नेपाल डेरी एसोसिएसनले रजत जयन्ती मनाउने, दुग्ध उत्पादन क्षेत्र समस्यामै छ : अध्यक्ष दाहाल

Image
काठमाडौं । नेपालमा रहेका डेरीहरूको छाता संस्था नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले अहिले पनि यो क्षेत्र समस्यामा रहेको बताए । एसोसिएसनको २५औं स्थापना दिवसको सन्दर्भमा मंगलवार काठमाडौंमा आयोजना पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । दूधको आयात बढ्दा आन्तरिक उत्पादनको दूधले बजार नपाएको उनको भनाइ छ । उनका अनुसार अहिले सरदर ५ अर्ब बराबरको धुलो दूध र बटर मौज्दात छ । यो समस्या निवारणको लागि बाहिरबाट आयात रोक्ने, छुर्पी र चिज लगायतलाई निर्यात गर्न सरकारले सहजीककरण गरिनुपर्ने अध्यक्ष दाहालले बताए । दूधको खपत बढाउनको लागि यसको उपभोग बढाउने विशेष गरी विद्यार्थी, आर्मी, प्रहरी, खेलाडीलाई यसको महत्व बुझाउनुपर्ने उनको धारणा छ । बढी भएका सामानको स्टोरका लागि सामुहिक कोल्ड स्टोर बदी भएका सामान राइन स्टोरको अभावले कठिन छ। त्यसका लागि राज्यले बटरका लागि सामुहिक कोल्ड संचालनमा ल्याउनुपर्ने उनको धारणा छ । उनले भने, ‘अहिले उद्योगले प्रति केजी १० रुपैयाँ भाडा तिरेर कोल्ड स्टोरमा राख्नु परेको छ, एकातिर विक्री भएको छैन, अर्कोतिर यसरी कोल्ड स्टोरमा भाडा तिर्दा लागत बढेको छ ।’ यसरी स्टकमा रहँदा पूँजीका अभाव हुने र किसानले समयमै भुक्तानी नपाउने समस्या रहेको उनले बताए । उनले अझै पनि ८० प्रतिशत किसान व्यावसायिक बन्न नसकेको कारण दूधको गुणस्तर कायम गर्न नसकिएको बताए । त्यस्तै औद्योगिक ग्राम निर्माण, प्याकेजिङ लगायतका सामानको आयातमा भन्सार छूट दिनुपर्ने उनको भनाइ छ । रजत जयन्तीको अवसरका एसोसिएसनले माघ ७ गते काठमाडौंमा विशेष कार्यक्रम गर्दै छ । होटल मल्ल काठमाडौंमा कार्यक्रम हुनेछ । साधारणसभासमेत हुने उक्त कार्यक्रममा देशभरबाट डेरी व्यवसायीहरुको उपस्थिति रहने बताइएकोे छ । रजत जयन्तीको पूर्व सन्ध्यामा देशभर विविध कार्यक्रम हुने एसोसिएसनले जनाएको छ । प्रदेश तथा जिल्लास्तरीय कार्यक्रमहरु पनि हुने उनले बताए । कार्यक्रम सफल बनाउनका लागि तयारी तिब्र बनाइएको संस्थाका उपाध्यक्ष मनोजकुमार घिमिरेले जानकारी दिए । एसोसिएसनले बालआश्रम, ज्येष्ठ नागरिक आश्रम, विद्यालय, अस्पताल लगायतमा दूध तथा दुग्ध पदार्थ वितरण गर्ने जनाएको छ । व्यावसायिक हकहित तथा डेरीको विकासमा एसोसिएसनको योगदान महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष दाहालले एसोसिएसन स्थापनाको रजत जयन्तीसम्मको यात्रामा साथ दिने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् ।
Tags: