एसईर्ई परिणामले खनेको विभेदको खाडल

Image
जयदेश श्रेष्ठ हाम्रो देशमा सरकारले शैक्षिक क्षेत्रमा जति सुकै बजेट खर्च छुट्टाएर सरकारी निःशुल्क शिक्षा नीतिको अवधारणा राखे पनि समग्र शिक्षा प्रणाली उल्लेखनीय सुधार भएको देखिदैन । फलामको ढोका पार गर्ने भनिएको एसईई परीक्षाको नतिजाले मात्र विद्यार्थीको क्षमता र शैक्षिक उन्नतिको परिणाम लेखाजोखा गर्नु ठिक होइन । समस्त सरकारी स्कुल र प्राइभेट बोडिङ्ग स्कुलको परीक्षाको नतिजालाई विद्यार्थीको योग्यता एसईर्ई रिजल्ट शैक्षिक प्रमाणपत्रलाई मात्र आधार मान्ने हो भने यो न्यायोचित कदापि हुँदैन । कुखुरा र हाँसमा तिनीहरूको अण्डाबाट कुखुराको मूल्याङ्कन हुनुहुँदैन । देख्नमा दुबैका अण्डा उस्तै हुन् खानमा स्वाद फरक छैन भनेर मात्र हेरिन्छ भने यसको अर्थ हुँदैन । आखिर कुखुरा र हाँसको अण्डालाई मूल्याङ्कन गर्ने आधार खोइ ? कुखुरा महत्वपूर्ण हो कि अण्डा महत्वपूर्ण हो ? हामीले विद्यार्थी योग्य बनाउने हो कि , रिजल्ट राम्रो बनाउने ? नेपाल प्रहरी स्कुलमा पढाउने शिक्षक रोजन न्हुच्छे प्रधान भन्नुहुन्छ, ‘यो वर्ष पनि एसईईको नतिजालाई कारण बनाई आत्महत्या गरेको समाचार सुनेँ, निकै दुःख लाग्यो। आफू एउटा शिक्षक र विद्यार्थी भएको नाताले यो भन्न चाहन्छु कि एसईईलाई ठुलो महत्व नदिनुस्, आफ्नो ज्ञान, विवेक, सीप, र क्षमतालाई दिनुस्। हाम्रो शिक्षा प्रणालीमा धेरै त्रुटिहरू छन्, यो न्यायपूर्ण छैन, व्यावहारिक छैन, र हाम्रो शिक्षा प्रणाली केही हदसम्म भ्रामक पनि छ र हाम्रो परीक्षा प्रणाली सही पनि छैन ।’ प्रधान प्रश्न गर्नुहुन्छ, ‘के माछा र परेवाको एउटै खालको परीक्षा लिन मिल्छ?’ पौडी खेल्ने परीक्षामा परेवा फेल हुन्छ । उड्ने परीक्षामा माछा पास हुन सक्दैन त्यसैले माछालाई उसको पौडिने क्षमताका आधारमा मूल्याङ्कन गरिनुपर्ने र परेवालाई उड्ने क्षमताका आधारमा प्रश्न तयार गर्नुपर्ने उहाँको तर्क छ । ‘हरेक मान्छे पृथक् हुन्छ, उसको आफ्नै किसिमको खुबी हुन्छ । त्यसलाई महत्व दिनु पर्दछ। भाषामा सिपालु व्यक्ति नेपालीमा राम्रो नम्बर ल्याउन सक्छ । गणितमा पनि निपुण हुनुपर्छ भन्ने जरुरी छैन, विज्ञानमा चासो राख्ने पोख्त व्यक्ति सङ्गीतमा उसको ध्यान जान्छ भन्ने हुँदैन । एउटै व्यक्तिले सबै विषयमा ज्ञाता भएर सबैमा बिषयमा उत्तीर्ण हुनुपर्छ, यो न्यायोचित परिणाम हुन सक्दैन ।’ उहाँ भन्नुहुन्छ, ‘हाम्रो परीक्षा प्रणालीले सबै विषय अनि नेपाल भरका विद्यार्थीमा अस्वस्थ प्रतिस्पर्धा गराउँछ। अनि यही बेकामको परीक्षालाई आधार बनाई सबै विद्यार्थीको मूल्याङ्कन गर्छ, यो त सरासर गलत भयो ,अन्याय भयो र यसले मानसिक तनाव पनि सिर्जना गर्छ, केही अवस्थामा आत्महत्याको प्रवृत्ति पनि निम्ताउँछ।’ एसईईलाई ठुलो महत्व नदिएर शिक्षा प्रणालीमा कसरी सुधार ल्याउने भन्नेमा सोंच्ने र प्रयास गर्नुपर्ने उहाँको सुझाव छ । ‘राजनीति गर्नेहरूले पनि विचार पुराऔँ, राजनीति भनेको प्रतिस्पर्धीलाई हराउने, आफू जित्ने, पदमा बस्ने मात्र हैन, हरेक क्षेत्रमा कसरी सुधार ल्याउने भन्ने हो। त्यसको लागि हरेक क्षेत्रको विज्ञहरू आवश्यक पर्दछ, यो फोहोरी खेल खेल्नेहरू र हेर्नेहरुका लागी मात्र हैन। शिक्षा क्षेत्र निकै महत्वपूर्ण छ, यसमा सुधार नल्याई अरू क्षेत्रमा सुधार आउन सक्दैन। सजक बनौँ।’ प्रधानको भनाई छ । सबै विद्यार्थीलाई माया र हौसला दिएर असमान परीक्षाफलका बाबजुद समान व्यवहार गरेर उनीहरूलाई आफ्नै आकाशको तारा बन्न दिएर आफ्नो भविश्य प्रति विश्वास जगाउनुपर्ने उहाँको भनाई छ । आखिर हाम्रो देशको शिक्षा नीति र विद्यार्थी भविष्य के हो ? हाम्रो शिक्षाले कस्तो विद्यार्थी उत्पादन भई रहेको छ ? पढ्नुको उद्देश्य शैक्षिक प्रमाणपत्र मात्र हासिल गर्नु होइन । आज जस्तो सुकै सहज र सजिलो तरिकाले परीक्षा लिने र परीक्षाको मूल्याङ्कनमा सहज बनाई परिणाम घोषणा गर्दा पनि आफ्नो रिजल्ट प्रति विद्यार्थी सन्तुष्ट छैनन् । आफ्नो शैक्षिक योग्यताको सही मूल्याङ्कन भएको ठान्दैनन् । माथी देखि तलसम्म बिग्रेको नेपालको हरेक क्षेत्रमा शङ्का उपशङ्का गर्ने गर्ने परिपाटी भएकोले विद्यार्थी आफ्नो क्षमताको मूल्याङ्कन सही नहुने र आफूले सोंचे जस्तो परिणाम नआएकोमा देखि र कोहीले आफ्नो क्षमता र सामर्थ नभएको भन्ने आवेकमा पनि आत्महत्या जस्तो जोखिम मोलेको देखिन्छ । प्राविधिक त्रुटी हुँदा पनि कति विद्यार्थीले सफल हुँदा पनि गलत परिणामले आत्महत्या गरिएको देखिएको थियो । त्यसैले परीक्षाको परिणाम विद्यार्थीको लागि संवेदनशील विषय हो । आज हामीले नेपालको एसईर्ई परीक्षाको विषयमा केही कुरा लेख्नु पर्दा सरकारीको नीति, शिक्षकको पढाई , विद्यार्थीको भावनामा तालमेल भएको पाइदैन । सरकारले शिक्षामा राम्रो व्यवस्थापन गर्न सकेको छैन । शिक्षकले आफ्नो जिम्मेवारी राम्रोसँग बहन गरेको हुँदैन भने विद्यार्थी कर्तव्य पुरा गरेका छैनन् । जसरी चल्छ चल्न दिएको छ । आखिर देश अनुसार भेष ! भेष अनुसार बोली भएर आजको विद्यार्थीमा जिम्मेवारीता पढेर केही गर्नुपर्छ भन्ने भावनामा कमी आएको देखिन्छ । शिक्षाले मानिसक सक्षमता बनाउनुपर्छ भन्दा पनि देखाउनका लागि सर्टिफिकेट राम्रो हुनुपर्छ भन्ने देखिएको छ । सार्वजनिक रूपमा प्रकाशित एसईर्ई परिणामले एक दिन फेसबुक भरि फैलिने बधाई धन्यवादको ओइरो आदि इत्यादिले विद्यार्थी त्यही सटिफिकेटलाई मात्र आफ्नो पढाईको आधार प्रमाणपत्र भएको ठान्छन् । जहाँ विद्यार्थीको धरातलको कुनै मूल्याङ्कन भएको हुँदैन । देशको शिक्षा प्रणाली बेतितीहरूलाई जति सुकै उजागर गरे पनि नेपालको चलन यस्तै भएर चलेको छ । अनेकौँ समस्याहरूको बाबजुद चल्दै आएको हाम्रो शिक्षा प्रणालीको दोष दोषारोपण भन्दा पनि जे देखेका छौ त्यसलाई आँखा चिम्लेर मनन गर्नु बाहेक गर्न के पो सकिन्छ ? एउटा काठमाडौँ सुविधा सम्पन्न बोडिङ्गको विद्यार्थी को पढाईको स्तरियता र हुम्ला जुम्लाको विद्यार्थीको पढाईको बाध्यता ! जहाँ शैक्षिक सत्रको किताब विद्यालयमा आई नपुगेको हुँदा पनि परीक्षा दिएको हुन्छ । शिक्षा मन्त्रालयबाट शैक्षिक स्तरलाई मूल्याङ्कन गर्ने नेपाल भरको एउटै सरकारी एसईर्ई परिणाम लाई कसरी बुझ्ने ? सम्पन्न स्कुलका विद्यार्थी परीक्षा आउनु भन्दा अगाडि आफ्नै पकडको कलेजहरूमा आफ्नो विद्यार्थी नयाँ शैक्षिक सत्रको लागी भर्ना सुरु गरि सकेका छन् भने कति धेरै सरकारी सिङ्गो स्कुलहरूको परिणाममा विद्यार्थी पास निल भएको अवस्थामा केही सुधार गर्न सकेको हुँदैन । समस्याको समाधान भन्दा बिकल्पको रुपमा अहिले सबै विद्यार्थी पास हुने रिजल्ट लाई प्राथमिकता दिन खोज्दछ भने फलामको ढोका भनिए पनि यो एसईर्ई को सटिफिकेटलाई विद्यार्थीको सही मूल्याङ्कन र विश्वसनियताको आधार मान्न सकिँदैन । विद्यार्थीले परीक्षाको रिजल्टबाट आफूलाई समाल्न नसकेर अकल्पनीय घटनाहरू हरेक वर्ष घटेको देखिन्छ ।
Tags: