अझै केही वर्ष टाढा होला तर सपना भने हिजो नै यहाँ देखाइयो। नेपालमा अटो शो अब केवल मेला होइन, भविष्यसँग प्रत्यक्ष संवाद गर्ने थलो भएको छ भन्ने महसुस गर्दै म बाहिर निस्किएँ।

    अन्त्यमा मेरो निष्कर्ष के रह्यो भने नेपालमा सवारी साधन केवल यातायातको साधन मात्र होइन, जीवनशैली र भविष्यको दिशानिर्देशक बन्न थालेको छ। नाडा अटो शो २०२५ ले यसैको स्पष्ट प्रमाण दिएको छ ।जहाँ प्रविधि, वातावरणमैत्री सोच र उपभोक्ताको चासो एकै ठाउँमा भेटिन्छ। उड्ने ट्याक्सी देखेर हर्षित हुने सपना होस् वा विंटेज गाडी देखेर इतिहास सम्झने भाव, सबै अनुभूति एउटै छानामुनि संगठित भयो। भारतजस्तै ठूलो बजारको प्रभाव नेपालमा प्रस्ट देखिन्छ, तर यसपटकको प्रदर्शनीले देखायो ।नेपाल आफैंले पनि अब प्रविधि र बजारको समिकरण खोज्दैछ। सुधारका केही थोरै पक्षलाई पन्छ्याएर हेर्दा, यो अटो शोले नेपाललाई दिगो यात्रातर्फ मोड्ने सन्देश दिएको छ, जसको प्रभाव केवल आजमा सीमित हुँदैन, भोलिको सडक र यात्रामा प्रत्यक्ष देखिनेछ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij