• शनिबार, २४ असोज २०८३
  • विद्यालयमा अब ३० दिन मात्रै हिउँदे र बर्से बिदा, आइतबार पनि बिदा हुने

    विद्यालयमा अब ३० दिन मात्रै हिउँदे र बर्से बिदा, आइतबार पनि बिदा हुने

    सबलनेपाल संवाददाता
    बैशाख २९ २०८३, मंगलबार

    काठमाडौँ। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै विद्यालयहरूमा दिइँदै आएको हिउँदे र बर्से बिदामा कटौती गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले मंगलबार देशभरका शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयहरूलाई परिपत्र गर्दै अबदेखि वर्षभरिको यस्तो बिदा ३० दिनमा सीमित गर्न निर्देशन दिएको हो।

    केन्द्रका निर्देशक डा. श्यामप्रसाद आचार्यद्वारा जारी पत्रमा शिक्षण संस्थाहरूमा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने उल्लेख छ। सातामा दुई दिन बिदा दिँदा पाठ्यक्रमले तोकेको वार्षिक कार्यघण्टा पूरा गर्नुपर्ने चुनौतीलाई ध्यानमा राख्दै यसअघि कायम रहेको ४५ दिने बिदालाई घटाएर ३० दिनमा झारिएको हो।

    पठनपाठनलाई व्यवस्थित गर्न ६ बुँदे निर्देशन

    शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शैक्षिक सत्रलाई प्रभावकारी बनाउन ६ बुँदे कार्ययोजना समेत सार्वजनिक गरेको छ। जसअनुसार अबदेखि प्रत्येक दिन विद्यालयमा १५ मिनेटको प्रार्थना समय र ३० मिनेटको खाजा समय अनिवार्य व्यवस्थापन गर्नुपर्नेछ। त्यस्तै, सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न निर्देशन दिइएको छ।

    मूल्याङ्कन र परीक्षाको नयाँ कार्यतालिका

    परिपत्रमा उल्लेख भएअनुसार विद्यालयहरूले पहिलो र दोस्रो त्रैमासिकको आन्तरिक मूल्याङ्कन पठनपाठन भइरहेकै दिन वा पढाइमा असर नपर्ने गरी मिलाउनुपर्नेछ। शैक्षिक सत्रको अन्तिम परीक्षा र नतिजा प्रकाशनका लागि भने बढीमा १२ दिन मात्र उपयोग गर्न सुझाइएको छ। दुई दिने बिदाका कारण पठनपाठनको गुणस्तरमा कमी आउन नदिन यी उपायहरू अवलम्बन गरिएको केन्द्रले जनाएको छ।



    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij