• बुधबार, १० मंसिर २०८३
  • श्रम निरीक्षणमा ८८ प्रतिशत कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको खुलासा

    श्रम निरीक्षणमा ८८ प्रतिशत कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको खुलासा

    २८ प्रतिष्ठानमा श्रम निरीक्षण, न्यूनतम पारिश्रमिकदेखि रोजगार सम्झौतासम्ममा समस्या

    सबलनेपाल संवाददाता
    मंसिर १० २०८३, बुधबार

    काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतका विभिन्न कार्यालयले गरेको श्रम निरीक्षणमा प्रतिष्ठानहरूले श्रम ऐनका प्रावधान पालना नगरेको पाइएको छ। निरीक्षणका क्रममा सामाजिक सुरक्षा कोषमा आबद्धता, न्यूनतम पारिश्रमिक, रोजगार सम्झौता, श्रम अडिट, अतिरिक्त कार्य समय र बिदासम्बन्धी व्यवस्थामा कमजोरी देखिएको हो।

    मन्त्रालयअन्तर्गतका श्रम तथा रोजगार कार्यालय पोखरा, नेपालगन्ज, बुटवल र धनुषा तथा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र काठमाडौंले मङ्सिर ८ गते २८ वटा प्रतिष्ठानमा श्रम निरीक्षण गरेका थिए।

    निरीक्षणका क्रममा २४ प्रतिष्ठानका ३०० कर्मचारीमध्ये २६५ जना अर्थात् करिब ८८ प्रतिशत कर्मचारी सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आबद्ध नभएको पाइएको छ।

    काठमाडौंका १२ प्रतिष्ठानका १७४ जना, पोखराका ६ प्रतिष्ठानका ४६ जना, बुटवलका चार प्रतिष्ठानका ३२ जना र नेपालगन्जका दुई होटलका १३ जना कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको भेटिएको हो।

    ७८ कर्मचारीसँग रोजगार सम्झौता छैन

    निरीक्षणका क्रममा १३ प्रतिष्ठानका ७८ कर्मचारीसँग रोजगार सम्झौता वा नियुक्तिपत्र नरहेको पाइएको छ। काठमाडौंका तीन प्रतिष्ठानका ११ जना, नेपालगन्जका १३ जना, बुटवलका आठ जना र पोखराका छ प्रतिष्ठानका ४६ जना कर्मचारीसँग रोजगार सम्झौता नरहेको भेटिएको हो।

    त्यस्तै, १० प्रतिष्ठानका ६७ कर्मचारीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको पाइएको छ। पोखराका छ प्रतिष्ठानका ४६ जना, नेपालगन्जका दुई होटलका १३ जना र बुटवलका दुई होटलका आठ जना कर्मचारीले न्यूनतम पारिश्रमिक नपाएको भेटिएको हो।

    अतिरिक्त कार्य समय र बिदामा पनि समस्या

    पोखराका छ प्रतिष्ठानमा अतिरिक्त कार्य समय (ओभरटाइम) र बिदासम्बन्धी व्यवस्था नियमानुसार नरहेको पाइएको छ। यसबाट ती प्रतिष्ठानमा कार्यरत ४६ कर्मचारी प्रभावित भएका छन्।

    त्यसैगरी, १६७ कर्मचारी कार्यरत १३ प्रतिष्ठानले श्रम अडिट पेस नगरेको पाइएको छ। काठमाडौंका तीन, पोखराका छ, नेपालगन्जका तीन र धनुषाको एक प्रतिष्ठानले श्रम अडिट पेस नगरेका हुन्।

    निरीक्षणका क्रममा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य (ओएसएच) नीति र कार्य समयसम्बन्धी अवस्थासमेत हेरिएको थियो।

    श्रम ऐन पालना गर्न निर्देशन

    निरीक्षण टोलीले सम्बन्धित प्रतिष्ठानहरूलाई श्रमिकसँग रोजगार सम्झौता गर्न, सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन र सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन निर्देशन दिएको छ।

    त्यसैगरी, श्रम ऐनअनुसार बिदा तथा अतिरिक्त समय काम गरेबापतको पारिश्रमिक उपलब्ध गराउन र माग गरिएका विवरण समयमै पेस गर्नसमेत निर्देशन दिइएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij