भरतपुरमा महसूस हुने गरी विकास भएको छ : प्रमुख रेनु दाहाल

Image
चितवन — भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा महशुस हुने गरी विकास भएको बताएकी छिन् । हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालय भरतपुर १३ को ४४औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले भरतपुरमा जनताले आफै महसूस हुने गरी विकास भएको उल्लेख गरिन् । ‘हामीले बोलेका कुरा पुरा गरेका हाै‌ । उनले भनिन्, ‘हामीले भरतपुरमा विकास भयो भन्नुपर्दैन, भरतपुरबासीले महसूस भएको कुरा आफै भनिरहनु भएको छ । यसमा हामीलाई गर्व छ ।’ प्रमुख दाहालले भरतपुरमा सडक पूर्वाधारको विकास नभई सबै क्षेत्रमा समानुतिक विकास भएको प्रष्ट पारिन् । अन्य ठाँउबाट भरतपुर आउने व्यक्तित्वहरुले भरतपुरमा भइरहेको विकासलाई मुक्तकण्ठले प्रशंसा गर्ने गरेकाले यस विषयमा सन्तुष्ट रहेको उनको भनाइ छ । भरतपुरको शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कृषिलगायतको क्षेत्रमा अनुभूति हुने गरी विकास भएको भरतपुर जनताले खुलेरै भन्ने गरेको उनले बताइन् । ‘सत्य कुरा लुक्दैन,’ उनले भनिन्, ‘भरतपुरको विकास पहिलाको अवस्था के थियो र अहिले कस्तो भएको छ । यो कुरा घाम जस्तै छर्लङ्ग छ ।’ प्रमुख दाहालले भरतपुरका सामुदायिक विद्यालयमा ६ वर्षको अवधिमा ८ हजार विद्यार्थी बढ्नु शिक्षा क्षेत्रमा भएको ठुलो उपलब्धी भएको धाराणा राखिन् । नेपाल सरकारको शिक्षा मन्त्रालयले प्रकाशित गरेको नमुना विद्यायको नतिजामा भरतपुरका धेरै विद्यालयहरु समावेश हुनु यहाँ भएको शैक्षिक विकासलाई प्रष्ट पारेको उनको भनाइ थियो । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकृष्ण न्यौपानेले महानगरपालिकाले शिक्षा क्षेत्रमा धेरै नमुना कार्य गरेको बताए । महानगरपालिकाको साथ र सहयोगबाट विद्यालयलाई देशकै नमुना विद्यालय बनाउन सकिएको धारणा राखे । कार्यक्रममा विद्यालयको समग्र विकासमा योगदान पुराउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
Tags: