• शनिबार, २४ असोज २०८३
  • अन्तर्राष्ट्रिय ‘सेफ’ घनश्याम कँडेल : नेपाली खानालाई विश्वमै चिनाउने अभियानमा अग्रणी

    अन्तर्राष्ट्रिय ‘सेफ’ घनश्याम कँडेल : नेपाली खानालाई विश्वमै चिनाउने अभियानमा अग्रणी

    सबलनेपाल संवाददाता
    असार २ २०८२, सोमबार

    काठमाडौँ,  — बागलुङको काठेखोला गाउँबाट जन्मिएका अन्तर्राष्ट्रिय पाककला क्षेत्रमा स्थापित सेफ घनश्याम कँडेलले नेपाली खानालाई विश्वको विभिन्न मुलुकमा पहिचान दिलाउन उल्लेखनीय योगदान गरिरहेका छन्। जापानमा लामो समयसम्म सेफका रूपमा काम गरी अनुभव सङ्कलन गरेका उनले जापान, भारत, अमेरिका, क्यानडा लगायतका देशहरूमा नेपाली परिकारहरूको प्रचारप्रसार गर्दै विश्वव्यापी नेपाली खानाको ‘ब्राण्ड’ बनाउन सक्रियता देखाएका छन्।
    सेफ कँडेलले आधा दर्जनभन्दा बढी रेस्टुराँ जापानमा सञ्चालन गर्दै आफ्नो पाककलाको विशेष छाप छोडिसकेका छन्। नेपाली, जापानी, इन्डियन र थाई परिकारहरूलाई परम्परागत स्वाद र आधुनिक प्रस्तुतीकरणको फ्युजन शैलीमा प्रस्तुत गर्दै उनले नेपाली खानाको मौलिकता र सांस्कृतिक पहिचान जगेर्ना गर्ने काममा खप्पिस छन्।
    हालै उनले पाककलासम्बन्धी विश्वस्तरीय पुस्तक ‘टिमुर’ प्रकाशित गरेका छन् भने अर्को सहलेखन ‘भोजनलिपि कुकबुक’ पनि बजारमा आउन लागेको छ। यी पुस्तकहरूले नेपाली परिकार र पाककला सम्बन्धी ज्ञान विश्वसामु पुर्‍याउने ठूलो कडी सावित हुने देखिन्छ।
    सेफ कँडेल र सेफ दुर्गा खड्काको संयोजकत्वमा सञ्चालन भइरहेकै ‘भोजनलिपि स्वाद’ अभियानले देशका ३५ जिल्लाबाट नेपाली परिकार संकलन गरी त्यसलाई व्यावसायिक रूपमा प्रर्वद्धन गर्दै आएको छ। यस अभियानले मात्र नभई नेपालको सांस्कृतिक विविधतालाई पनि अन्तरराष्ट्रिय मञ्चमा स्थापित गर्न ठुलो भूमिका खेलेको छ।
    आगामी असार १५ गते काठमाडौंमा राष्ट्रिय धान दिवसको अवसरमा ‘भोजनलिपि स्वाद’को चौथो संस्करण आयोजना हुँदैछ। यस पटकको विशेषता धान, चामल र दुग्धजन्य पदार्थहरूबाट बनेका मौसमी र परम्परागत परिकारहरूलाई प्राथमिकता दिइने छ। मोही, मह, गाईको घ्यू, तोरीको तेल, नेपाली कफी लगायतका परिकारहरूले कार्यक्रममा विशिष्टता थप्नेछन्। अभियानका संयोजक देवीप्रसाद सापकोटाले यसले कृषिजन्य उत्पादनको समृद्धि र नेपाली संस्कृतिको संरक्षणमा ठूलो योगदान पुर्‍याउने बताए। सेफ कँडेलले नेपाली खानालाई केवल स्वादको रूपमा मात्र नभई नेपाली सांस्कृतिक र आध्यात्मिक पहिचानसँग जोडेर विश्वव्यापी बनाउन सकिने बताएका छन्। “आजको विश्वमा मानिसहरूले स्वादसँगै जीवनको अर्थ खोजिरहेका छन्। नेपाली खानाले यसलाई ‘औषधि’जस्तो अमूल्य उपहारको रूपमा दिन सक्छ,” उनले भने।
    नेपालका विभिन्न जिल्लाहरूबाट संकलित नेपाली परिकारलाई आधुनिक प्रविधि र व्यवसायिक शैलीमा प्रस्तुत गर्दै यो अभियानले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा नेपाली खानाको स्थान मजबुत बनाउने लक्ष्य राखेको छ। झापा, इलाम, पाँचथर, धनुषा, चितवन, कास्की, म्याग्दी, रोल्पा, जुम्लालगायत जिल्लाहरूमा सञ्चालन भइसकेको यो अभियान अब सातै प्रदेशका मुख्य शहरहरूमा विस्तार हुने तयारीमा छ।
    यस प्रकार, सेफ कँडेल नेतृत्वमा नेपाली खानालाई  विश्वभर स्थापित गर्नलाई लागिपरेका छन्।।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij