• आइतबार, २४ साउन २०८३
  • नाइमा अटो एक्स्पोमा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै, अन्यभन्दा सस्तो हुने कम्पनीको दाबी

    नाइमा अटो एक्स्पोमा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै, अन्यभन्दा सस्तो हुने कम्पनीको दाबी

    सबलनेपाल संवाददाता
    साउन २३ २०८३, शनिबार

    काठमाडौँ हिमालयन अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रा. लि.ले चिनियाँ  कम्पनी ‘डोङफेङ’ द्वारा उत्पादित विद्युतीय बसहरू नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। काठमाडौँको भृकुटीमण्डपमा साउन २६ गतेदेखि आयोजना हुने ‘नाइमा अटो एक्स्पो’ मार्फत कम्पनीले सुरुवाती चरणमा दुईवटा मोडलका विद्युतीय बसहरू सार्वजनिक गर्न लागेको हो।

    नेपाल सरकारले ठूला विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखेको र ग्राहकस्तरबाट पनि यसको माग बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले डोङफेङका बसहरू भित्र्याएको जनाएको छ। नाडा एक्स्पोमा विशेषगरी ७.२ मिटर लम्बाइका र २६ देखि ३० सिट क्षमता भएका बसहरू सार्वजनिक गरिनेछन्।

    हाल नेपाली बजारमा उपलब्ध अन्य कम्पनीका विद्युतीय बसहरूको तुलनामा निकै कम र प्रतिस्पर्धी मूल्यमा डोङफेङका बसहरू उपलब्ध गराइने कम्पनीको दाबी छ। गाडीको आधिकारिक मूल्य र अन्य प्राविधिक विवरणहरू भने एक्स्पोमै सार्वजनिक गरिनेछ। यद्यपि, एक्स्पोमा बुकिङ गर्ने ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले विशेष छुटको आकर्षक योजनासमेत प्रस्तुत गर्ने जानकारी दिएको छ।

    कम्पनीको ब्रोसरअनुसार सार्वजनिक हुन लागेको ७.२ मिटरको इलेक्ट्रिक बसमा १४० किलोवाट आवर  क्षमताको ब्याट्री र १६० किलोवाट  को अधिकतम पावर भएको मोटर जडान गरिएको छ। एक पटकको फुल चार्जमा यसले २५० देखि २८० किलोमिटरसम्मको रेन्ज दिनेछ। बसमा यात्रुको सुविधाका लागि एयर कन्डिसनिङ (एसी) को विकल्पसहित आरामदायी सिटहरू, एबीएस  ब्रेकिङ सिस्टम र सुरक्षित शटल डोरहरू राखिएका छन्।

    आयाम इन्टरकन्टिनेन्टलले निकट भविष्यमै ३८ र ५२ सिट क्षमता भएका ९ र १२ मिटर लामा विद्युतीय बसहरू पनि नेपाल ल्याउने तयारी गरेको छ। बिक्रीपछिको सेवा  र स्पेयर पार्ट्सका लागि हिमालयन अर्गनाइजेसन अन्तर्गतका देशभर रहेका शाखा तथा डिलर नेटवर्कमार्फत सहज र छिटो सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

    सन् १९६९ मा स्थापना भएको डोङफेङ मोटर कर्पोरेसन  चीन सरकारको स्वामित्वमा रहेको चीनकै सबैभन्दा ठूलो र प्रतिष्ठित अटोमोबाइल उत्पादकमध्ये एक हो। यसले विश्वस्तरीय प्रविधि प्रयोग गरी व्यावसायिक सवारी, बस, ट्रक र विद्युतीय सवारी (EV) उत्पादन गर्दै आएको छ। डोङफेङका सवारी साधन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएका छन् भने नेपालमा पनि यसका ट्रक, कार तथा माइक्रोबसहरू पहिलेदेखि नै लोकप्रिय छन्।

    आयाम इन्टरकन्टिनेन्टलले यसअघि भारतको फोर्स मोटर्स  र चीनको म्याक्सस  ब्रान्डका सवारी साधनहरूको आधिकारिक बिक्रेताको रूपमा समेत काम गर्दै आएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij