• बिहिबार, २० कार्तिक २०८३
  • तीन महिनामै १७ अर्ब बढी लागतका ९२ खानेपानी आयोजनाको ठेक्का आह्वान

    तीन महिनामै १७ अर्ब बढी लागतका ९२ खानेपानी आयोजनाको ठेक्का आह्वान

    सबलनेपाल संवाददाता
    कार्तिक २० २०८३, बिहिबार

    काठमाडौँ  – चालू आर्थिक वर्षको पहिलो तीन महिनामा खानेपानी तथा ढल व्यवस्थापन विभागले ९२ वटा साना तथा ठूला खानेपानी आयोजनाको ठेक्का आह्वान गरेको छ। गत आर्थिक वर्षमा स्रोत सुनिश्चितता नहुँदा रोकिएका खरिद प्रक्रियाहरूलाई तीव्रता दिँदै मन्त्रालयअन्तर्गतको विभागले एकैपटक ठूलो सङ्ख्यामा ठेक्का खुलाएको हो।

    विभिन्न जिल्लाका १३ लाख ७२ हजार नागरिकलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यसहित कुल १७ अर्ब १५ करोड रुपैयाँ लागतका आयोजनाहरूको ठेक्का निकालिएको हो। मन्त्रालयका अनुसार ठेक्का सम्झौता भएको आगामी ३० महिनाभित्र यी सबै आयोजना निर्माण सम्पन्न गरी नागरिकको धारामा पानी पुर्‍याउने लक्ष्य राखिएको छ।

    गत वर्ष अर्थ मन्त्रालयबाट स्रोत सहमति प्राप्त नभएका कारण खानेपानीका कुनै पनि नयाँ ठेक्का लाग्न सकेका थिएनन्। तर, यस वर्ष खानेपानी सेवालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। चालू आर्थिक वर्षभित्रै कुल ४४ अर्ब रुपैयाँसम्मका खानेपानी आयोजनाहरूलाई खरिद प्रक्रियामा लैजाने मन्त्रालयको तयारी छ।

    सरकारले वि.सं. २०८७ सालसम्ममा देशका सबै नागरिकको घरघरमा सुरक्षित र स्वच्छ खानेपानी सेवा पुर्‍याउने दिगो विकासको लक्ष्य राखेको छ। सोही लक्ष्यलाई पछ्याउँदै चालु आर्थिक वर्षको सुरुवातबाटै मन्त्रालयले खानेपानी पूर्वाधारका आयोजनाहरूलाई तीव्रता दिएको हो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij