• आइतबार, ७ मंसिर २०८३
  • व्यक्तिगत अपराधलाई लिएर समग्र शैक्षिक परामर्श क्षेत्रलाई बदनाम नगरियोस् : इक्यान

    व्यक्तिगत अपराधलाई लिएर समग्र शैक्षिक परामर्श क्षेत्रलाई बदनाम नगरियोस् : इक्यान

    सबलनेपाल संवाददाता
    कार्तिक १६ २०८३, आइतबार

    काठमाडौं ।
    नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले केही व्यक्ति वा संस्थाले गरेका गैरकानुनी कामलाई लिएर समग्र शैक्षिक परामर्श क्षेत्रलाई नै बदनाम गर्ने प्रयास भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । इक्यानले २०८१ वैशाख १४ गते एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

    पछिल्लो समय केही कन्सल्टेन्सी सञ्चालकहरुबाट ठगी, हुन्डी र मानव बेचबिखन जस्ता गम्भीर अपराध भएका समाचारहरु बाहिरिएपछि इक्यानले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । विज्ञप्तिमा कुनै एक व्यक्ति वा संस्थाले गरेको व्यक्तिगत अपराध वा गल्तीलाई लिएर राज्यलाई कर तिरी कानुनसम्मत रुपमा सञ्चालन भइरहेको समग्र शैक्षिक परामर्श व्यवसायलाई नै लाञ्छित गर्नु न्यायसंगत नहुने उल्लेख गरिएको छ ।

    इक्यानले ठगी, मानव तस्करी, वा आर्थिक हिनामिना जस्ता गैरकानुनी कार्यमा संलग्न जो कोहीलाई पनि तत्काल अनुसन्धान गरी कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ । त्यस्ता आपराधिक कार्यमा संलग्न व्यक्ति वा संस्थालाई इक्यानले कहिल्यै संरक्षण नगर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन राज्यलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

    यसका साथै, विद्यार्थी तथा अभिभावकलाई सचेत गराउँदै इक्यानले वैदेशिक अध्ययनमा जाँदा नेपाल सरकारबाट अनुमति प्राप्त गरेका र इक्यानको सदस्यता लिएका भरपर्दो संस्थाबाट मात्र परामर्श लिन आग्रह गरेको छ । कुनै पनि कन्सल्टेन्सीसँग आर्थिक कारोबार गर्दा अनिवार्य रुपमा बैंकिङ प्रणालीमार्फत मात्र गर्न र नगद लेनदेन नगर्न पनि सुझाइएको छ ।

    विगत लामो समयदेखि यस क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले एउटा छुट्टै ‘शैक्षिक परामर्श बोर्ड’ वा संयन्त्र गठन गर्नुपर्ने इक्यानले आफ्नो पुरानो मागलाई पुनः दोहोर्‍याएको छ । सरकारी स्तरबाटै छुट्टै संयन्त्र बनाएर नियमन गरिएमा यस क्षेत्रमा देखिएका विकृतिहरु नियन्त्रण हुने इक्यानको विश्वास छ ।

    अन्तमा, सञ्चारमाध्यमहरुलाई पनि समाचार सम्प्रेषण गर्दा सत्यतथ्य बुझेर मात्र सम्प्रेषण गर्न र समग्र व्यवसाय तथा व्यवसायीलाई निरुत्साहित गर्ने गरी समाचार नलेख्न इक्यानले अनुरोध गरेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij