• आइतबार, ७ मंसिर २०८३
  • भोलिदेखि पृथ्वी राजमार्ग दैनिक ५ घण्टा बन्द हुने, यात्रा गर्नुअघि समय मिलाउन प्रशासनको आग्रह

    भोलिदेखि पृथ्वी राजमार्ग दैनिक ५ घण्टा बन्द हुने, यात्रा गर्नुअघि समय मिलाउन प्रशासनको आग्रह

    सबलनेपाल संवाददाता
    मंसिर ५ २०८३, शुक्रबार

    चितवन । पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा मुग्लिन सडक खण्डको घोप्टेभीर क्षेत्रमा भोलि (शनिबार) देखि दैनिक पाँच घण्टा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। सडक मर्मत तथा जोखिमयुक्त सुक्खा पहिरो व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि राजमार्ग बन्द गर्ने निर्णय गरेको हो।

    प्रशासनका अनुसार मंसिर ५ गते शनिबारदेखि हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहनेछ। घोप्टेभीर क्षेत्रमा निरन्तर सुक्खा पहिरो खस्दा यातायात अवरुद्ध हुनुका साथै मानवीय क्षतिसमेत हुन थालेपछि सम्भावित दुर्घटना टार्न यो कदम चालिएको हो। सडक बन्द गरिएको अवधिमा जोखिमयुक्त ढुङ्गा तथा माटो पन्छाउने र सडक मर्मतसम्भारको कामलाई तीव्रता दिइने प्रशासनले जनाएको छ।

    कहाँ रोकिनेछन् सवारीसाधन? सडक बन्द रहने समयमा ट्राफिक व्यवस्थापनका लागि सवारीसाधन रोकिने निश्चित स्थानहरू तोकिएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माका अनुसार:

    • पोखरातर्फबाट आउने सवारीसाधन: आँबुखैरेनीमा रोकिनेछन्।

    • नारायणगढ हुँदै आउने सवारीसाधन: जुगेडी र आँपटारी क्षेत्रमा रोकिनेछन्।

    • आवश्यकताअनुसार: केही सवारीसाधनलाई रमाइलो डाँडामा समेत रोक्ने व्यवस्था मिलाइनेछ।

    ट्राफिक प्रहरीका अनुसार मुग्लिन बजार क्षेत्रमा भने सवारीसाधन रोकिने छैन।

    सडक मर्मतको काम कति दिनसम्म चल्छ भन्ने यकिन भइनसकेकाले अर्को सूचना प्रकाशित नभएसम्म यो नियम लागू रहनेछ। प्रशासनले यात्रु तथा सवारी चालकहरूलाई असुविधाबाट बच्न तोकिएको समयलाई ध्यानमा राखी आफ्नो यात्राको तालिका मिलाउन अनुरोध गरेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij