दोस्रो कोदो दिवस : खेतबारी मै पुगे कोदो रोप्न अभियान्ता

Image
काठमाडौं–“कोदोको योगदानः खाद्य तथा पोषण सुरक्षामा बरदान” मूलनाराका साथ आज दोस्रो कोदो दिवस आइतबार सम्पन्न भएको छ । रैथानीबालीको रुपमा रहेको कोदो बालीको संरक्षण, सम्वद्र्धन तथा उत्पादनमा वृद्धिका लागि यो दिवस मनाउन थालिएको हो । यो दिवस २०२३ देखि अन्तराष्ट्रिय रुपमा मनाउने घोषणा पनि भइसकेको छ । राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) र छवेली कृषक समूहले मकवानपुरको भिमफेदी गाउँपालिकाको छवेलीमा गएर यो दोस्रो कोदो दिवस मनाएको महासंघका अध्यक्ष नवराज वस्नेतले बताए । २०७६ सालदेखि महासंघ र अनाजले कोदोको बारेमा बहस चलाउँदै आइरहेको थियो । २०७७ सालदेखि दिवसकै रुपमा मनाउन थालिएको हो । छवेलीको एक किसान तथा खेतमा सम्पन्न दोस्रो कोदो दिवस कार्यक्रममा सहभागीहरुले कोदो खाद्यान्न बालीको मुख्यबाली मात्र होइन, औषधी गुणसम्पन्न तथा पोषिलोयुक्त खाद्यान्न भएकाले यसको जगेर्नाका साथै उत्पादन तथा उपभोगमा जोड दिनुपर्ने बताए । कार्यक्रमको प्रमुख अतिथीको रुपमा रहेकी समावेशी आयोगका सदस्य (किसानतर्फ) विष्णु माया ओझाले कोदोको संरक्षणमा जोड दिँदै किसानलाई उत्पादन गर्नुको साथै त्यसको उपभोगमा पनि ध्यान दिन आग्रह गरिन् । उनले भनिन्, यो उत्पादन मात्र होइन, यसलाई सेवन पनि गर्नुस्, अब यसलाई लुकाएर होइन, सबैलाई देखाएर खानुस् ।’ खाद्यान्नमा कोदो सबभन्दा बढी पोषिलो रहेकाले यसबाट किसानले आर्थिक तथा स्वास्थ्यको फाइदा लिन सक्ने बताउँदै लोप हुन लागेको कोदोसलाई जोगाउन आवश्यक रहेको उनको भनाई थियो । कोदोबाट थुप्रै परिकारहरु बनाउन सकिने बताउँदै उनले यसको वजारको समस्या छैन तर नेपालमा यसको उत्पादन नरहेको बताइन् । किसान आयोगका सदस्य एवं प्रवक्ता जिवन्ती पौडेलले कोदो नेपालको महत्वपूर्ण खाद्यान्न हो तर यो लोसप हुने अवस्थामा पुगेको बताइन् । यसलाई साँस्कृतिक खाना रुपमा विकास गर्दै राष्ट्रिय बालीको मान्यता दिलाउनका लागि सबै पक्षबाट पहल हुनुपर्ने कुरामा जोड दिनुभयो । कोदो एउटा खाद्यान्न बाली होइन, यो एक औषधी पनि हो, यसमा सबै प्रकारको पोषणयुक्त वस्तुहरु पाउने भएकाले यसको उत्पादनमा जोड दिनुको साथै वजारीकरणमा पनि ध्यान दिनुपर्ने बताइन् । उनले किसानहरुलाई भनिन्, तपार्ईहरु कोदो उत्पादन गर्नुस् हामी वजारको व्यवस्था गछौं ।’ महासंघका अध्यक्ष नवराज वस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कोदोलाई मुख्यबालीको रुपमा विकास गर्नुपर्ने बताए । कोदो हेपहा बालीको रुपमा चिनिने भएको हुनाले त्यसलाई अब मुख्यबाली रुपमा विकास गर्दै यसलाई सबै तप्काका उपभोक्ताले उपभोग गर्नुपर्ने कुरामा उनले जोड दिए । कोदो बाली नेपालको मुख्यबाली हो भने कुरा सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने कुरामा जोड दिँदै उनले पोषिलोको हिसाबले कोदो अन्य बाली भन्दा १० गुणा पोषिलो रहेको बताए । कार्यक्रममा कोदो विज्ञ छवी पौडेलले कोदो एउटा बाली नभएर यो औषधी हो, यसलाई नियमित सेवन गर्न सुझाव दिए । उनले यो उत्पादन गर्न निकै सजिलो छ, अन्य बाली जस्तौ गाह्रो नरहेको बताउँदै उनले यसको उत्पादनमा जोड दिइ बजारसम्म पहुँच पुर्याउन सुझाव दिए । कार्यक्रममा छबेली कृषक समूहकी उपाध्यक्ष दिलकुमारी लामा, महासंघका उपाध्यक्ष पञ्चकाजी महर्जन, मकवानपुर गढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी, अनाजका सदस्य सुरेशकुमार यादवलगायतले कोदोको बारेमा आआफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा सहभागी हुन गएका प्रतिनिधिहरुले बाजागाजासहित किसानको खेतमा कोदो रोपेर सो कार्यक्रम मनाएको हो । कार्यक्रममा कोदोका विभिन्न परिकार पनि उपलब्ध गराइएएको थियो । जलवायुमैत्री खेती साथै कोदोको स्वास्थ्य लाभ र यसको खेतीका लागि उपयुक्तता बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ७० भन्दा बढी देशहरुको समर्थनमा संयुक्त राष्ट्रसंघको महासभाले २०२३ लाई कोदो अन्तराष्ट्रिय वर्षको रुपमा मनाउने घोषणा गरिएको छ । नेपालमा गत वर्ष २०७७ देखि साउन १५ लाई कोदो दिवसका रुपमा मनाउन सुरु गरिएको हो । कार्यक्रममा सहभागी हुन छवेली पुगेका प्रमुख अतिथि तथा अतिथीहरुले त्यहाँका खेतमा कोदो रोपेर सो दिवस मनाएका थिए ।
Tags: