• आइतबार, ३१ साउन २०८३
  • परामर्श कक्षदेखि ECAN केन्द्रीय नेतृत्वसम्म : दिपक राज भुसालको जिम्मेवारीपूर्ण यात्रा

    परामर्श कक्षदेखि ECAN केन्द्रीय नेतृत्वसम्म : दिपक राज भुसालको जिम्मेवारीपूर्ण यात्रा

    सबलनेपाल संवाददाता
    पुष १० २०८२, बिहिबार

    नेपालको शैक्षिक परामर्श क्षेत्र पछिल्ला वर्षहरूमा विस्तार त भयो, तर त्यो विस्तार सँगसँगै चुनौतीहरू पनि बोकेर आयो। विद्यार्थी विदेश अध्ययनका लागि उत्साहित थिए, अभिभावकहरू अवसर खोजिरहेका थिए, तर मार्गदर्शन दिने क्षेत्र आफैं स्पष्ट दिशाको खोजीमा थियो। यही संक्रमणकालीन अवस्थामा केही व्यक्तिहरूले यो क्षेत्रलाई केवल व्यवसायको आँखाले होइन, जिम्मेवारी र दीर्घकालीन प्रभाव को दृष्टिले हेरे। ती व्यक्तिहरूमध्ये एक हुन् दिपक राज भुसाल।


    हाल शैक्षिक परामर्श सङ्घ (ECAN) का महासचिव को जिम्मेवारीमा भएका भुसाल व्यवहारिक परामर्श कक्षबाटै संगठनात्मक नेतृत्वमा पुगेका व्यक्ति हुन्। उनी केवल संघीय नेतृत्वमा सीमित छैनन्, बरु लामो समयदेखि बागबजार स्थित Enlighten international education सञ्चालन गर्दै आएका अनुभवी शैक्षिक परामर्शदाता पनि हुन्। विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई मार्गदर्शन गर्दै आएका उनले पेशागत जीवनले शैक्षिक परामर्श क्षेत्रको वास्तविक स्वरूपलाई नजिकबाट देखेको छन्।
    Enlighten international education मार्फत उनले विभिन्न मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परामर्श, प्रक्रिया र तयारीको सहयोग लागि सहयोग गर्दै आएका छन्। विद्यार्थीको शैक्षिक पृष्ठभूमि, आर्थिक अवस्था र भविष्यका लक्ष्यलाई ध्यानमा राखेर परामर्श दिने उनको कार्यशैलीको विशेषता हो। यही व्यवहारिक अनुभवले उनलाई सधैं भन्ने आधार दिएको छ नीति र निर्णय परामर्श कक्षको यथार्थसँग मेल खानुपर्छ।

    लामो समयदेखि यही क्षेत्रमा सक्रिय रहँदा भुसालले शैक्षिक परामर्शको उज्यालो पक्ष मात्र होइन, कमजोरी र जोखिमहरू पनि नजिकबाट देखेका छन्। यही अनुभवका कारण उनी सधैं यो क्षेत्रलाई मर्यादित, व्यवस्थित र राज्यसँग सहकार्य गर्ने जिम्मेवार क्षेत्रका रूपमा स्थापित गर्नुपर्ने पक्षमा उभिए। उनका लागि शैक्षिक परामर्श भनेको केवल विद्यार्थी पठाउने प्रक्रिया होइन, विद्यार्थीको भविष्यप्रतिको जवाफदेहिता हो।

    यही सोचका साथ विसं २०६६ सालमा शैक्षिक परामर्श सङ्घ (ECAN) को सदस्यता लिएर संघीय यात्रामा प्रवेश गर्नुभएका भुसाल क्रमशः संगठनभित्र जिम्मेवारी बढाउँदै लगे। सदस्यका रूपमा सुरु भएको यात्रा अतिरिक्त विभाग समितिको सदस्य, निर्वाचित कार्यसमिति सदस्य, सचिव हुँदै हालको महासचिव को जिम्मेवारीसम्म आइपुगेको छ। यो यात्रा आकस्मिक होइन।लामो समयको निरन्तर सहभागिता, विश्वास र समर्पणको परिणाम हो।
    संघभित्र रहँदा उनले जहिले पनि आफ्नो पेशागत अनुभवलाई संगठनको हितमा प्रयोग गरे । विद्यार्थी, परामर्शदाता र राज्यबीच देखिने दूरी घटाउनुपर्छ भन्ने उनको बुझाइले संघको भूमिकालाई थप व्यवहारिक बनाएको देखिन्छ। विशेष गरी नीतिगत अन्योल, अन्तर्राष्ट्रिय परिस्थितिको प्रभाव र संकटका समयमा उनले परामर्श क्षेत्रको वास्तविक समस्या राज्यसामु पुर्‍याउने काम गरे।

    आज महासचिवको भूमिकामा रहँदा पनि भुसाल आफैं परामर्श कक्षको वास्तविकता बिर्सनुहुन्न। उनले अझै पनि यही क्षेत्रका व्यवसायी, परामर्शदाता र विद्यार्थीको दैनिक अनुभवसँग जोडिएर सोचेका हुन्छन्। सायद यही कारण होला उनका निर्णयहरू कागजीभन्दा व्यवहारिक देखिन्छन्।
    शैक्षिक परामर्श क्षेत्रलाई बाहिरबाट हेर्दा एउटा व्यवसाय जस्तो देखिन सक्छ, तर भित्रबाट हेर्दा यो संवेदनशील जिम्मेवारीको क्षेत्र हो भन्ने कुरा दिपक राज भुसालको यात्राले स्पष्ट गर्छ। एनलाइट कन्सल्टेन्सीको परामर्श कक्षदेखि ECAN को महासचिवको कार्यकक्षसम्मको उहाँको यात्रा यही जिम्मेवारीबोधको निरन्तर अभ्यास हो।

     

    पेशागत अनुभव : परामर्श कक्षबाट जन्मिएको बुझाइ

    दिपक राज भुसालको शैक्षिक परामर्श क्षेत्रप्रतिको बुझाइ कुनै कागजी अध्ययन वा सैद्धान्तिक प्रशिक्षणबाट मात्र बनेको होइन। यो बुझाइ परामर्श कक्षभित्र बिताएका वर्षौँका अनुभवहरू बाट जन्मिएको हो। बागबजारस्थित Enlighten international educationकन्सल्टेन्सीको परामर्श कक्षमा बसेर उनले सयौँ विद्यार्थी र अभिभावकका सपना, चिन्ता, आशा र अन्योल नजिकबाट देखेका छन्। हरेक विद्यार्थी फरक पृष्ठभूमि, फरक क्षमता र फरक अपेक्षा बोकेर आउँछ भन्ने यथार्थलाई उनले व्यवहारमै आत्मसात गरेका छन्।

    विदेश अध्ययनको चाहना लिएर आउने विद्यार्थीहरूका लागि प्रक्रिया केवल कागजको काम होइन, जीवनको महत्वपूर्ण मोड हो भन्ने कुरा भुसालले सुरुदेखि नै बुझ्दै आएका छन्। आर्थिक अवस्था, शैक्षिक योग्यता, भाषा क्षमता र भविष्यको लक्ष्य यी सबै पक्षलाई एकसाथ नबुझी गरिएको परामर्शले विद्यार्थीलाई जोखिममा पार्न सक्छ भन्ने उनको विश्वास छ। यही कारण उनले हतारोमा निर्णय गर्नुभन्दा विद्यार्थीलाई बुझ्न समय दिनुपर्नेमा सधैं जोड दिएका छन्।

    लामो समयदेखि यसै क्षेत्रमा सक्रिय रहँदा भुसालले शैक्षिक परामर्श क्षेत्रका उज्यालो र चुनौतीपूर्ण दुवै पक्ष देखेका छन्। कतिपय अवस्थामा नीतिगत अस्पष्टताका कारण विद्यार्थी र परामर्शदाता दुवै समस्यामा पर्छन् भने कतिपय अवस्थामा गलत अभ्यासले सम्पूर्ण क्षेत्रको छविमा असर पार्छ। यस्ता अनुभवहरूले उनलाई परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउनु अपरिहार्य छ भन्ने निष्कर्षमा पुर्‍याएको छ।
    भुसाल प्रायः भन्ने गर्छन्“परामर्श कक्षमा बसेपछि मात्र थाहा हुन्छ, एउटा गलत सुझावले विद्यार्थीको कति ठूलो क्षति हुन सक्छ।”यही चेतनाले उनलाई संघीय भूमिकामा पुगेर पनि व्यवहारिक सुधारतर्फ केन्द्रित गराएको देखिन्छ। उनले नीति निर्माणका छलफलमा सधैं परामर्श कक्षको वास्तविकता प्रस्तुत गर्ने प्रयास गर्छन्, ताकि नियम र व्यवहारबीच दूरी नबढोस्।

    Enlighten international education सञ्चालन गर्दै आएका भुसाल आज पनि आफूलाई पहिले परामर्शदाता र पछि मात्र संघीय पदाधिकारी ठान्छन्। यही कारण उनी महासचिवको भूमिकामा रहँदा पनि परामर्शदाताको दृष्टिकोण बिर्सँदैनन्। विद्यार्थी, अभिभावक र परामर्शदाताको दैनिकीसँग जोडिएर सोच्ने उनको क्षमता नै उनको पेशागत अनुभवको सार हो।
    उनको यात्राले देखाउँछ । शैक्षिक परामर्श केवल विदेश पठाउने प्रक्रिया होइन, जिम्मेवारी, संवेदनशीलता र दीर्घकालीन प्रभावको क्षेत्र हो। यही बुझाइ दिपक राज भुसालको पेशागत जीवनको केन्द्रमा रहेको देखिन्छ।

    ECAN भित्रको यात्रा : निरन्तरताबाट बनेको विश्वास

    दिपक राज भुसालको शैक्षिक परामर्श सङ्घ (ECAN) भित्रको यात्रा आकस्मिक जिम्मेवारी वा एकैपटक आएको अवसरको परिणाम होइन। यो यात्रा वर्षौँसम्म निरन्तर संगठनसँग जोडिएर काम गर्दा बन्दै गएको विश्वासको कथा हो। विसं २०६६ सालमा ECAN को सदस्यता लिँदा उनको उद्देश्य स्पष्ट थियो । व्यक्तिगत व्यवसायभन्दा माथि उठेर शैक्षिक परामर्श क्षेत्रलाई संस्थागत रूपमा बलियो बनाउने।
    सदस्यका रूपमा संगठनसँग जोडिएपछि भुसालले संघलाई बाहिरबाट आलोचना गर्नेभन्दा भित्र बसेर सुधार गर्नुपर्छ भन्ने धारणा अपनाए। यही सोचका साथ विसं २०६८ सालमा अतिरिक्त विभाग समितिको सदस्य बनेर उनले संघको भित्री संरचना, निर्णय प्रक्रिया र कार्यसंस्कृतिलाई नजिकबाट बुझ्ने अवसर पाए। अध्यक्ष राजेन्द्र बराल र महासचिव प्रकाश पाण्डेको नेतृत्वमा काम गर्दा उनले संगठन भनेको पदको श्रृंखला होइन, निरन्तर समन्वय र विश्वासको संरचना हो भन्ने कुरा व्यवहारमै आत्मसात गरे।
    विसं २०७२ सालमा पहिलो पटक निर्वाचित कार्यसमिति सदस्य बनेपछि भुसालको भूमिकाले औपचारिक जिम्मेवारी पायो। अध्यक्ष प्रकाश पाण्डे र महासचिव सन्तोष प्याकुरेलको कार्यकालमा अतिरिक्त विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दा उनले सदस्य केन्द्रित कार्यक्रमहरू अघि बढाए। कम खर्चमा ठूलो सहभागिता सुनिश्चित गर्ने, सदस्यहरूबीच आत्मीयता बढाउने र संघलाई सबैको साझा घर बनाउने प्रयासले संगठनभित्र उनको भूमिका थप विश्वसनीय बनायो।
    यही निरन्तरताको परिणामस्वरूप विसं २०७५ सालमा प्रथम सचिव को जिम्मेवारी प्राप्त भयो। सचिवको भूमिकामा रहँदा उनले संघीय कामलाई व्यवस्थापन, कार्यक्रम सञ्चालन र राज्यसँगको संवादसम्म विस्तार गरे। भृकुटीमण्डपमा सम्पन्न विशाल शैक्षिक मेलाको सफल व्यवस्थापन र नीतिगत विषयमा राज्यसँग गरिएको प्रत्यक्ष संवादले संघको संस्थागत क्षमतामा नयाँ आत्मविश्वास थप्यो।
    विसं २०७६ सालमा सर्वसम्मत रूपमा महासचिव चयन हुनु भुसालको संगठनभित्रको यात्राको स्वाभाविक निरन्तरता थियो। महासचिवको भूमिकामा रहँदा उनले संघलाई आर्थिक, प्रशासनिक र संगठनात्मक रूपमा स्थिर बनाउने प्रयासलाई प्राथमिकता दिए। विश्वव्यापी महामारीजस्तो कठिन समयमा पनि संघको गतिविधि निरन्तर रहनु, सदस्यहरूलाई सहयोग पुर्‍याउनु र संघको आवाज राज्यसम्म पुर्‍याउनु यी सबै काममा उनको अनुभव र धैर्य स्पष्ट देखियो।
    शैक्षिक परामर्श सङ्घ (इक्यान) भित्र महासचिवको जिम्मेवारी सम्हाल्ने क्रममा उनको यात्रा सहमति र विश्वासबाट सुरु भएको हो। पहिलो पटक उनी सर्वसम्मत सहमतिबाट महासचिव चयन भए भने दोस्रो कार्यकाल निर्वाचन प्रक्रियामार्फत प्राप्त गरे। करिब छ वर्षको यस अवधिमा उनले संघलाई आर्थिक, प्रशासनिक र संगठनात्मक रूपमा सुदृढ बनाउने काम निरन्तर गरे। सहमति र लोकतान्त्रिक दुवै प्रक्रियाबाट आएको यो नेतृत्वले उनीमाथिको भरोसा र स्वीकार्यता संगठनभित्र अझ बलियो बनाएको देखिन्छ।

    आज भुसालको ECAN भित्रको पहिचान पदका कारण होइन, लामो समयदेखि निरन्तर जिम्मेवारी सम्हालेको विश्वास का कारण बनेको छ। सदस्यबाट सुरु भएको यो यात्रा महासचिवसम्म आइपुग्दा पनि उनको सोच उस्तै छ संगठन व्यक्ति भन्दा ठूलो हुन्छ, र संस्थागत विश्वास नै दीर्घकालीन उपलब्धि हो।

    प्रमुख योगदान र उपलब्धिहरू : कामले बोलेको यात्रा

    दिपक राज भुसालको शैक्षिक परामर्श सङ्घ (ECAN) भित्रको पहिचान उपलब्धिका सूचीभन्दा बढी काम गर्ने शैली र परिणामले बोलेको यात्रा हो। उनले सम्हालेका जिम्मेवारीहरूमा सधैं कम साधनमा पनि अर्थपूर्ण उपलब्धि सम्भव हुन्छ भन्ने विश्वास देखिन्छ। अतिरिक्त विभाग प्रमुखको भूमिकामा रहँदा उनले सदस्यहरूलाई संघसँग भावनात्मक रूपमा जोड्ने कार्यक्रमहरूलाई प्राथमिकतामा राखे।
    गोकार्ण वन क्षेत्रस्थित रिसोर्टमा एक हजार रुपैयाँमै आयोजना गरिएको संघीय सामूहिक भ्रमण संघको इतिहासमै फरक अभ्यासका रूपमा स्मरण गरिन्छ। सीमित खर्चमा ठूलो सहभागिता सुनिश्चित गर्दै सदस्यहरूबीच आत्मीयता बढाउनु भुसालको सदस्य केन्द्रित सोचको उदाहरण हो। त्यसैगरी संघ प्रायोजित कर्पोरेट फुटसल प्रतियोगिता ले संगठनभित्र सहकार्य, स्वास्थ्य र आपसी सम्बन्धलाई बलियो बनायो।
    प्रथम सचिवको भूमिकामा रहँदा उनले संघलाई कार्यक्रम आयोजनामा मात्र होइन, आर्थिक र संस्थागत क्षमताको प्रदर्शन तर्फ डोर्‍याए। भृकुटीमण्डपमा सम्पन्न विशाल शैक्षिक मेला त्यसको ठोस प्रमाण बन्यो। तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रमुख अतिथि र अस्ट्रेलियन राजदूत विशिष्ट अतिथिका रूपमा सहभागी उक्त मेलाबाट कार्यक्रम व्यवस्थापनमार्फत रु. २३ लाख र ब्रिटिस काउन्सिलबाट रु. १५ लाख गरी कुल रु. ३८ लाख आम्दानी हुनु संघको आर्थिक आत्मनिर्भरताका लागि महत्वपूर्ण उपलब्धि थियो।
    यही अवधिमा भुसालले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी नीतिगत अस्पष्टता का विषयमा संघको तर्फबाट सक्रिय पहल गरे। करिब ८० भन्दा बढी मन्त्री, सांसद, शिक्षा समितिका सभापति तथा सदस्यहरूसँग प्रत्यक्ष भेटघाट गरी ज्ञापनपत्र बुझाउनु संघको इतिहासमै सबैभन्दा व्यवस्थित नीतिगत संवादमध्ये एक मानिन्छ। यस पहलले शैक्षिक परामर्श क्षेत्रलाई राज्यको नजरमा गम्भीर र जिम्मेवार सरोकारवालाको रूपमा स्थापित गर्‍यो।
    महासचिवको भूमिकामा रहँदा पनि भुसालको योगदान संकट व्यवस्थापन र निरन्तरतामा देखियो। विश्वव्यापी महामारीको समयमा सहयोग कक्ष सञ्चालन, सहुलियत ऋणको पहल, अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग समन्वय र सयौँ भर्चुअल कार्यक्रम सञ्चालन गर्दै उनले संघलाई निष्क्रिय हुन दिएनन्। यी सबै कामहरूले दिपक राज भुसालको यात्रा प्रमाणित गर्छ ।उनको नेतृत्व शब्दले होइन, कामले बोल्छ।


    शैक्षिक परामर्श क्षेत्रप्रतिको दृष्टिकोण

    दिपक राज भुसालको दृष्टिमा शैक्षिक परामर्श क्षेत्र कुनै साधारण सेवा व्यवसाय होइन, बरु विद्यार्थीको भविष्य, अभिभावकको भरोसा र राष्ट्रको मानव संसाधनसँग प्रत्यक्ष जोडिएको जिम्मेवार क्षेत्र हो। यही कारण उनी यस क्षेत्रमा न त अन्धाधुन्ध स्वतन्त्रता चाहन्छन्, न त अव्यवहारिक नियन्त्रण। उनको स्पष्ट धारणा छ। शैक्षिक परामर्श क्षेत्रलाई स्पष्ट नीति, व्यवहारिक नियम र उच्च नैतिक मापदण्डको संयोजनमार्फत अघि बढाउनुपर्छ।
    उनका अनुसार शैक्षिक परामर्श सुधारिनु भनेको केवल व्यवसायीको हित सुरक्षित हुनु मात्र होइन, विद्यार्थी र अभिभावकको विश्वास जोगिनु हो। उनी प्रायः भन्छन्“हामीले विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, सुरक्षित भविष्यतर्फ डोर्‍याउने काम गर्नुपर्छ।”यही सोचले उनीलाई संघीय भूमिकामा नीतिगत संवाद, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिन प्रेरित गरेको देखिन्छ।
    भुसाल शैक्षिक परामर्श क्षेत्रलाई राज्यसँग सहकार्य गर्ने साझेदारका रूपमा हेर्छन्। उनका लागि संघको भूमिका माग राख्ने मात्र होइन, समाधान सुझाउने र व्यवहारिक बाटो देखाउने पनि हो। दीर्घकालीन रूपमा यो क्षेत्र व्यवस्थित र विश्वसनीय बनेमा मात्र विद्यार्थी, परामर्शदाता र राज्य तीनै पक्षको हित सुरक्षित हुन्छ भन्ने विश्वास उनको दृष्टिकोणको केन्द्रमा रहेको छ।

    समग्र मूल्याङ्कन : किन भुसाल फरक देखिन्छन् ?

    दिपक राज भुसाललाई शैक्षिक परामर्श क्षेत्रका अन्य धेरै व्यक्तित्वहरूबाट फरक बनाउने मुख्य कारण पद, प्रचार वा व्यक्तित्वको चमक होइन। निरन्तरता, सन्तुलन र विश्वास हो। उनले कुनै एक समयको सक्रियता वा कुनै एक उपलब्धिलाई आधार बनाएर आफ्नो पहिचान निर्माण गरेका छैनन्। बरु वर्षौंसम्म एउटै क्षेत्रमा टिकेर, एउटै संस्थासँग जोडिएर र एउटै उद्देश्य बोकेर काम गर्नु नै उनको परिचय बनेको छ।
    उनको यात्रा परामर्श कक्षबाट सुरु भएर संघीय नेतृत्वसम्म पुगेको छ। यही कारण उनी निर्णय गर्दा केवल संगठनात्मक दृष्टिकोणबाट मात्र सोच्दैनन्, व्यवहारिक यथार्थलाई पनि सँगै राख्छन्। विद्यार्थी, अभिभावक, परामर्शदाता र राज्य यी चारै पक्षको सरोकार बुझ्ने क्षमता उनलाई सन्तुलित बनाउँछ। व्यवसाय र संगठन दुबै क्षेत्रमा काम गरेको अनुभव भएकाले उनका निर्णयहरू न त एकपक्षीय देखिन्छन्, न त कागजी मात्र।
    भुसाललाई फरक देखिने अर्को पक्ष उनको नेतृत्व शैली हो। उनी ठूलो आवाजमा बोल्ने नेता होइनन्। विवाद सिर्जना गरेर चिनिनु उनको स्वभावमा पर्दैन। बरु सहमति खोज्ने, संवादमार्फत समाधान निकाल्ने र दीर्घकालीन स्थायित्वलाई प्राथमिकता दिने उनको शैलीले संगठनभित्र विश्वासको वातावरण निर्माण गरेको छ। यही कारण कठिन समय र संवेदनशील विषयमा पनि संगठनले उनको नेतृत्वमा सहजता महसुस गरेको देखिन्छ।
    संघीय जिम्मेवारी सम्हाल्दा उनले व्यक्तिलाई होइन, संस्थालाई केन्द्रमा राखे। पद अस्थायी हुन्छ, तर संस्थागत अभ्यास दीर्घकालीन हुन्छ भन्ने उनको बुझाइले संघको कार्यसंस्कृतिमा स्थायित्व ल्यायो। विश्वव्यापी महामारीजस्तो संकटका बेला पनि संघलाई सक्रिय, समन्वित र उत्तरदायी राख्नु यसै सोचको प्रतिफल हो।
    समग्रमा हेर्दा, दिपक राज भुसालको फरकपन एकैपटक चम्किने क्षमतामा होइन, निरन्तर उज्यालो दिइरहने धैर्यमा देखिन्छ। उनी शैक्षिक परामर्श क्षेत्रका लागि परिवर्तनको नारा होइन, विश्वासको आधार बनेका व्यक्तित्वका रूपमा उभिएका छन्। यही कारण उनको नाम आज यो क्षेत्रमा स्थिरता, भरोसा र संस्थागत चेतनासँग जोडिएर उच्चारण हुन्छ।

    मौन यात्राले बनाएको भरोसा

    दिपक राज भुसालको यात्रा ठूलो शब्द, आकर्षक नारा वा क्षणिक चर्चाको यात्रा होइन। यो यात्रा धैर्य, निरन्तरता र जिम्मेवारीबोध को कथा हो। परामर्श कक्षमा बसेर विद्यार्थीका सपना सुन्नेदेखि संघीय नेतृत्वको जिम्मेवारी सम्हाल्दासम्म, उनले सधैं कामलाई केन्द्रमा राखे, आफूलाई होइन।
    उनको बाटो सजिलो थिएन। शैक्षिक परामर्श क्षेत्रले अविश्वास, नीतिगत अन्योल र विश्वव्यापी संकटका चरणहरू पार गरिरहँदा पनि भुसालले संयमता छोडेनन्। उनले टकरावको बाटो रोजेनन्, संवादलाई प्राथमिकता दिए। आलोचनामा नअड्किएर सुधारमा केन्द्रित रहे। यही कारण उनले संगठनभित्र मात्र होइन, राज्यका निकायहरू र सरोकारवालामाझ पनि विश्वास कमाउँदै गए।
    आज उनी शैक्षिक परामर्श सङ्घका महासचिव हुन्। तर उनको परिचय पदले होइन, निरन्तर योगदानले बनेको छ। बागबजारस्थित एनलाइट कन्सल्टेन्सीको परामर्श कक्षदेखि ECAN को निर्णय कक्षसम्म, उनले एउटै मूल्य बोके विद्यार्थीको भविष्यप्रतिको जवाफदेहिता। यही मूल्यबोधले उनलाई सधैं सन्तुलित, स्थिर र भरोसायोग्य बनायो।
    शैक्षिक परामर्श क्षेत्रको भविष्य नीति, संरचना र नेतृत्व तीनै कुरामा निर्भर हुन्छ। तर ती सबैभन्दा महत्वपूर्ण कुरा हो विश्वास। यही विश्वास निर्माण गर्ने यात्रामा भुसालको भूमिका मौन तर गहिरो छ। उनका कदमहरू सायद सधैं चर्चा नबन्लान्, तर उनका प्रभावहरू दीर्घकालसम्म रहनेछन्।
    भुसालको कथा कुनै एक पद, एक कार्यकाल वा एक उपलब्धिमा सीमित छैन। यो कथा हो निरन्तर उभिइरहने, जिम्मेवारी नछोड्ने र संस्थालाई व्यक्तिभन्दा माथि राख्ने नेतृत्वको।शैक्षिक परामर्श क्षेत्रले जब आफ्नो इतिहास फर्केर हेर्नेछ, त्यहाँ यो मौन यात्राले छोडेको छाप स्पष्ट देखिनेछ।

     

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij